28th September | 2020 | Monday | 11:30:57 PM

व्यवस्थापनमा चुक

  POSTED ON : जेठ ११, २०७७ (९:२१ AM)

व्यवस्थापनमा चुक

विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमितका संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सरकारले तत्काल केही प्रभावकारी कदम चाल्न आवश्यक देखिएको छ । नेपालमा पछिल्लो समय संक्रमित पाइएकाहरूमा भारतबाट लुकिछिपी प्रवेश गरेकाहरूकै संख्या उल्लेख्य रहेका कारण सबैभन्दा पहिला यसरी लुकिछिपी प्रवेश गर्ने क्रमलाई पूर्णतया रोक्न सक्नुपर्छ । भारतले लकडाउनका कारण रोकिएका नेपालीहरूलाई उद्धारका नाममा भटाभट सीमा क्षेत्रमा ल्याएर छोड्ने गरेको छ । विभिन्न रुटमा रेलसेवा सञ्चालन गरेर भारतले नेपालीहरूलाई सीमा क्षेत्रसम्म ल्याउने गरेको छ । सीमासम्म आइपुगेका नेपालीहरू खुला सीमाको फाइदा उठाउँदै लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् । दुई दिन यतामात्र भारतबाट दुई हजारभन्दा बढी नागरिक नेपाल प्रवेश गरेको समाचार प्रकाशमा आइसकेको छ ।

सीमाका विषयमा तिक्तता बढ्दै जाँदा भारतले त्यहाँ रहेका सबै नेपाली फिर्ता पठाउन सक्ने भन्दै सरकारले सोहीअनुसारको तयारी गर्नुपर्ने सुझाव सुरक्षा मामिलाका जानकारहरूले दिँदै आएका छन् । यस्तोमा सरकारको तयारी भने कमजोर देखिएको छ । आफ्नो देश फर्कन पाउनुपर्ने नागरिकको अधिकार हो भने सरकारले पनि घर फर्केकाहरूलाई स–सम्मान उनीहरूको गन्तव्यसम्म सुरक्षित पु¥याउन सक्नुपर्छ । तर कोरोनाको कारण परिस्थिति बदलिँदा भारतबाट फर्कने नागरिक हैरान बनेका छन् भने सरकार अलमलमा देखिएको छ ।

पछिल्लो समय दैनिक सयौंको संख्यामा भारतबाट नेपालीहरू स्वदेश फर्कन थालेपछि क्वारेन्टाइनको समस्या खड्किएको छ । सीमित व्यक्तिका लागि सोचेर बनाइएका क्वारेन्टाइनमा सयौं व्यक्तिलाई राख्नुपर्ने अवस्था अहिले तराईका जिल्लाहरूमा देखिएको छ । यस्ता क्वारेन्टाइनहरूमा न मापदण्ड पूरा भएको छ, न त नागरिकले नै क्वारेन्टाइनको अनुभुति गर्न पाएका छन् । भारतबाट आएकाहरू दुई÷चार दिन क्वारेन्टाइनमा बसेको जस्तो गरेर घर फर्कन बाध्य छन् ।

विद्यमान स्वास्थ्य पूर्वाधार, संरचना, कर्मचारीतन्त्रको प्रवृत्ति हेरेरै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि नेपाललाई उच्च जोखिममा राखेको थियो । तर सरकार भने अझै ‘नेपालीलाई कोरोना लाग्दैन’, लागे पनि पचाउँछन् भन्ने शैलीमा अगाडि बढेको देखिन्छ । कोरोना रोकथामको पहिलो सर्त क्वारेन्टाइन हो भन्ने थाहा पाएर पनि संरचनातर्फ सरकारको खासै ध्यान गएको देखिँदैन । कोरोना संक्रमण समुदायदेखि समुदायमा फैलन शुरु भईसक्दा र भारतबाट जोखिम बोकेर आएका नागरिकहरूको उचित व्यवस्थापन हुन नसक्दा आउँदा दिन नेपालीका लागि अझै भयाबह हुने देखिएको छ । त्यसैले सरकारले तत्काल सीमा क्षेत्रमा क्वारेन्टाइनको उचित व्यवस्थापनमा जोड दिनु पर्दछ ।


Views: 145

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)