13th August | 2020 | Thursday | 7:50:02 AM

बेमौसमी राग

  POSTED ON : असार २१, २०७७ (९:४८ AM)

बेमौसमी राग

यस वर्षको बर्खायान सुरु भइसकेको छ । नेपालमा बर्खेखेतीको याम असार पनि अब आधाभन्दा बढी भएको छ । यो वर्ष समयमै पानी परेको हुँदा खेती किसानीका लागि विगत वर्षहरूमा झैँ सुख्खा र खडेरीको प्रकोपको मारमा पर्नुपरेको छैन । त्यसैले धान रोपाइँ राम्ररी भइरहेको छ । यति हुँदाहुँदै पनि किसानहरूले समयमा मल, बीउ, किटनासक विषादी, कृषि उपकरणहरू नपाएर खेती हुन नसकिरहेका जस्ता गुनासा आइरहेका छन् । 

यी गुनासा सरकारको आलोचनाका लागिमात्र आएका निश्चय पनि होइनन् । यिनमा सत्यता छ । कहिले पानी नपर्ने, कहिले अतिवृष्टि र अनावृष्टि हुने कारणबाट पिरोलिँदै आएका किसान यस पटक समयमै मल र बीउ नपाएर पिरोलिएका छन् । 

यतिमात्र होइन यस वर्ष एकातिर लामो समयदेखि कोरोनाको प्रकोप छ भने यसमाथि सलहकको प्रकोप थपिएको छ । यो छिटै सबैतिर फैलिन सक्ने भएकाले यो बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टिभन्दा खतरनाक देखिएको छ । मध्य बर्खा हुन अझै बाँकी छ । बाढी पहिरोबाट धेरै क्षति हुने समय आउँन अझै आइसकेको छैन । सरकारले यतातिर केही योजना बनाएको जस्तो देखिँदैन । सलह आउँछ भनेर सरकारले कुनै पूर्वतयारी गरेन, आफ्ना केही सल्लाहकारहरू समेटेर बनाएको आयोगको सुझाब पत्याएर ढुक्क भएर बस्यो । जब सलह फैलियो त्यस्तो हुनुनपर्ने हो, हावाको गतिविपरीत बहेको हुँदा सलह आएको हो तर नेपालमा ठूलो क्षति गर्दैन भनेर पन्सिएको छ । 

उता सलह धेरै जिल्लामा फैलिइसकेको छ र क्षति निकै गरिसकेको छ । विभागीय मन्त्री भने विदेशबाट संगीत ब्याण्ड झिकाएर नियन्त्रण गर्ने हावादारी तर्क गर्दैछन् । उनले तर्क गरुञ्जेल सलह धेरैतिर फैलिइसको छ । केही गर्लान् कि भनेर जनताले पत्याएको मन्त्रीबाटै यस्ता प्रकारका तर्क सुन्नु परेपछि जनताको निराशाको मात्रा अझै चुलिने निश्चित छ । 

कुरो यतिमात्र होइन । अब हिमाली क्षेत्रका जलाशयहरू पानीले भरिन्छन् । एकातिर वर्षाको मात्रा बढ्ने र अर्कातिर वातावरणको बढ्दो तापमानले गर्दा त्यस्ता जलाशयमध्ये कति फुट्ने र भरिएर अतिप्रवाह हुने भएका कारण त्यसको नकारात्मक प्रभाव निम्न धरातलीय क्षेत्रहरूमा पर्न जान्छ । जसले गर्दा पहाडतिर बाढी, पहिरो तथा तराईमा डुवान हुनेगर्छ । यस्ता समस्याहरू सलह वा अन्य प्रकोपजस्ता होइनन्, वर्षेनी आइरहने समस्या हुन् । त्यसैले सरकारले यस्ता समस्याको सामना वा न्यूनीकरणमा स्थायी समाधान खोज्नुपर्ने हुन्छ । 

जोखिम न्यूनीकरणका लागि निश्चित बजेट व्यवस्था गर्ने, उद्दार टोली तैनाथ गरेर राख्नुपर्ने, ठाउँठाउँमा सूचना केन्द्रहरूको व्यवस्था हुनुपर्ने, फैलिनसक्ने महामारीबाट बच्न औषधिोपचारको व्यवस्था हुनुपर्ने हुन्छ । बाढीसँगै तराईतिर त सर्पदंशको भय हुन्छ । जनस्वास्थ्य, जनजीविका र जनसुरक्षासँग जोडिएका यस्ता विषय नै राष्ट्रका प्रमुख विषय हुन्, सरकार यस्ता विषयमा सधैं सतर्कताका साथ रहनुपर्छ । छन् त नेपाल सरकारसँग यस्ता विषयसँग सम्बन्धित कुनै योजना ? जनताका स्वार्थलाई एकातिर पन्साएर सरकार सत्तास्वार्थमा एकोहोरो लागिरहेको छ । यो सर्वथा आलोच्य छ, यसमा सरकारले हेक्का राख्नैपर्छ । 


Views: 109

सम्बन्धित सामग्री:

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)

अयोध्यापुरीको गाम्भीर्यता

: श्रावण २६, २०७७ (१२:१० AM)