28th September | 2020 | Monday | 11:55:22 PM

वार्तामा विलम्ब नगरौं

  POSTED ON : जेठ १२, २०७७ (८:५४ AM)

वार्तामा विलम्ब नगरौं

सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि अहिले भारतीय मिडियादेखि नेताहरूसम्म नेपालप्रति खनिन थालेका छन् । नेपाली चेली एवं बलिउड अभिनेत्री मनिषा कोइरालाको एउटा ट्वीट भारतीय मिडियामा र र कांग्रेस नेता डा. मिनेन्द्र रिजालले भारतीय मिडियासँग गरेको बहस नेपाली मिडियामा अहिले चर्चाको बिषय बनेको छ । त्यस लगत्तै भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गरेर नेपालको कदमप्रति आपत्ति जनाएसँगै भारतीय मिडियामा नेपाल–भारत सम्बन्ध र सीमा विवादबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।

सीमा विवाद लामो समयदेखि जारी भए पनि समाधानमा नपुग्दै भारतले एकतर्फी रुपमा सडक निर्माण गरेर उद्घाटनसमेत गरेपछि नेपालले उक्त भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेको छ । यस अतिरिक्त नेपालको तर्फबाट सीमा विवाद टुंग्याएरै छाड्ने दृढ संकल्प देखिएको छ । सबैजसो राजनीतिक दल यो मुद्दामा एक ठाउँ उभिएका छन् । सीमा विवादकै बीच दुई साता यता सरकारले मन्त्रिपरिषद्, संसद हुँदै सार्वजनिक रुपमै नेपालको पूर्ण नक्सा सार्वजनिक गरिसकेको छ । यस्तै दार्चुला, बैतडीलगायका सीमा क्षेत्रमा ढिलै भए पनि सुरक्षाकर्मी पठाएर राज्यको उपस्थिति जनाएको छ ।

कालापानी, सुस्ता, लिपुलेकलगायतका सीमा समस्यामा सन् १९८१ देखि नै दुवै देशका अधिकारीको वेलाबखत कुराकानी भइरहेको हो । सन् २०१४ मा नेपाल–भारत संयुक्त आयोगले यी दुई विवादित क्षेत्रलाई परराष्ट्र सचिव स्तरबाटै समाधान गर्ने पहलकदमी गर्ने निर्णय पनि गरेकै हुन् । तर, त्यसको एक वर्षपछि नै चीन र भारतले नेपाली भूमि लिपुलेक र कालापानी हुँदै द्विपक्षीय व्यापार करिडोर बनाउने सम्झैता गरे । कालापानी प्रकरणमा यो नेपालको पछिल्लो कूटनीतिक असफलता थियो । दशकौंदेखि दुवै देशको सम्बन्ध सुधारमा बल्झिरहने घाउ बनेको कालापानीलगायतका सीमा विवाद सुल्झाउन अब भने ढिला गरिनुहुन्न । यसका लागि यो इतिहासकै अनुकूल समय हो । इतिहासकै सर्वाधिक बलियो जनाधारसहितको सरकार छ । सीमाको विषयमा राष्ट्रिय एकतासमेत देखिएको छ । द्विपक्षीय वार्ताबाटै यो विषयलाई समाधानमा पु¥याइनुपर्छ । नेपालसँग यसका लागि आवश्यक सबैखाले तथ्य र प्रमाण रहेकाले नेपाली पक्षले भारतसँगको वार्तामा कूटनीतिक चातुर्य तथा दह्रो अडानका साथ प्रस्तुत हुन आवश्यक छ । भारतले आफ्नो कमजोरी रहेकै कारण वार्तालाई टार्दै आएको छ । आफ्ना भूभाग फिर्ता लिनका लागि नक्सा जारी गरेरमात्र होइन, त्यसलाई सर्वस्वीकार्य बनाउनका लागि वार्तामै बस्नुको विकल्प छैन । लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूमि नेपाललाई फिर्ता गर्न यथाशीघ्र वार्ता जरुरी छ ।


Views: 144

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)