13th July | 2020 | Monday | 1:39:33 AM

सचेतता आवश्यक

  POSTED ON : असार १२, २०७७ (१:३० AM)

सचेतता आवश्यक

हाल यो वर्षको बर्खायाम सुरु भइसकेको छ । मनसुन पनि सक्रिय भइसकेको छ । अब फेरि अर्कै प्रकारको सन्त्रास सुरु भएको छ । हिउँदभरि सुख्खा मौसममा डडेलो, आगलागीलगायत प्रकोपको भय हुन्छ । यसरी हिउँदभरि देशभरमा धेरै ठूलो धनजनको क्षति हुने गरेको छ भने बर्खामा बाडी, पहिरो र डुवानको कारणले पनि त्यत्तिकै मात्रामा धनजनको क्षति हुने गरेको छ । अब बाडी, पहिरो र डुबानको डर सुरु भइसकेको छ । 

नेपालको भौगोलिक बनोट भिरालो खालको छ र दक्षिणी पेटी तराई भने समथर छ । भिरालो पहाडी क्षेत्रमा बर्खामा पहिरो र बाडीको प्रकोप हुन्छ । यसले गर्दा बाटाघाटा अवरुद्ध हुन्छन् र आवागमन बन्द हुन्छन् । पहाडबाट बगेर गएको माटो र पानीले तराई डुबानमा पर्छ । भिरालामा बस्ती बस्नुपर्ने पहाडको बाध्यता हो । त्यसैले वर्षेनी पहाडमा पहिरोबाट धेरै मानिसको ज्यान जाने गरेको छ । 

यस वर्ष पहिराको प्रकोप सुरु भइसकेको छ । केही मानिसहरूको मृत्यु भइसकेको छ । पहाडको पहिरो जस्तै मधेसको डुबानले पनि भयावह रूप लिने गरेको छ । केही वर्ष पहिले मधेसको सम्पूर्ण जमिन डुवानमा परेर जनजीवन अस्तव्यस्त भएको कुरा पुरानो भएको छैन । चाहे बाडी होस् वा पहिरो यी दुवैले मानवीय व्यवहारलाई अस्तव्यस्त पार्ने गरेका छन् । 

सरकारले बेलैमा सोच्नुपर्ने हुन्छ । समस्या आइपरेपछि मात्र समाधान खोज्ने प्रवृत्ति उचित होइन । पश्चात्दर्शी व्यवस्थापन झारा टार्ने कार्यमात्र सावित हुनसक्छ । 

अब बाडी पहिरोको समस्या आइपर्छ भन्ने कुरा सबैलाई थाहा छ । सरकारलाई त थाहा हुनै पर्छ, थाहा छैन भन्ने कुराका विश्वास गर्न सकिँदैन । त्यसैले सरकारले साम्नेमा आइपर्ने समस्याको समाधानका लागि पहिलै तयारी गर्नुपर्ने आवश्यकता पर्छ । यसका लागि सरकारले मुख्य रूपमा दुईवटा कुरामा ध्यान दिनुपर्ने हुन्छ । पहिलो कुरा कुनै ठाउँमा यस्ता समस्या आइपर्ने बित्तिकै त्यहाँ पुग्नसक्ने तयारी उद्धार टोली तैनाथ गरेर राख्नुपर्ने हुन्छ । यस्तो टोली त्यस्तो ठाउँमा सकेसम्म छिटो पुग्न सक्नुपर्छ । छिटो पुग्नसक्ने गरी सवारीसाधनहरू पनि तयारी अवस्थामा राखिनु आवश्यक छ । 

यस्तो उद्धार टोलीमा संबद्ध विषयका विज्ञहरू पनि रहनुपर्ने हुन्छ । यसो भएका खण्डमा उद्धारका लागि टोली यथाशीघ्र त्यस्ता ठाउँमा पुग्नसक्छ । उद्धार टोलीमा संलग्न विशेषज्ञले विज्ञताको ज्ञान दिन सक्छन् जुन शीघ्र उद्धारका लागि सहयोगी सिद्ध हुन सक्छ । 


Views: 152