28th September | 2020 | Monday | 11:42:38 PM

बजेटमा बहस

  POSTED ON : जेठ १३, २०७७ (८:५६ AM)

बजेटमा बहस

सरकार आर्थिक बर्ष ०७७÷०७८ को बजेट ल्याउने अन्तिम कसरतमा जुटेको छ । जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले संसदबाट बजेट घोषणा गर्दै हुनुहुन्छ । कोरोना महामारीका कारण उत्पन्न आर्थिक संकट सामना गर्न कस्तो बजेट आउने हो भन्नेमा धेरैको ध्यान केन्द्रित भएको छ । 

कोरोना भाइरसका कारण देशको अर्थतन्त्रदेखि सबै क्षेत्र प्रभावित बनेको अवस्थामा त्यसैलाई ध्यानमा राखेर बजेट ल्याउन विज्ञहरूले सुझाव दिईरहेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा सांसदहरूले पनि यही निष्कर्ष निकालेका थिए । यस्तोमा सरकारसँग अहिले दुई बिकल्प देखिएको छ । नीति तथा कार्यक्रममा राष्ट्रपतिले सम्बोधन गर्नुभएका सबै कार्यक्रमलाई समेटेर पूर्ण आकारको बजेट ल्याउने वा प्राथमिकताका आधारमा रहेर सानो आकारको बजेट ल्याउने । अहिले सरकारको बहस पनि यसैमा केन्द्रित छ । संसद्को अर्थ समितिले पनि योजना आयोगले तोकेको सीमामा रहेर बजेट ल्याउन सरकारलाई सुझाव दिएपछि बजेट सानो आकारको बनाउन उपयुक्त कि ठूलो आकारको भन्नेमा छलफल बाक्लिएको हो । 

कोरोना र लकडाउनका कारण सरकारको आम्दानीका बाटाहरू सुक्दै गएका छन् भने वैदेशिक ऋण र अनुदानको सम्भावना पनि न्यून देखिन्छ । विश्व अर्थतन्त्र नै कोरोना संकटका कारण मन्दीतर्फ तीव्र गतिमा अघि बढिरहेको छ जुन तत्कालै माथि उठ्न सक्ने अवस्था देखिदैन । यस्तोमा सरकारले महत्वाकांक्षी बजेट ल्याएमा स्रोतको जोहो गर्न नसक्ने र कार्यक्रमहरू असफल हुने तर्क अर्थशास्त्रीहरूको छ । अर्कोतर्फ यसअघि यही सरकारले ल्याएका अधिकांश बजेट अझै कार्यान्वयनमा आउन सकेको छैन । त्यस्तोमा अहिलेको अवस्थामा नयाँ कार्यक्रम थप्दा त्यो पनि कार्यान्वयनमा नआउने पक्का छ । सरकारले आगामी बजेटमा यो कुरालाई पनि ध्यान दिनु आवश्यक छ ।

सरकारले बजेटमा परम्परागत शैली कायम राख्दा जनतालाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’को अवस्था नहोस् । किनभने यसअघिका बजेटले यही देखाउँदै आएको छ । त्यसैले पनि अबको बजेटलाई जनताले आशाको रुपमा मात्र देख्न नपरोस् । सरकारले ल्याएको बजेट कार्यान्वयन हुनेखालकै आउनुपर्छ । तबमात्र बजेटको सार्थकता हुन्छ । अर्कोतर्फ बजेट बनाउँदै गर्दा सरकारले देशका विविधतालाई समावेश गर्न सक्नुपर्छ । सानो बजेट र ठूलो बजेटका आ–आफ्ना चरित्र र प्रवृत्ति हुन्छन्, दुवैका लाभ र हानी उत्तिकै देखिन्छन् । मुख्य कुरा भनेको स्रोतको व्यवस्थापनमा विवेक पु¥याउनु हो । जथाभावी योजना स्वीकृत गरेर बजेट विनियोजन गर्ने विगतकै प्रवृत्तिको पुनरावृत्ति यस गम्भीर संकटका क्षणमा पनि भयो भने अर्थतन्त्रका लागि निकै घातक हुन सक्छ ।


Views: 159

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)