29th September | 2020 | Tuesday | 12:11:11 AM

अपराधमा लेप नलगाऔं

  POSTED ON : जेठ १५, २०७७ (९:५० AM)

अपराधमा लेप नलगाऔं

कानुनले नै जातीय विभेदलाई अपराध माने पनि व्यवहारमा भने त्यस्तो पाइदैन । रुकुम घटनाबाट एकपटक फेरि यो तथ्य उजागर भएको छ । रुकुमको चौरजहारीमा गत शनिबार जुन घटना घट्यो, त्यो एक्काइसौं शताब्दीमा सभ्य समाजका लागि पक्कै पनि पाच्य होइन । सरसर्ती घटना हेर्दा दलित युवा र गैरदलित युवतीबीचको प्रेम सम्बन्धमा परिवार तगारो बन्दा घटना घटेको देखिन्छ । कुनै पनि घटनालाई सतही रुपमा हेर्दा त्यसमित्र जेलिएका रहस्यको जडसम्म पुग्न सकिदैँन । त्यसैले यस्ता घटनामा आवेशमा आएर टिप्पणी गरिहाल्नु उचित हुँदैन ।

घटनाको पृष्ठभूमिमा अन्तरजातीय प्रेम देखाइएको छ । दलित युवक आफ्ना साथीसहित प्रेमिकालाई लिन उनको गाउँमा पुग्छन् । जातीय विभेदलाई कानुनले नै अपराध ठहर गरिसकेको अवस्थामा अन्तरजातीय विवाह आफैंमा अपराध हुन सक्दैन । यसलाई अपराधको कोटीमा राख्ने सामाजिक सोच नै गैरकानुनी हुन जान्छ । यद्यपि हाम्रो कानुनले विवाहका लागि पनि न्यूनतम उमेर तोकेको छ । उमेर नपुगी विवाह गर्नु वा गर्न लगाउनु पनि कानुनअनुसार दण्डनीय अपराध हुन्छ ।

मृतक दलित युवककी प्रेमिका भनिएकी गैर दलित युवतीको उमेर कानुनी रुपमा विवाहयोग्य भएको पाइदैन । यसर्थ बालविवाहका लागि हुलहुज्जतसहित जानु पनि आफैंमा कानुनको उपहास हो । मानवअधिकारको विश्वव्यापी मान्यतामा बाँच्न पाउने अधिकार अन्य यावत अधिकारमध्ये सबैभन्दा प्रमुख मानिन्छ । कसैले पनि कानुन विपरीत काम गरेको खण्डमा उसलाई कानुन बमोजिम नै सजायको भागिदार बनाइनु पर्छ, कसैको जीवनसँग खेलवाड गर्ने, बाँच्न पाउने हक खोस्ने अधिकार त हाम्रो कानुनले जस्तोसूकै अपराधीको हकमा पनि कल्पना गरेको छैन । यस अर्थमा गैरदलित युवतीलाई भगाउनकै लागि दलित युवा आफ्ना साथीसहित गएका हुन् भने पनि उनीहरूको बाँच्न पाउने हक खोस्ने अधिकारको सम्मान हुनुपर्दथ्यो । हत्या जघन्य अपराध हो, हत्यामा संलग्न जोकोही पनि कारवाहीको भागिदार हुनुपर्दछ ।

हामी भर्खरै जातीय विभेदरहित समाजमा प्रवेश गरेका कारण पनि यस्ता घटनाले प्रवाह गर्ने सन्देश भोलिका दिनमा पनि नजिर बन्न सक्ने भएकाले निकै समवेदनशील भएर घटनाको चुरोमा पुग्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन आवश्यक हुन्छ । दलित भएकै कारण कसैले उमेर नपुगेको गैरदलित युवतीलाई घरबाट सहमतिमा होस् वा जोरजबरजस्ती लगेर विवाह गर्ने परिपाटी पनि हाम्रो कानुनले कल्पना गरेको छैन । कानुन अनुसार विवाहयोग्य उमेर नभएको अवस्थामा दलित होस् वा गैरदलित, जोसूकैले विवाह गर्न पाउँदैन । कानुनअनुसार विवाहको योग्य उमेर भएपछि मात्र विवाहमा जातीयताको तघारो भएमा त्यहाँ जातीय विभेदविरुद्धको कानुन आकर्षित हुन सक्छ । रुकुम घटनामा जसले जुनसूकै प्रयोजनका लागि हत्या गरेको छ, त्यो निन्दनीय छ, दोषीले हदैसम्मको सजाय पाउनुपर्छ । उमेर नपुगेकी युवतीलाई विवाह गर्ने उद्देश्यका साथ दलबलसहित उसको घरसम्म जाने सोच र प्रवृत्तिलाई दलित भएकै कारण छुट दिइनु हुन्न । कानुनको हरेक पाना उत्तिकै महत्वपूर्ण र पालनायोग्य हुनुपर्छ, सबैका लागि ।


Views: 125

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)