13th August | 2020 | Thursday | 7:32:49 AM

सत्तारुढको विग्रहमा निरपेक्ष प्रमुख प्रतिपक्ष

  POSTED ON : असार २४, २०७७ (१:०४ AM)

सत्तारुढको विग्रहमा निरपेक्ष प्रमुख प्रतिपक्ष

हालको सत्तारुढ दल नेकपामा भएको मतमतान्तर अब दलभित्रमात्रै सिमित रहेन । यो छताछुल्ल भएर बाहिर सडकसम्म पनि पोखिन पुगेको छ । त्यतिमात्र पनि होइन आम नागरिकहरूसम्म पनि यो विग्रह थुरिन पुगेको छ । यसले उक्त दलमा त निश्चय नै नकारात्मक प्रभाव पारेको छ नै यसका साथै राष्ट्रिय राजनीतिमा पनि यसको नकारात्मक असर परेको छ । बहुमतप्राप्त दलले सरकार बनाउने अधिकार राख्दछ र बनाउँछ । 

त्यसपछि सरकार त्यस पार्टीकोमात्र नभएर सबै जनताको हुन पुग्छ । जनताको मतबाट बनेको सरकार भएको हुँदा सरकारको गठन विघटनको सवालमा जनताको चासो हुन्छ । सरकार दलको हित वा आपसी मतमतान्तरमा अल्झिनाले जनताका अपेक्षामा अवरोध आउँछ । विकास निर्माणका कार्य अवरुद्ध बन्छन् । जनताको पसिनाबाट तिरिएको करको सदुपयोग नहुनसक्छ । 

अहिले नेपालमा माथि चित्रण भएकै अवस्था छ । सत्तारुढ दल नेकपा कलहमा चुर्लुम्म डुबेको छ । जनसरोकारका विषयभन्दा पनि सरकार बनाउने र गिराउने खेल भइरहेका छन् । नेताहरूले आआफ्नो गुटउपगुट बनाएका छन् । राष्ट्रिय स्वाभिमानमा आघात पुग्नेगरी तिनीहरू विदेशीशक्तिको पछि लागिरहेका छन् । तिनको पार्टीको विवाद विदेशी राजदूतहरूले मिलाइदिइरहेका छन् । यसबाट नेपालको आन्तरिक मामलामा विदेशीले खेल्ने राम्रो मौका पाएका छन् जसका लागि हामीले नै तिनलाई त्यो मौका दिइरहो छौँ । 

घर झगडा भएपछि छिमेकी गुहार्नु पर्ने हुन्छ । त्यो अवस्थामा आफ्नो पराइ र पराइ आफ्नो जस्तो लाग्छ । अहिले नेकपाले आफ्ना पार्टीका सहयात्रीलाई पराइ देखिरहेको छ र प्रतिपक्षी दलको सहयोग खोजिरहेको छ । प्रभानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिका रूपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पार्टीका प्रभावशाली नेता सुवास नेम्वाङलाई पठाउनुबाट पनि यही कुरो पुष्टि हुन्छ । पार्टीभित्रका मतमतान्तर प्रतिपक्षमा रहँदा पनि देखिन्छन् तर त्यो भन्दा बढी सत्तारुढ दलमै देखिने गरेका छन् । 

यसबाट यस्ता झगडा लेनदेन तथा पदकै लागि हुने गरेका रहेछन् भन्ने पनि प्रष्ट हुन्छ । नेपाली कांग्रेसको एउटा ठूलो खेमाले २०४८ सालको आम निर्वाचनमा र त्यसपछिका केही उपनिर्वाचनमा समेत आफ्नै दलका नेतालाई हराउन सूर्य चिन्हमा भोट हालेको इतिहास छ । त्यो ऐतिहासिक गल्तिको प्रभाव पार्टीमा अझैसम्म पनि देखापरिरहेको छ । फुट्ने र जुट्ने जस्ता कार्यहरू यसैको परिणति हुन् ।

नेकपामा पनि यस्तै नियति पटक पटक देखिएकै हुन् र हालको यो सन्दर्भ पनि यसकै एउटा पाटो हो । प्रतिपक्षी पार्टीसँग सहयोगको अपेक्षा सरकारले गर्नाले निश्चय नै हाल सरकारलाई निकै नै अप्ठ्यारो परेको रहेछ भन्ने प्रष्ट हुन्छ । उता नेपाली कांग्रेसले भने आपूm यस सन्दर्भमा निरपेक्ष रहने बताएको छ । 

वर्तमान सत्तारुढ दलको एकता, विभाजन वा निरन्तरता पार्टीको आन्तरिक मामला भएकोले नेपाली कांग्रेसले यसमा निरपेक्ष रहने निर्णय गरेको छ । जुन अत्यन्त उचित हो । वर्तमान अवस्थामा नेपाली कांग्रेस यो चक्रभित्र रुमलिन पुग्यो वा सरकारमा सामेल हुने लालच देखायो भने पार्टीलाई भविश्यमा झन घाटा पर्न सक्छ । त्यसतर्फ नेपाली कांग्रेस सचेत रहनु जरुरी छ । 


Views: 124

सम्बन्धित सामग्री:

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)

अयोध्यापुरीको गाम्भीर्यता

: श्रावण २६, २०७७ (१२:१० AM)