28th September | 2020 | Monday | 11:50:40 PM

ढोकामै कोरोना

  POSTED ON : जेठ ५, २०७७ (९:४६ AM)

ढोकामै कोरोना

कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वमा तीन लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नेपालमा शनिबार कोरोना संक्रमणबाट मृत्युको पहिलो घटना प्रकाशमा आएको छ । सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया सुत्केरी महिलाको मृत्युको कारण कोभिड–१९ नै रहेको पुष्टी भएसँगै देशमा फेरि एकपटक त्रासको अवस्था छाएको छ । सुरुमा नेपालमा संक्रमित व्यक्ति फेला परेको घटनाले जनमानसमा त्रास सिर्जना गरेको थियो भने हाल संक्रमणका कारण मृत्युको घटना प्रकाशमा आएपछि जनमानमा त्रास र चिन्ता स्वाभाविक रुपमा बढाएको छ ।

सरकारले अहिले आफ्नो पूरै संयन्त्र कोरोना संक्रमण नियन्त्रणका लागि लगाए पनि सिन्धुपाल्चोकको यो घटनामा भने सरकार चुकेको देखिन्छ । विदेश र भारतबाट आएकाहरू र उनीहरूको सम्पर्कमा रहेकाहरूमा मात्र केन्द्रित रहेर कोरोना संक्रमणको परीक्षण गर्दा यो घटना बत्ती मुनिको अध्यारो बनेको छ । प्रतिनिधि सुत्केरी महिलाको मृत्युपछि यस्ता घटना नेपालमा कति छन् भन्ने प्रश्नसमेत खडा भएको छ । सुत्केरी भएर घर गएकी उनी केही दिनमै श्वासप्रश्वास सम्बन्धी समस्याबाट ग्रसित हुनु र उनको मृत्युसमेत हुनु, उनमा कोरोना संक्रमण पुष्टि हुनुले विभिन्न प्रश्न उब्जाएका छन् । आखिर उनलाई कसरी संक्रमण भयो, यक्ष प्रश्न खडा भएको छ ।

पछिल्लो समय संक्रमणको दायरा बढ्दैछ । कोरोनाविरुद्धको युद्धमा फ्रन्ट लाइनमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीमा समेत यो संक्रमण देखा परिसकेको छ । समुदायस्तरमा संक्रमण फैलन थालेसँगै आम नागरिकले अपनाउनुपर्ने सावधानी व्यवहारमा देखिएको छैन । अहिले पनि बजारमा अत्यावश्यक सामान किनमेलको निहुँमा भिड देखिन्छ । सीमावर्ती जिल्लामा संक्रमण बढ्न थालेपछि लुकीछिपी मानिसहरू राजधानी तथा सहरी क्षेत्रमा आउन थालेका छन् । यसले अझ बढी जोखिम निम्त्याउन सक्छ ।

कोरोनाको लक्षण नदेखिने (एसिम्प्टोम्याटिक) वा मधुरो (माइल्ड) लक्षण भएका बिरामी बढी हुनुले समेत संक्रमितबाट स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीबाट उपचारका लागि आएका अन्य बिरामीमा रोग सर्ने जोखिम बढेको देखिन्छ । स्वास्थ्य संस्थाहरूमा सामान्य उपचारका लागि आउने बिरामीलाई टाइम कार्ड दिएर सामाजिक दूरी पालना गर्न लगाउँदै स्वास्थ्य सेवा नदिए भविष्यमा कोरोना संक्रमणको स्रोत अस्पताल र स्वास्थ्यकर्मी नै हुने देखिएको छ । 

सिन्धुपाल्चोककी महिलाको यो घटना ढिलो गरी बाहिर आउँदा मृतकको सम्पर्कमा रहेका र उनीहरूको सम्पर्कमा रहेकाहरू कहाँ कहाँ पुगेका छन्, को कोसँग भेटेका छन् भन्ने प्रश्न पनि टड्कारो बनेको छ । जसलाई समग्रमा बुझ्ने हो भने अब कोरोना घरको ढोकासम्म पुगेको प्रष्ट हुन्छ । त्यसलाई घरभित्र बोलाउने वा बाहिरबाटै भगाउने भन्नेचाहीँ हाम्रै हातमा छ । 


Views: 273

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)