13th August | 2020 | Thursday | 7:48:23 AM

विपत्ति र बसोबास प्रणाली

  POSTED ON : असार २८, २०७७ (९:५७ AM)

विपत्ति र बसोबास प्रणाली

वर्षा सुरुभएसँगै बाढी, पहिरो र डुवानको प्रकोप नेपालीहरूको नियति भएको छ । कोरोनाको आतंकले जनजीवन खुम्चिरहेको अवस्थामा पहिरो, डुबान र बाढीले नागरिक जनजीवन थप आहत बनेको छ । प्राकृतिक विपत्तिका लागि प्रकृतिबाहेक कोही जिम्मेदार नहोला । तर अनेक वर्षदेखि मानिसहरू आफैंले सिर्जना गरिरहेका छन् यस्तो विपत्तिलाई । नेपाल समुद्रनजिक छैन त्यसैकारण समुद्रबाट उठ्ने तुफानको मारमा परेको छैन । नेपालको भूगोलमा ज्वालामुखी देखिएको छैन र त्यसको कुनै जोखिम मोल्नु परेको छैन । 

तर, भूकम्प, डढेलो, बाढी, पहिरो, डुबान, हावाहुरीजस्ता अनेक विपत्तिको सामना नेपालले निरन्तर गर्नुु परिरहेको छ । विपत्तिको सामना गर्न र आवश्यक उद्धारका लागि संसारले अनेक प्रविधि, सीप र संयन्त्रको विकास गरिसके पनि नेपाल निकै पछि छ । भन्न त रेल चलाउने, पानीजहाज ल्याउने अनेक गफहरू निरन्तर सुनिइरहेको छ । रेल भने नेपालीका लागि पुरानो होइन । सधैं अनेक शब्दमा आलोचित राणा सरकारकै पालामा नेपालमा रेल र तुइन सञ्चालनमा थिए । परिवर्तनसँगै ती सबै विलुप्त भएका छन् । जनकपुर–जयनगर रेल्वे धुकुधुकु चलिरहेको सुनिन्छ । नत्र बाँकी गफमात्रै भएका छन् र ती सबै नारा राजनीतिका स्टन्ट हुन पुगेका छन् ।

प्रत्येक वर्षको विशाल वर्षाले लाखौं, करोडौंमा क्षति हुने गरेको छ । यो वर्ष मध्य नेपाल र पश्चिमनेपालको जनजीवन बाढी, पहिरो र डुबानले अस्तव्यस्त हुनपुगेको छ । करिब साठीजनाको ज्यान पहिरो र बाढीमा परेर गएको छ भने अनेकौं बेपत्ता छन् । करोडौंको श्रीसम्पत्ति स्वाहा भएको छ । अनेक बाटा, राजमार्गहरू भत्किएर सम्पर्क विच्छेद भएको छ र कतिपय आयोजना तहसनहस भएका छन् । ढिलो गरी आरम्भ मनसुनले सुरुमै यसरी प्रलय मच्चाएपछि अरू बाँकी दिन कस्ता हुनेहुन् सोचनीय छ । 

तराई मधेसमा हुने डुबान धेरै सीमावर्ती क्षेत्रमा भारतीय पक्षले निर्माण गरेका बाँधको परिणाम हुन् भने पहाडी क्षेत्रको भूस्खलन र बाढीजस्ता विपत्तिमा हाम्रो बसोबास प्रणाली र असारे विकाससमेत जिम्मेदार देखिन्छ । वर्षभरि खान नपुग्ने भीरबारी खोस्रँदै बस्न विवश नागरिकका सामु अरू कुनै विकल्प छैन । अहिले त गाउँ विकासका नाममा गएको बजेट अवाञ्छित तरिकाले सिध्याउन गरिने असारे विकासले यज्ञको रेखी हालेजस्तो सबै डाँडाहरूमा धर्सा खोपेको देखिन्छ । 

प्रकृतिमाथि ज्यादती भएपछि प्रकृतिले पनि मानिसहरूको अहंकार तोड्छ भन्ने परम्परागत मान्यता सिद्ध भएको छ । हरेक वर्षमा यसरी आउने विपत्तिको समाधान के हुने र कस्तो समाधान होला ? राज्यको नीति निर्णयको तहमा बसेर योजना बनाउने विद्वान् विदुषीहरूले सोच्नुपर्ने थियो । समाधानका विकल्प अनुमानित हुनुपर्ने थियो । तद्नुरूप योजनाहरू बन्नुपर्ने थियो । बाढी, पहिरो, डुबानजस्ता समस्याले सिर्जित गर्ने क्षतिका लागि हाम्रो बसोबास प्रणाली पनि जिम्मेदार छ कि ? विचारणीय हुनसक्छ कि सक्दैन ? 

नदी किनारमा ठूलासाना घर निर्माण गर्ने, नदीका वहाबहरू रोक्ने, जथाभावी रूख काट्ने, डढेलो सल्काउने, विकासका नाममा पहरा र भित्ता फोर्दै जथाभावी ब्लाष्टिङ गर्ने जस्ता कामहरू विकासकै नाममा भएका छन् । बजार विस्तार गर्ने र अव्यवस्थित शहरीकरणको सपनाले पनि समस्या सिर्जना गरिरहेको छ । चुरो कुरो के हो भने नेपालमा विकासको आधार निर्माण गर्ने हो भने आजको बसोबास प्रणाली परिवर्तन गर्नु अनिवार्य छ । यहीँबाट प्राकृतिक विपत्तिले ल्याउने संकट रोक्न आरम्भ हुन्छ र विकासको गतिसमेत सक्रिय हुनेछ । 


Views: 129

सम्बन्धित सामग्री:

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)

अयोध्यापुरीको गाम्भीर्यता

: श्रावण २६, २०७७ (१२:१० AM)