29th September | 2020 | Tuesday | 12:36:48 AM

गणतन्त्रका १२ वर्ष

  POSTED ON : जेठ १६, २०७७ (९:५३ AM)

गणतन्त्रका १२ वर्ष

नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भएको छ । १३ औं गणतन्त्र दिवस मनाइरहँदा जनताको मुहार, जीवनस्तरलाई केन्द्रविन्दुमा राखेर मूल्यांकन गर्नुपर्ने हुन्छ, जनताले परिवर्तनको अनुभूति कति गरे भनेर । कोरोना भाइरसको  संक्रमणले विश्वलाई नै नराम्ररी प्रभावित गरेको समयमा हामी १३ औं गणतन्त्र दिवस मनाइरहेका छौं । गणतन्त्र अर्थात् यस्तो शासन व्यवस्था जहाँ, देशको सर्वोच्च पदमा जनताको पहुँच हुन्छ । जनताप्रति उत्तरदायी शासनव्यवस्थामा प्रवेश गरेको यतिका वर्षसम्म जनताले कति सुख, सुविधा अनुभूति गरे भन्नेबारे सटिक विश्लेषण नगरी व्यवस्थाभित्रका कमी कमजोरीलाई सच्याउन सकिदैँन ।

जनअधिकारका दृष्टिले उन्नत र अपनत्वको हिसाबले जनप्रेमी मानिएको शासनव्यवस्था हो गणतन्त्र । तर हामी कहिले माइतीघर मण्डलामा विरोध गर्न नपाउने अभ्यास लाद्न उद्यत हुन्छौं भने कहिले संवैधानिक परिषदको बैठकमा शक्ति सन्तुलन मासेर सत्ताको हालीमुहालीमात्र चाहन्छौं । भ्रष्टाचारका अनेक काण्ड प्रकाशमा आउँदा तिनलाई विधिसम्मत टुंगोमा पु¥याउने प्रक्रिया अवरुद्ध गर्दै फलानो दोषी छ कि छैन भनेर बालुवाटारबाटै फरमान जारी गर्ने, राष्ट्रपति, प्रधानमन्त्रीका अधिकार असीमित तुल्याउने खोज्ने, सुख–सुविधामा भारी वृद्धि गर्न खोज्ने प्रवृत्तिले गणतन्त्रलाई नेपालमा ‘नव राजतन्त्र’ को अनुभूति भइरहेको टिप्पणी दुर्भाग्यपूर्ण रुपमा सुन्न थालिएको छ ।

गणतन्त्र जनताका लागि भन्दा पनि नेताहरुकै लागि सीमित रहेको सर्वसाधारणको अनुभूति छ । अहिले पनि राजतन्त्र फर्किने मृगतृष्णामा बाँच्नेहरू छन् । प्रधानमन्त्री, राष्ट्रपतिका सुख–सुविधामा भएका खर्च लेखाजोखा गर्दै जनताले राजतन्त्रसँग तुलना गर्न थालेका छन् । यी दुर्भाग्यपूर्ण अवस्थाबाट मुक्त भएर ‘सबैका लागि गणतन्त्र’ अनुभूति गराउन जनतालाई केन्द्रमा राखेर नीति निर्माण गर्नैपर्छ । जनताका प्रतिनिधिले जनताकै प्रतिनिधिका रुपमा व्यवहार र आचरण प्रदर्शन गर्दै नैतिकताको राजनीति गर्ने हो भनेमात्र पनि गणतन्त्रले चाँडै जनताको मुहारमा कान्ति ल्याउन सक्छ । झण्डै दुई तिहाइ बहुमतसहितको सरकारले गणतन्त्रको मर्म र भावनाअनुसार उपलब्धिहरु जन–जनसम्म न्यायपूर्ण ढंगले वितरण गर्न सकेमा जनतामा बढ्दो निराशा हट्नेमात्र होइन, गणतन्त्रकै छत्रछाँया फराकिलो हुन्छ ।

१२ वर्षमा खोलो पनि फर्कन्छ भन्ने उखान प्रचलित छ । यस अर्थमा १२ वर्षले एउटा युगलाई प्रतिविम्बित गर्छ । गणतन्त्रले एउटा युग बिताउँदा पनि हामी अझै निराशा, कुण्ठा र अनियमितताका कुरा गरिरहनुपर्ने अवस्थामा सीमित हुनु दुर्भाग्यपूर्ण अवस्था हो, सरकारले गणतन्त्रका उपलब्धि जन–जनसम्म पु¥याउन जरुरी छ ।


Views: 136

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)