13th August | 2020 | Thursday | 8:47:29 AM

आग्रहको अवज्ञा अनुचित

  POSTED ON : असार २२, २०७७ (१२:४५ AM)

आग्रहको अवज्ञा अनुचित

कोरोना पुष्टि भएको समय ६ महिना भयो । यसको समाधान अझै पत्ता लागेको छैन । यसबाट हाल विश्व नै प्रभावित छ । यसरी कुनै पनि महामारीबाट यस रूपमा संसार प्रभावित भएको यो पहिलो पटक हो । विश्वस्वास्थ्य संगठनले यसलाई निगरानीका साथ हेरिरहेको छ । बढी प्रभावित राष्ट्रहरूलाई विभिन्न निर्देशन र सुझाब दिएरहेको छ । कतिपय अवस्थामा तिनको राम्ररी पालना हुन सकेको छैन । हाम्रै देशमा हालै विश्व स्वास्थ्य संगठनले महामारीलाई बेवास्ता नगर्न गरेको आग्रह अनुसारको यसको पालना पहिलेदेखि भएरहेको छैन । 

जरुरी काम नगरी नागरिकहरूको हातमुखको समस्या हल हुँदैन र यसको समाधानमा घरबाहिर निस्कँदा महामारीको संत्रास उत्तिकै हुन्छ । यो थाहा भएर पनि मानिसलाई बाहिर ननिस्की भएको छैन । केही गोष्ठी, सभा जुलुस, साहित्यिक समारोह पनि भएरहेका छन् । तिनमा भौतिक दूरी काय गर्ने भनेर कुर्सीहरू अलिक टाढा टाढा राखिन्छन् । यतिले मात्र त्यहाँ सुरक्षित वातावरण कायम हुनसक्ला भनेर विश्वास गर्न सकिँदैन । केही ठाउँमा स्यानिटाइजर र साबुनपानीको पनि व्यवस्था हुन्छ । त्यतिले मात्र कोरोनाको सन्त्रासबाट ढुक्क बन्न सकिने हो भने यो विश्वव्यापी नै टाउको दुखाइको विषय बन्ने थिएन । 

विश्वास्वास्थ्य संगठनको आपत्कालीन सेवा निर्देशक मिखायलले कोरोनाको प्रभाव कम नभइसकेका कारण यो महामारीलाई बेवास्ता नगर्न आग्रह गरेका छन् । संगठनको यो आग्रह सही हो तर अर्कातिर रोगले भन्दा भोकले धेरै मानिसको मृत्यु हुने अवस्था आइरहेको यथार्थ हो । संसारभरि नै अर्थतन्त्र प्रभावित भइको छ । व्यवसायहरू सञ्चालन हुन सकेका छैनन् । उद्योग कलकारखाना चलेका छैनन् । बन्द व्यापार ठप्प छन् । मानिसहरू बन्दीजस्ता बनेका छन् । यस्ता समस्याको निकास संसारभरि एकै प्रकारले निकाल्नु आवश्यक छ भने अर्कातिर विभिन्न राष्ट्रहरूले आआफ्नो देशको संक्रमणको स्थिति र आवश्यकतालाई हेरेर सोही अनुसारको समाधान दिनुपर्ने हुन्छ । 

हाम्रो सरकारले यतातिर खासै ध्यान दिएको छैन । सरकार जोगाउने र ढाल्ने जस्ता खेल भइरहेका छन् जुन सर्वथा अनुचित छ । यातायात व्यवसायीहरू पनि सरकारले एउटा उचित समाधान नदिएको भनेर अब आफ्नै निर्णयबाट गाडी चलाउन लागेका छन् । एकातिर सरकारले कुनै पनि क्षेत्रका समस्याको उचित निकास ननिकाल्ने र अर्कातिर कोराना समुदायस्तरमा फैलिँदै गएर ढलको पानीमा समेत यसको विषाणु भेटिनुले अब यसले अझै विकराल रूप लिने कुरा प्रमाणित हुँदैछ । 

त्यसैले छिटोभन्दा छिटो जनतालाई उचित राहतसहितको कार्यक्रम ल्याउनु सरकारको पहिलो दायित्व हुन्छ । अति आवश्यक रोजीरोटीसँग सम्बन्धित कामबाहेक त्यति जरुरी नदेखिएका गोष्ठी, कार्याशाला, साहित्यिक कार्यक्रमहरूमा रोक लगाउनुपर्ने हुन्छ । मानिसबाट मानिसमा मात्र सर्दैआएको कोरोनाको विषाणु ढलको पानीमा समेत पाइएको हुँदा त्यो कसरी त्यहाँ मिसिन पुग्यो भनेर त्यसको अनुसन्धान गर्नुपर्ने आवश्यकतालाई पनि सरकारले प्राथमिकताका साथ हेर्नुपर्ने हुन्छ । यसका लागि त्यस इलाकालाई नियन्त्रमा लिएर त्यसको अनुसन्धान गर्नु सरकारको अत्यवश्यक कार्यभित्र पर्नजान्छ । 


Views: 83

सम्बन्धित सामग्री:

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)

अयोध्यापुरीको गाम्भीर्यता

: श्रावण २६, २०७७ (१२:१० AM)