13th August | 2020 | Thursday | 8:16:44 AM

नेपाल : त्रिशक्ति द्वन्द्वको केन्द्रविन्दु

हिमालय टाइम्स   POSTED ON : असार २६, २०७७ (१:०४ AM)

नेपाल : त्रिशक्ति द्वन्द्वको केन्द्रविन्दु

यतिखेर गैरजिम्मेदारहरूको हातमा निर्णायकशक्ति पुगेका कारण नेपालको राजनीतिक परिवर्तन र शासकीयशैली बाँदरका हातमा नरिवल जस्तो एकातिर हुनपुगेको छ भने अर्कातिर शीतयुद्धपछि जसरी कोरिया प्रायदीप र पूर्वी युरोपमा अन्तर्राष्ट्रिय शक्ति संघर्ष चलेको थियो ठीक त्यही अवस्था नेपालमा सिर्जना भएको छ । विगतको इतिहास अब दोहो¥याइरहनु पर्दैन । वर्तमानले नै विगतका सबै गल्ती, कमजोरीलाई धेरै पर पारिसकेको छ । 

नेपाल कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वमा देखिएको अन्तरविरोधमा एकातिर उत्तरको छिमेकी राष्ट्र खुलेर सक्रिय भएको छ भने अर्कातिर छिमेकी भारतको भूमिका पनि कुनै न कुनै रूपमा प्रकट भइरहेको छ । दोस्रो विश्वयुद्धपछि सोभियत रूस र अमेरिकाबीच महाशक्ति हुने दौडमा आरम्भ शीतयुद्धले लामो समयसम्म क्षेत्रीय द्वन्द्व र युद्धहरू निम्त्याएको इतिहास साक्षी छ । 

अहिले स्थितिमा केही परिवर्तन आएको छ । पूर्वी युरोप वा कोरिया प्रायःदीपको स्थानमा दक्षिण एसियाको सानो राष्ट्र नेपाल शीतयुद्धको केन्द्रमा पुगेको छ । दुई छिमेकीमध्ये एउटासँग अंकमाल र अर्कोसँँग सञ्चयविनाको शक्ति प्रदर्शन गर्न खोज्दा तेस्रो पक्षसमेत संलग्न हुन लागेको संकेत मिलिरहेको छ । अन्तर्राष्ट्रिय शक्ति संघर्षको केन्द्र हुन लागेको देशका हामी नागरिकले वर्तमान सत्ताको पक्ष र विपक्षमा आफ्नो शक्ति क्षय गर्ने कि द्वन्द्वको अन्त्य गर्ने र शक्ति संघर्षका कारकहरूलाई विस्थापित गर्न प्रयास गर्ने ? यो प्रश्न कसैको चित्त बुझाउन वा दुखाउन गरिएको होइन ।

नेपाल मामलामा चीनलाई २००७ सालपछिको परिवर्तन, निर्दलीय पञ्चायतकाल वा २०४६ को परिवर्तन जुनसुकै नेतृत्वले पनि सुरक्षाको विश्वासिलो साथीका रूपमा हेरेका थिए तर त्यसलाई सतहमा ल्याएर सत्ताको खेलमा जोडेका थिएनन् । माओ जेदुङ नेतृत्वको कम्युनिष्ट सत्ता पनि नेपाल सन्दर्भमा, नेपालको आन्तरिक राजनीतिमा कहिल्यै पनि खुलेको थिएन । अत्यन्त भरपर्दो मित्रशक्ति नेपालको राजसंस्थाबाट जनताले २०४६ सालमा अधिकार खोस्दा वा २०६३ सालपछि राजसंस्था हटाउँदासमेत चीन निरपेक्ष थियो । 

तर, अब चीन हिजोको चीन रहेन । कम्युनिष्ट पार्टीहरूलाई एक गराउने, पार्टी नेतृत्वको विवाद मिलाउने, पार्टी विभाजनका बिन्दुहरू मेट्न खुलारूपमा सक्रिय हुन लागेको छ । अर्को छिमेकी राष्ट्र भारतसँगको विवादको मौका पारेर चीन यसरी नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेपकारी शैलीमा उत्रनासाथ महाशक्ति राष्ट्र अमेरिकाको चासो थपिँदै जानु अस्वाभाविक मानिँदैन । अबका दिनमा भारत र अमेरिका एकापट्टि र अर्को पट्टि चीनबीचको शक्ति संघर्ष नेपाल कम्युनिष्ट पार्टीमार्फत नेपालमा हुने स्पष्ट हुँदैछ । 

जहिले पनि भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादका विरुद्ध राजनीतिक खेल खेल्दै आएका कम्युनिष्ट पार्टीहरूले चीनको हस्तक्षेपकारी सक्रियतालाई स्वाभाविक मान्न लागेपछि उनीहरूको द्वैद्व चरित्रको पोल खुलेको छ । कोरियाको विभाजन, भियतनामको विभाजन, अफ्गानिस्तानमा विदेशी हस्तक्षेप, पूर्वी युरोपको विभाजन कम्युनिष्ट शक्ति र विपक्षी शक्तिकै नाममा भएका छन् । सन् १९९० को दशकमा सोभियत संघको विघटनले शीतयुद्धको अवस्था अन्त्य जस्तै भएको थियो । तर अब विस्तारै दक्षिण एसियाको सानो देश नेपाललाई केन्द्र बनाएर शीत युद्धले पुनर्जीवन पाउने खतरा बढेको छ । जसप्रति हामी नेपालीहरू समयमा नै सचेत हुनु जरुरी छ । 


Views: 343

सम्बन्धित सामग्री:

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)

अयोध्यापुरीको गाम्भीर्यता

: श्रावण २६, २०७७ (१२:१० AM)