13th August | 2020 | Thursday | 8:11:14 AM

उपत्यकावासीको मेलम्ची सपना

हिमालय टाइम्स   POSTED ON : असार २५, २०७७ (१:१४ AM)

उपत्यकावासीको मेलम्ची सपना

काठमाडौं उपत्यका नेपालको सबैभन्दा बढी जनघनत्व भएको ठाउँ हो । यहाँ नेपालको कूल जनसंख्याको १५ प्रतिशत जति मानिस स्थायी तथा अस्थायी रूपमा बस्तै आएका छन् । उता यो उपत्यकाको क्षेत्रफल भने जम्मा क्षेत्रफलको १ प्रतिशत पनि हुन आउँदैन । जनसंख्या र क्षेत्रफलको यो असमान स्थितिका कारणले उपत्यकाका बासिन्दाले फोहोर, धुलो, धुवाँ, ध्वनि प्रदूषणलगायतका समस्या भोग्नुपरेको छ । यस्ता समस्यासँग जुध्दै आइरहेका यहाँका जनताको सबैभन्दा प्रमुख समस्या भनेको पानीकै हो । 

आधा शताब्दी पहिलेसम्म यहाँ पानीका स्रोतहरू प्रसस्त थिए । यहाँका बस्ती बाक्लो बन्दै जाँदा कतिपय स्रोत प्रदूषित बने । बागमती, विष्णुमती, मनहरा, कर्मनासा, भोवीखोलो इच्छुमतीलगायत यहाँका पानीका ठूला स्रोतहरू प्रदूषित बनेपछि जनताका लागि दैनिक उपभोग्य पानीको कमी हुँदै गयो । त्यसपछि यहाँको कुवा, पोखरी र ढुंगेधाराबाट यहाँको पानीको समस्याको परिपूर्ति हुँदै गएको थियो । निजी निवासलगायत ठूला सरकारी भवन, स्कुल, कलेज, व्यापारिक मललगायत संरचाना अधिक संख्यामा निर्माण हुँदैजाँदा पानीका यस्ता स्रोतहरू सुक्दै गए । 

एकातिर पानीको कमी हुँदै गयो अर्कातिर मानिसको संख्या अनियन्त्रित ढंगले बढ्दै । २०४६ सालको प्रजातन्त्रपछि कृणप्रसाद भट्टराई नेपालको प्रधानमन्त्री बन्नुभयो । विदेशी चासो बढ्दै गएको थियो मेलम्ची पानीको योजना पनि त्यही समयदेखिको हो । सन्त नेता भट्टराईले त्यसबेला मेलम्चीको पानी आएपछि पिउनमात्र होइन यहाँका सडक पखाल्न पुग्छ भन्नुभएको थियो । 

तर, उता त्यसपछि नेपालमा जति पनि सरकार बने ती सबैको चासो मेलम्चीतिर तानियो । त्यो चासो छिटोभन्दा छिटो यहाँ पानी ल्याउन नभई सकेसम्म त्यसका ढिलाइ गरी आपूmले अनुचित फाइदा लिइरहनका लागि थियो जस्तो देखियो । जलस्रोत मन्त्रीहरूले पनि यसलाई दुहुने काम गरिरहे । कृष्णप्रसाद भट्टराई जसको सुनै पनी योजनामा कुनै स्वार्थ थिएन उहाँलाई बेलाबेलामा उडाउने काम पनि भइरहृयो । 

सरकार र सरकारका मन्त्रीहरूसँग कुरा नमिल्दा कतिपय ठेकेदारहरू बीचबीचबाटै भागे । यसरी ठेकेदार भागेको बाहनामा, नयाँ ठेकेदार खोज्दा ढिलाइ भएको बाहनामा, स्थानीयले अवरोध गरेको बाहनामा काठमाडौंमा पानी आउने समय तोक्दै र त्यसलाई पर सार्ने काम गरिँदै लगियो । तैपनि जनता मेलम्चीको पानीको ब्यग्रताका साथ प्रतीक्षा गरिरहेकै छन् । तिनको धैर्यलाई सम्मान गर्नै पर्छ । 

अब काम यतिमात्र बाँकी र उतिमात्र बाँकी भनेर पनि जनतालाई आसआसै निरास बनाइँदै छ । २०७५ सालकै दशैँमा उपत्यकामा पानी आउने भनिएको थियो । खनेर पाइप हाल्ने काम गरियो । तर फेरि यसैगरी बहाना बनाउँदै २०७६÷२०७७ गर्दै अझै यसलाई पर सार्ने काम भइरहेको छ । 

केही दिन पहिले पनि एउटा सुरुङबाट पानी परीक्षणको काम भयो तर स्थानीय जनता तथा स्थानीय जनप्रतिनिधिसँग समन्वयन नगरिएको भनेर विरोध भइरहेको छ । सरकारले यस्ता बहुपक्षतर्फ राम्ररी ध्यान देओस् र चाँडोभन्दा चाँडो उपत्यकामा मेलम्चीको पानी वितरण होस् । जुन समयमा जति पानीको मागको अनुमान गरेर यो योजना ल्याइएको थियो अबको मागलाई यसले धान्न नसक्नेतर्फ सरकार सचेत रहनुपर्छ र अन्य वैकल्पिक योजनाको सोच पनि बनाइनु आवश्यक छ । 


Views: 140

सम्बन्धित सामग्री:

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)

अयोध्यापुरीको गाम्भीर्यता

: श्रावण २६, २०७७ (१२:१० AM)