13th July | 2020 | Monday | 2:10:01 AM

धान दिवसको सान्दर्भिकता

  POSTED ON : असार १५, २०७७ (१०:०९ AM)

धान दिवसको सान्दर्भिकता

मानिसलगायत सम्पूर्ण प्राणीहरूका लागि खाद्यान्न अपरिहार्य हुन्छ । प्राणीले खाद्य पदार्थ वनस्पतिबाट प्राप्त गर्दछन् । अहिलेसम्म तीस हजार प्रकारका वनस्पतिको पहिचान भएकामध्ये मानिसले तीन हजारको सेवन प्रत्यक्ष वा परोक्ष रूपमा गर्ने गरेको छ । यसैगरी मानिसले खाद्यान्न, तरकारी र फलपूmलका रूपमा तीन सय जति वनस्पतिको खेती गर्दैआएको छ । तीस प्रजातिका वनस्पतिमा मानिस बढी निर्भर छ र धान, गहुँ र मकै तीनवटालाई उसले पूर्णरूपमा जीवनको आधार बनाउँदै आएको छ । 

धान नेपालको मात्र नभएर संसारभर मानिसका लागि बढी उपयोगमा आएको अन्न बाली हो । संसारभरिका मानिसले आफ्नो खानामा धानलाई ५० प्रतिशत र बाँकी अरू अन्नबालीलाई प्रयोगमा ल्याउने गरेका छन् । युरोप र अमेरिकी महादेशहरूमा धानभन्दा गहुँ बढी प्रयोगमा आउँछ । तर, एशिया महादेशमा भने मानिसले प्रयोग गर्ने समग्र खाद्यान्नमा धानले ९५ प्रतिशत स्थान ओगट्ने गरेको छ । 

हालका दिनहरूमा अरू खेतीभन्दा मानिसहरू धानतर्फ बढी आकर्षित बन्दै गएका छन् । तर, धानभन्दा मकै, गहुँ, कोदो, फापर मानव स्वास्थ्यका लागि हितकर प्रमाणित हँुदै गएको पाइएको छ । अर्कातिर संसारभरिका मानिस धान वा कुनै यस्तै एउटैमात्र बालीमा भर पर्ने हो भने रोग वा अरू केही कारणले यदि त्यो बाली लोप भयो भने त्यस सँगसँगै मानिसको अस्तित्व संकटमा पर्नसक्छ । त्यसैले हाम्रा कृषि विशेषज्ञहरूले धानमा मात्र ध्यान केन्द्रित गरेर यसका अनेकौं प्रजाति वा वर्णशंकर जातिहरू विकास गर्दै लगेको अवस्थामा मकै, गहुँ, कोदो, फापर, जौजस्ता बालीको विकासतर्फ ध्यान दिनु जरुरी देखिन्छ । 

बालीनालीको विकास गर्ने क्रममा त्यो देशको वा ठाउँको भुबनोट र हावापानीलाई पनि ध्यान दिनुपर्ने हुन्छ । नेपालका सन्दर्भमा धानको साथसाथै गहुँ र मकैको विकास र संरक्षण पनि प्राथमिकतामा पार्न आवश्यक देखिन्छ । नेपालका सन्दर्भमा साँच्चै भन्ने हो भने पहाडी क्षेत्रमा धेरै मानिसले प्रयोग गर्दै आएको कोदो र फापरका बारेमा पनि नेपाली कृषि विशेषज्ञहरूले चासो दिनुपर्ने आवश्यकता छ । यी बालीको विकास र संरक्षण नेपालका लागि बढी महत्वको हुन्छ । 

त्यसैले यसपटकको धान दिवसमा धानका साथै गहुँ, मकै, कोदो, फापर, जौ, आलु सबै प्रकारका खेती बालीको प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै धानबालीको विकास, विस्तार र संरक्षणको प्रण गर्नु सान्दर्भिक हुन्छ, यो सधै औपचारिकतामा मात्र सीमित हुनु हुँदैन । सबैमा धान दिवसको शुभकामना । 


Views: 39