13th July | 2020 | Monday | 2:08:37 AM

भ्रष्टाचार कि सदाचार ?

  POSTED ON : असार १०, २०७७ (१:१९ AM)

भ्रष्टाचार कि सदाचार ?

यतिखेर कोरोनाको प्रकोप भयावह हुँदैछ । भूसको आगोजस्तो भएर फैलँदो छ । स्वयं प्रधानमन्त्रीले संसदमा कोरोनाको पीडा पोख्तै गर्दा आउँदो माघ महिनासम्म नेपाली जनता यसबाट आक्रान्त हुनसक्ने बताइसक्नु भएको छ । संसारका स्वास्थ्य सम्बद्ध विशेषज्ञहरूको मतमा कोभिडसँगै बाँच्न अभ्यास गर्नु पर्ने हुन्छ । यसको कुनै उपचार विधि वा औषधिको आविष्कार हुनसकेको छैन । नेपालका प्रधानमन्त्रीले आयुर्वेदको उपचार विधि र औषधिलाई केही भए पनि जानकारीमा राखेर रोग प्रतिरोधात्मक क्षमताको विषयलाई सरल तर अत्यन्त हुलुकाशैलीमा व्यक्त गर्दा उहाँले निकै आलोचना खेप्नु प¥यो । नेपाली राजनीतिकर्मीहरूमा यौटा व्याप्त रोग छ ः उहाँहरू सत्तामा पुगेपछि सर्वज्ञाता मान्नुहुन्छ आफूलाई । आफ्ना सामु ज–जसलाई भेटे पनि पहिले आफैँ बोल्नु पर्ने, अरूका कुरा थोरै सुन्ने र आफ्ना गफ ज्यादा पस्कने रोग प्राय सबैमा भेटिन्छ । अरूका कुरा पूरा नसुनी सबै बुझे जस्तो गर्ने महारोग त नयाँ हुँदै होइन । तथापि प्रधानमन्त्री ओलीले सरकार प्रमुखका रूपमा सर्वसाधारण नागरिकलाई, नागरिकले बुझ्ने भाषामा रोग प्रतिरोधात्मक क्षमता भएका र नेपालकै करेसावारी, खोल्साखोल्सी, वन जंगलमा पाइने मसला, जडीवुटीका विषयमा चर्चा गर्नुलाई अन्यथा मान्नु हुँदैन । वेसार, अदुवा, मेथी, गुर्जो, सुठो, अलैँची, मरिच, पिप्ला, असुरो, तुलसी, तेजपत्ता, दालचिनी आदिका विषयमा नेपालीहरू सचेत हुनु वा नागरिकलाई सेवनका लागि उत्साहित गराउनु व्यङ्ग्यको विषय होइन । प्रधानमन्त्रीका यस्ता भनाईहरू यस अर्थमा जायज छन् । यसलाई नेपालीहरूले व्यंग्यका रूपमा परिहाँस गर्नुभन्दा आचरणमा उतार्नु उपयुक्त हुने छ । तर प्रधानमन्त्रीका निरन्तरका भाषा र भाषणशैली ठट्टा, परिहास, व्यंग्य, उखान–टुक्कामा नै केन्द्रित रहेका हुँदा यस्ता उपदेशमूलक र दैनिक जीवनमा उपयोग हुने विषयहरू पनि उपहासमा परेका हुन् ।

प्रधानमन्त्रीले यस्ता असल उपदेश दिए पनि आधुनिक उपचार पद्धतिको औषधि र उपकरण खरिदमा भएको भ्रष्टाचारको जालोलाई भने सदाचार मानिरहनुभएको देखिन्छ । भ्रष्टाचारमा शून्य सहनशीलता नवीन चिन्तन, नारा वा भाषण होइन । धेरै समय अघिदेखि हामीले सुन्दै आएका छौँ । शून्य सहनशीलताको नारा निरन्तर भए पनि बितेको दुई वर्षलाई हेर्ने हो भने नेपाल आर्थिक अपचलन र नीतिगत भ्रष्टाचारको स्वर्णकाल भएको छ । आमनागरिकले यस्तै बुझिरहेको अवस्था छ । हिजो मात्र भ्रष्टाचार रोक्न नसकेको र व्याप्त भ्रष्टाचारप्रति आफू लज्जित भएको भन्दै गण्डकी प्रदेशका एकजना प्रदेशसभा सदस्यले सम्बन्धित समितिबाट राजनीनामा दिएको समाचार प्रकाशित भएको छ । उहाँको नाम अनेक काण्डमा सदावहार छ । उहाँले पनि लज्जित हुनु पर्ने गरी भ्रष्टाचार मान्नुपर्ने अवस्था आउला भनेर हामी कसैले पनि सोचेको विषय होइन । त्यसरी राजनीनामा गर्ने सदस्य वर्तमान सत्तारूढ पार्टीकै समर्थनमा विजयी र सहयोगी हुन् । अहिले स्वास्थ्य मन्त्रालयका कामहरू माथि अत्यधिक चासो छ । कोरोनाको पीडालाई समेत निजी आमदानीको स्रोत बनाउन लागेपछि नागरिकहरूमा आक्रोश व्याप्त हुनु अनौठो हुनसक्दैन । पहिलेका स्वास्थ्यमन्त्री विवादमै परिवर्तन भए र नयाँले नेतृत्व पाएका हुन् । कमिसन र भ्रष्टाचारको ग्राफ थपिँदै गएको छ भन्ने मान्यता स्थापित हुँदै छ । सत्तारूढ पार्टी भित्रको युवा प्रतिभा यसरी जिम्मेदारीको आरम्भमा नै विवादमा आउनु दुखद् हो । संसदको लेखासमितिले समेत गम्भीर प्रश्नहरू गरिरहेको छ । हाम्रो आग्रह यत्ति हो भ्रष्टारलाई सदाचारमा परिभाषित नगरौँ जसले परिवर्तनलाई नै निष्फल तुल्याउनसक्छ ।


Views: 217