13th July | 2020 | Monday | 12:52:41 AM

केन्द्रका बोर्डिङ परिधिमा अरू

  POSTED ON : असार ११, २०७७ (९:२० AM)

केन्द्रका बोर्डिङ परिधिमा अरू

हाल संसार कोरोनाको कहरमा छ । यो भनिरहनै पर्दैन । सामान्यभन्दा सामान्य मानिसलाई पनि यो थाहा छ । यसले संसारलाई तहसनहस बनाएको छ । उद्योगधन्दा, कलकारखाना, व्यवसाय, रोजगार सबै बन्द छन् । नेपालमा यी सबै क्षेत्र हाल सञ्चालनमा छैनन् । यसबाट आर्थिक उपार्जनका सबै बाटा बन्द भएका छन् । 

एक प्रकारले भन्ने हो भने राष्ट्र संकटको अवस्थामा छ । वैदेशिक रोजगारमा जानेहरूले रोजगार गुमाएका छन् र स्वदेश फर्किन पनि सकिरहेका छैनन् । विदेशीहरू आउने बाटो बन्द भएको छ । होटल रेष्टुरेन्टहरू चलेका छैन । तिनका सञ्चालकहरू सुरक्षित तबरले चलाउछौं भनेर सरकारसँग माग गरिरहेका छन् । तिनको माग पूरा गरिदिने हो भने तिनले पर्यटकविना कसरी चलाउन सक्छन् र ? 

केही समय पहिलेदेखि केही विद्यालयहरूले आफ्ना विद्यार्थीका लागि अनलाइन कक्षा चलाउँदै आएका छन् । यो त्यति प्रभावकारी हुन सकेको पाइएको थिएन र यस कार्यको विरोध हुँदै आएको थियो । यस्ता कक्षाहरू केवल औपचारिकताका लागि हुन् र ती विद्यार्थीबाट शुल्क उठाउनमात्र सञ्चालन गरिएको हो भन्ने आलोचना तिनले खेप्दै आएका छन् । 

एक किसिमले तिनका तर्कसँग सहमत नभई हुँदैन । शिक्षकहरूलाई तलभ दिन शुल्क उठाउनु परेको तर्क छ । शिक्षकलाई तलब दिएकै छन् कि छैनन् भन्ने प्रश्न भने फेरि अर्कातिर तेर्सिने निश्चित छ । सेवासुविधाको कुनै प्रत्याभूति नभएका निजी क्षेत्रका शिक्षकहरूलाई तलब नदिएर तिनका नाममा विद्यालयले शुल्क उठाउनेमात्र हो भने त्यो कार्यलाई उचित मान्न सकिँदैन । 

अर्कातिर सोच्ने हो भने धेरैजसो मझ्यौला र साना निजी स्तरका विद्यालयका आफ्नो भवन छैन, ती भाडामा बसेका छन् । घरधनीले तिनलाई यति लामो समयको भाडा निश्चित रूपमै छुट दिँदैनन्, दिन पनि सक्दैनन् । निजी विद्यालय सञ्चालकहरू पनि समस्यामा छन् र तीसँग लहरो तान्दा पहराका रूपमा तानिएर आउने घरधनी, अभिभावक तथा शिक्षक सबै समान रूपमा समस्यामा देखिन्छन् । 

समस्याको केन्द्रबिन्दुमा यिनीहरू छन् । यिनका परिधिमा समाजका सबै वर्ग घुमेका देखिन्छन् । यसको सहज समाधानतर्फ सरकारलगायत सम्र्पूण सरोकारवालाकै ध्यान जानु आवश्यक छ । 

उच्चशिक्षामा संलग्नहरूले शिक्षामन्त्रीलाई विद्यालय मन्त्री भन्न थालिसकेका छन् । सामुदायिक विद्यालय निजी विद्यालयले हेर्ने कार्यक्रम बजेटमा आउँदा आफूलाई जानकारी नभएको भनेर पञ्छिन खोज्छन् । मन्त्री पदको सुविधा भोग गरेर यसरी बसिरहँदा मन्त्रीलाई गर्व महसुस भएको होला त ? 


Views: 76