29th September | 2020 | Tuesday | 12:45:52 AM

क्वारेन्टाइनमा जोड दिउँँ

  POSTED ON : जेठ ९, २०७७ (८:०४ AM)

क्वारेन्टाइनमा जोड दिउँँ

नेपालमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भइरहेका प्रयासका बाबजुद संक्रतिको संख्या लगातार बढ्दै गएको छ । स्वाभाविक रुपमा यो संक्रमण विश्वव्यापी समस्या हो र कुनै एक देशमात्र यसबाट पीडित छैन । विकसित मुलुकले पनि यसबाट सिर्जित समस्या झेलिरहेका छन् । संक्रमितको संख्या सर्वत्र बढ्दै गएको छ । यद्यपि हरेक मुलुकले आफ्नो स्तरमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कठोरताका साथ प्रभावकारी कदम चाल्न ढिला गर्नु हुँदैन ।

देश गत चैत ११ गतेदेखि लगातार लकडाउनमा छ । यद्यपि संक्रमितको संख्यामा बढोत्तरी भइरहेको छ । पछिल्लो समय संक्रमितमध्ये कयौं लकडाउनकै अवधिमा भारतबाट आएका नागरिक छन् । उनीहरू कसरी नेपाल प्रवेश गर्न सफल भए, कसरी आफ्नो गाउँघरसम्म पुगे भन्नेजस्ता विषयलाई ध्यान दिएर तीनै तहका सरकारले लकडाउन प्रभावकारी तुल्याउने मात्र होइन, कोरोना संक्रमण नियन्त्रणमा साझा पहल पनि गर्नुपर्छ ।

पछिल्लो समय संघीय राजधानी काठमाडौंमै पनि संक्रमित धमाधम देखा पर्दै गएका छन् । लकडाउन जारी रहेको समयमा राजधानीमा कसरी संक्रमित देखा परे भन्नेबारे पनि समयमै समीक्षा गरेर व्यवहारमा देखिएका कमी कमजोरीलाई पहिचान गर्दै तिनको समाधानमा पनि ध्यान दिन जरुरी छ । स्थानीय प्रशासनले राजधानी भित्रिने नाकामा कडाइ गरेको भनिए पनि त्यस्ता नाकालाई छलेर विभिन्न जिल्लाबाट पछिल्लो समय काठमाडौं प्रवेश गर्नेहरूको संख्या बढ्दो छ । देशको ३८ जिल्लामा संक्रमण फैलिसकेको अवस्थामा राजधानीमा आउने क्रम रोक्न सकिएन भने भयावह अवस्था सामना गर्नुपर्ने हुन्छ ।

विभिन्न मुलुकका कमजोरी, उनीहरूका खराब तथ्यांकलाई हेरेर आत्मरतिमा रमाउने छुट हामीलाई छैन । अरुका गल्तीबाट समेत पाठ सिकेर संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न अपरिहार्य छ । स्रोत–साधनको कमी भएका हाम्रोजस्तो देशले रोग लाग्न दिनुभन्दा रोगको बाटो छेक्नुनै बुद्धिमानी हुनेछ । त्यसैले संक्रमित पहिचान गर्ने, उसका सम्पर्कमा रहेकाहरू पत्ता लगाएर द्रुत गतिमा परीक्षणको दायरामा ल्याउने र क्वारेन्टाइन क्षमता विकास गरी लकडाउनका समयमा एक ठाउँबाट अर्को ठाउँमा पुगेकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जरुरी छ । 




 


Views: 189

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)