12th July | 2020 | Sunday | 11:56:37 PM

फेरि अर्को संक्रमण

  POSTED ON : असार १६, २०७७ (९:२९ AM)

फेरि अर्को संक्रमण

सलह नेपालको नयाँ पुस्ताका लागि नयाँ हुनसक्छ । अहिलेभन्दा सत्तरी पचहत्तर वर्ष पहिले नेपालमा सलह प्रवेश गरी नेपालमा खेतीबालीहरू सखाप पारेको कुरा बुढापाकाहरू बताउँछन् तर त्यसयता यसको प्रकोप देखिएको थिएन । हालै अफ्रिकी महादेशबाट पाकिस्तान हुँदै भारतका विभिन्न प्रान्तमा सलह फैलिएको थियो । भारतमा आउनासाथ यो नेपालमा पनि आउने पक्का थियो तर मुनसुन सुरु भइसकेको अवस्थामा सलह नेपालमा आउन सक्दैन भनेर विज्ञहरूले अनुमान गरेका थिए । 

कृषि तथा पशुपक्षी मन्त्रालयले सलहको नेपाल प्रवेशबारेमा अनुसन्धान गर्न एउटा विज्ञ टोली गठन गरेको थियो । यसले नेपालको मनसुनको स्थिति, हावाको प्रवाह र सलहको बेगको अध्ययनाट सलह नेपाल नआउने निष्कर्ष निकालेको थियो । तर, हाल उक्त विज्ञ टोलीको निष्कर्षविपरीत सहल प्रवेश गरेको छ । गत शनिबार रूपन्देही कपिलवस्तु, बारा, पर्सा रौतहटलगायत जिल्लामा यो एकाएक देखाप¥यो । 

नेपालमा सलह देखापरेपछि फेरि विज्ञहरूका अनेक तर्कहरू देखापर्न थालेका छन् । तिनले यो ठूलो समूहमा नभएका कारण ठूलो क्षति गर्न नसक्ने बताएका छन् । यसैगरी सलहले फूल पार्न भारतको राजस्तान जस्तो बलौटे स्थानको आवश्यकता पर्ने भएका कारण नेपालमा तिनले फुल पारेर आफ्नो संख्या वृद्धि गर्न नसक्ने बताएका छन् । तर, नेपालको पाँच हजार मिटरभन्दा माथि यो आउन नसक्ने विज्ञको आकलन गलत सावित हुँदै गएको देखिएको छ । पहाडी जिल्लामा सलह प्रवेश गर्दै गरेको देखिएको हुँदा यो तर्क गलत प्रमाणित हुँदै गएको हो । त्यसैले अबका दिनमा अरू सम्भाव्य परिणामका बारेमा विज्ञहरूबाट सोचिनु आवश्यक देखिन्छ । 

सलह एक जातको फट्यांग्रो हो, यो समूहमा विचरण गर्छ । यसले हरियो वनस्पतिका पात मुन्टा तथा कलिला डाँठहरू छिन्भरमै सखाप पार्छ । सानै समूहमा प्रवेश गरेको भए पनि हाम्रो सानो देश र सानै परिणाममा गरिने खेतीबालीमा क्षति पु¥याउनसक्छ भन्नेतर्फ सोच्नु बुद्धिमत्तापूर्ण हुनेछ । 

नेपालका कृषकहरू गरिब छन्, धनीहरू नेपालमा कृषि कर्म गरेर बस्दैनन् । तिनीहरू कि उद्योगतर्फ आकर्षित हुन्छन् कि व्यापार गर्छन् । गरिबहरू ऋण लिएर खेती किसानीमा लाग्छन् । तिनले एकातिर बेलामा मल, बीउ, विषदी र कृषि औजार नपाएर समयमै खेती गर्न पाएका हुँदैनन् भने अर्कातिर समयमा पानी नपर्नाले, अतिवृष्टि, अनावृष्टि आदिका कारणले तिनले सहज रूपमा खेती गर्न पाएका हुँदैनन् । अहिलेको यो सलहको प्रकोपबाट प्रत्यक्ष रूपम तिनीहरू नै मारमा पर्ने छन् र अरू हामी परोक्ष रूपमा मात्र प्रभावित बन्नेछौं । 

सलहको नियन्त्रणका उपायबारे विज्ञहरूका मत फरक छन् । कसैले यसलाई समाउने तरिका बताइरहेका छन् र यसको मूल्य निर्धारण गरेका छन् । कसैले विषादी प्रयोग गरेर मार्न सुझाब दिएका छन् । थाल ठटाउने, ठूलो आवाज गर्ने र भगाउने, लुगा फिँजाएर समाउने जस्ता तिनले बताएका तरिकाहरू यसको दीर्घकालीन समाधान नहुन सक्छन् । सरकार अहिलसम्म बोलेको छैन । यसका लागि सरकार बोल्नु आवश्यक छ किनकि यो नै आधिकारिक निकाय हो ।

Views: 71