13th August | 2020 | Thursday | 8:50:08 AM

आदिकविप्रति श्रद्धार्पण

  POSTED ON : असार २९, २०७७ (९:१७ AM)

आदिकविप्रति श्रद्धार्पण

आज २०६औं भानु जयन्ती । वास्तवमा यो दिन नेपालीहरूका लागि दशैँ तिहार जत्तिकै महŒवपूर्ण पर्व हो । आजभन्दा २ं०५ वर्ष पहिले हालको गण्डकी अञ्चलको तनहुँ जिल्लामा पर्ने चुँदी रम्घामा उहाँको जन्म भएको थियो । उच्च संस्कार पाउनुभएको सम्पन्न परिवारका भानुभक्तले तत्कालीन समयसन्दर्भ अनुसार संस्कृतमा उच्च शिक्षा प्राप्त गर्नुभएको थियो । 

घाँसीको प्रेरणाबाट उहाँले वाल्मीकि रामायणलाई नेपालीमा अनुवाद गर्नुभएको हो । संस्कृत रामायणको यो भावानुवाद नै अन्ततः नेपाली भाषको एकीकरणको मानक बिन्दुका रूपमा स्थापित बन्न पुग्यो । यस अर्थमा उहाँलाई नेपाली भाषाको एकीकरणकर्ताका रूपमा मानिन्छ । जसरी नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायण शाहको अमूल्य योगदान छ त्यही रूपमा भानुभक्तले नेपाली भाषालाई एकीकरण गर्नु भएको हो । पृथ्वीनारायणा शाहभन्दा पहिले नेपाल बाईसी, चौबीसीलगायतका राज्यमा विभाजित थियो । त्यसको एकीकरणा उहाँले गर्नु भएको थियो । 

त्यसैगरी भाषाको एकीकरणको काम भानुभक्तबाट हुनपुग्यो । उहाँको निधन हुँदामात्र दुई वर्षका बालक मोतीराम भट्टले पछि काशीबाट उहाँको जीवन चरित प्रकाशन गरिदिनुभयो र उहाँलाई चिनाउनु भएको थियो । यसपछि उहाँले भानुभक्तका कृतिहरू खोजेर प्रकाशन गरिदिनुभयो । उहाँको अवसानको लामो समयपछि नेपालीहरूले चिन्ने मौका पाए र राणा प्रधानमन्त्री जुद्धशमशेरले आदिकविको संज्ञा दिनुभयो । सबैभन्दा पहिले नेपाली भाषामा कविताहरू लेखेका कारणले नै उहाँले यो उपाधि पाउनुभएको हो ।

नेपालबाहिर दार्जिलिङ, सिक्किमतिर पनि उहाँको ठूलो प्रतिष्ठा छ तर त्यतातिर उहाँलाई आदिकविभन्दा पनि जातीय कविका रूपमा सम्मान गरिन्छ । सम्पूर्ण नेपाली जातिका सम्मानित कवि भएका कारण उहाँलाई नेपालबाहिर रहनेहरूले यसरी सम्मान गर्ने गरेका हुन् । 

भानुभक्त नेपालका आदिकवि नभएर नेपाली भाषाका आदिकवि हुनुहुन्छ । त्यसैले जहाँजहाँ नेपालीभाषीको बसोबास छ ती स्थानहरूका उहाँलाई आदरका साथ ममान गर्ने गरिन्छ । भानुभक्तीय रामायणले रामभक्तिधारालाई उजागर गरेको छ । राम कथा भन्नु नै वास्तवमा राम र सीताको कथा हो तर यो केवल राम र सीताको कथामात्र होइन । यसका माध्यमबाट मिथिला तथा अयोध्या क्षेत्रको संस्कृतिको पहिचानलाई पनि प्रकट गरिएको छ । 

रामायणलाई रामको गाथाका रूपमा परम्परादेखि बुझ्दै आएका हामीले यसलाई एउटा सांस्कृतिक ग्रन्थका रूपमा पनि बुझ्नुपर्ने हुन्छ । वास्तवमा आजसम्म यतातिर हाम्रो दृष्टिकोण पुग्न सकिरहेको छैन । नेपालकै एउटा भाग भएर पनि नेपाली संस्कृतिसँग जोडिन नसकिरहेको मैथिल संस्कृतिलाई राजा जनक, सीतालगायत त्यो परिवेशसँग संबद्ध स्थान, मानिस तथा वातावरणको चित्रण गरी भानुभक्तले त्यसलाई चिनाउनु भयो र मैथिली संस्कृतिलाई नेपाली संस्कृतिसँग जोड्नु भयो । 

यसैगरी रामको माध्यमबाट अवधी संस्कृतिलाई पनि उहाँले नेपाली संस्कृतिसँग जोड्ने प्रयास गर्नुभयो । अत्यन्त सूक्ष्म ढंगले यी संस्कृतिको भित्री तहसम्म पुगेर भाषिक एकीकरण जसरी नै सांस्कृतिक एकीकरणको काम पनि आदि कवि भानुभक्त आचार्यबाट हुन पुगेको छ । यो उहाँको एउटा महान् तथा प्रशंसनीय दूरदृष्टि हो । 

आदिकवि भानुभक्त आचार्यको सम्झना गर्दा उहाँसँगै जोडिएर आउने नेपालका राष्ट्रिय विभूतिहरू पृथ्वीनारायण शाह, मोतिराम भट्ट, राजा जनक र सीताको पनि स्मरण नगर्नु उहाँहरूप्रतिको अन्याय हुनजान्छ । उहाँहरू सबैलाई सम्मान अर्पण । राम नेपालका नभए पनि भानुभक्तले रचना गरेको रामायाण नै उहाँकै गाथा हो । राम नेपालीहरूका पूज्य देवता पनि हुन् । त्यसैले उनीप्रति पनि सम्मान भाव प्रकट गर्दै आज राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ति सन्दर्भमा उहाँप्रति आदरपूर्वक श्रद्धार्पण । 


Views: 69

सम्बन्धित सामग्री:

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)

अयोध्यापुरीको गाम्भीर्यता

: श्रावण २६, २०७७ (१२:१० AM)