13th July | 2020 | Monday | 1:37:39 AM

कम्युनिष्ट भ्रम र यथार्थ

  POSTED ON : असार १४, २०७७ (१०:२२ AM)

कम्युनिष्ट भ्रम र यथार्थ

‘द कम्युनिष्ट मेनिफेस्टो’ लेखेर कम्युनिष्ट सिद्धान्तको प्रादुर्भाव गर्ने दार्शनिक कार्ल माक्र्सले उही बेला धर्मलाई अफिम भनेका थिए । हाम्रो देशमा यो सिद्धान्तका अनुयायी दाबी गर्नेहरू राजनीतिमा संबद्ध छन् । पञ्चायतकालमा भूमिगत रहँदा र त्यसपछि पनि पञ्चायत प्रवेश गरी गद्दारको संज्ञा पाएकाबाहेक केहीले आफूलाई कट्टर कम्युनिष्ट घोषणा गर्ने गरेका थिए । तर, तिनले सत्ताको निकट सम्भावनामा पुग्नासाथ सिद्धान्त बदलेका अनेकौं उदाहरण छन् । धर्म र परम्परालाई अन्धविश्वास मान्नेहरू पटक–पटक कट्टर धर्मगुरु जस्तो भेषमा पनि देखिने गरेका छन् । 

जनयुद्ध नामको सशस्त्र संघर्षबाट सत्तामा पुग्नासाथ तिनले अनेकौं हास्यास्पद कामहरू गरेका उदाहरण छन् । भैँसी दान गर्नेदेखि प्रधानमन्त्री बन्दा बालुवाटारमा कालो बोको पूजा गर्ने जस्ता घोर रुढीवादी र परम्परागत कार्य तीबाट भए । यसको निषेध तीबाट हुन सकेन । सत्ताको निकट सम्भावनामा रहेका केही र नरहेका केहीले बाबुआमाको काजक्रिया गरेनन् । त्यसमा तिनले रुढीवादको गन्ध देखे । यस्ता कार्यमा रुढीवादको गन्ध देख्नेहरू नै यथार्थमा सबैभन्दा रुढीवादी छन् भन्ने सन्दर्भ तिनको कूल पुरोहितबाट पनि बेलाबेलामा थाहा पाइँदै आइएको छ । माता वा कुनै ज्योतिषिलाई भाग्य देखाउनेहरूमा तिनीहरू नै अरूभन्दा अगाडि छन् । 

हालै नेकपाको स्थायी समिति बैठकमा वितरण गरिएको कोरोनाविरुद्धको कार्ड अर्को भाइरल भ्रम बनेको छ । यतिखेर संसार कोरोनाको कहरमा छ । यसको कुनै औषधि पनि बनेको छैन । भौतिक दूरी कायम गर्नु र आहार विहारमा ध्यान दिनुमात्र योबाट जोगिने उपाय हो भनिएको छ । तर, नेकपाको स्थायी कमिटी बैठकमा वितरण गरिएको कार्य प्रयोग गर्दा कोरोना भाइरसबाट बच्न सकिन्छ भनिएको छ । ‘भाइरस ब्लक’ भनिएको यो कार्ड लगाउँदा कोरोना भयबाट मुक्त बन्न सकिने र भौतिक दूरी कायम गर्नु नपर्ने भएको हुँदा जस्तोसुकै भीडमा पनि जान सकिने दाबी गरिएको छ ।

उता सरुवा रोग विशेषज्ञहरू आपूmले यस्तो थाहा नपाएको बताउँछन् । यसबाट पनि यो एउटा भ्रममात्र हो भन्ने कुरा पुष्टि हुन्छ । विश्व स्वस्थ्य संगठनले पनि यस्ता कुरा पुष्ट्याइँ गरेको छैन । यस्तो कार्डबाट निस्कने ‘क्लोरिन अक्साइड’ नामक ग्यासले वरपरका भाइसर नियन्त्रण गर्ने दाबी गरिएको छ तर जानकारहरूका अनुसार यो मानव स्वास्थ्यका लागि हानिकारक छ । आआफ्नो घाँटीमा यो ‘कोराना जन्तर’ झुण्ड्याका नेकपाका सदस्यहरूलाई पनि यसमा भरोषा भएको देखिएन । यदि यस्तो प्रकारको कोरोना जन्तर बनेको भए संसारभरि यसको व्यापक प्रयोग भइसक्ने थियो । 

चीनको बेइजिङको एक समाचार संस्था ‘सिनिटिएन’ ले यसको प्रयोग घातक हुने बताएको छ । सही प्रयो नहुँदा यस कार्डमा भएको ग्यास लिक भयो भने त्यसले विभिन्न खालका समस्या ल्याउन सक्छ भनिएको छ । यसरी वैज्ञानिक रूपमा प्रमाणित नभएको कार्ड वितरण गर्नाले यो कार्ड वा जन्तर कोरोनाको नियन्त्रण गर्ने बुटीका रूपमा भन्दा पनि नेपाली तन्त्र परम्परा अनुसारको अन्साइपन्साइ गर्ने बुटीका रूपमा देखिन पुगेको छ । त्यसैले यो यथार्थ नभएर नेकपाले छरेको एउता भ्रममात्र साबित बन्दै जानेछ । अरूले यस्ता कार्य गरेका खण्डमा रोक्नुपर्नेबाटै यस्ता कार्य हुनु उचित मान्न सकिँदैन ।

Views: 51