28th September | 2020 | Monday | 11:18:37 PM

भयावह बन्दै कोरोना

  POSTED ON : जेठ ७, २०७७ (९:१८ AM)

भयावह बन्दै कोरोना

नेपालमा दुई साता अघि ५० जनाको हाराहारीमा देखिएको कोरोना संक्रमितको संख्या अहिले ४ सयको अंकमा छोइसकेको छ । त्यस्तै मृतकको आँकडासमेत गिणनामा चढिसक्यो । कोरोनाको जोखिम न्युनिकरणका लागि भनेर लकडाउनलाई सरकारले एकमात्र विकल्पको रुपमा लिएको थियो । त्यो विकल्पको फाइदा उठाउँदै कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षण बढाउनु पर्नेमा राजनीतिक खिचातानीमा अल्मलिँदा अहिले भने कोरोनाको जोखिम दिनानुदिन बढ्दो छ ।

आजका दिनमा जे जति समस्या निम्तिएको छ, त्यसका पछाडि पूर्वतयारीमा भएको कमी मुख्य कारक मान्न सकिन्छ । चीनको वुहानमा कोरोना संक्रमण देखिएलगत्तै यो संक्रमण मानवबाट मानवमा सर्न सक्छ भन्ने तथ्य प्रकाशमा आएकै हो । यसको रोकथामका लागि सरकारले दुई महिना समय पाएको थियो । त्यो समय पूर्ण तयारीमा लाग्नुपथ्र्यो । नेपालमा केही हुँदैन भन्ने मानसिकता हावी बन्न गयो । त्यसैको परिणाम सरकार कोरोना भाइरस नियन्त्रणको पूर्वतयारीमै चुक्यो ।

दिनहुँ नयाँ–नयाँ जिल्लामा कोरोना संक्रमित देखिनु र गल्ली गल्लीमा फैंलदै जानुले  यसले समुदायस्तरमा राम्रैसँग पकड बनाइसकेको प्रष्ट हुन्छ । तर पनि समुदायस्तरमा हुने परीक्षण प्रभावकारी देखिएको छैन । लकडाउनअघि भारतबाट हजारौं नेपाली स्वदेश फर्किए भने लकडाउनको समयमा पनि सीमाबाट लुकिछिपी भित्रिरहेकै छन् । उनीहरूबाट नै संक्रमणले भयावह रुप लिन थालिसकेको छ । भारतमा संक्रमितको संख्या बढ्दै जानु र नेपालले भारतसँगको सीमामा कडाइ गर्न नसक्नु कोरोना फैलनुको प्रमुख कारण बन्न पुग्यो ।

पहिलो संक्रमण पुष्टि भएको ४ महिना हुन लाग्दा पनि पीसीआर विधिबाट परीक्षणको दायरा बढाउन नसक्नु, संक्रमित पुष्टि भइसकेकाहरूको सुस्त कन्ट्याक्ट ट्रेसिङ हुनु र लकडाउनमा पनि खुला सीमानाबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिनु नै संक्रमण विस्तारको कारक हो । सुरक्षा निकायले फागुन २५ यता मात्रै भारतबाट खुला सीमाना हुँदै ५ लाख ५२ हजार नेपाली स्वदेश भित्रिएको रिपोर्ट गृह मन्त्रालयलाई बुझाएको छ । जसमा २ लाखभन्दा बढी त लकडाउनपछि नेपाल भित्रिएको देखिएको छ । लकडाउनपछि भित्रिएका दुई लाखभन्दा धेरैलाई क्वारेन्टाइन वा निगरानीमा राखेर परीक्षण गर्नुपर्नेमा त्यो पनि प्रभावकारी देखिएको छैन । लकडाउनकाबीचमा राजधानी काठमाडौं लगायत देशका अन्य ठुला शहरमा कार्यरत हजारौं मजदुरहरू सयौं किलोमिटर हिँडेर पैदल घर फर्किए । उनीहरूलाई सरकारले बेलैमा न राहत दिन सक्यो, न घर फर्कने व्यवस्था ग¥यो । ती कामदारहरु कहिले गृह जिल्ला जाने त कहिले कार्यक्षेत्र फर्किने गर्दा कोरोनाको जोखिम झनै बढ्न गयो । संक्रमण बढ्न थालिसकेको छ, यो अवस्थामा सरकारले लकडाउनलाई कडा तुल्याएर परीक्षणको दायरालाई बढाउनुको विकल्प छैन । 


Views: 144

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)