13th August | 2020 | Thursday | 7:56:02 AM

नेकपाको अक्षुण्णता

  POSTED ON : असार ३१, २०७७ (९:०५ AM)

नेकपाको अक्षुण्णता

नेपाल कम्युनिष्ट पार्टीमा केही समयदेखि व्यापक मतभेद रहेको कुरा सामान्य जनतालाई समेत थाहा हुनेगरी बाहिर छतछुल्ल भएर पोखिएकै हो । विवादको चरम अवस्थामा पुगेर पनि पार्टी फुट्नबाट जोगियो । दुई शक्तिसाली अध्यक्षबीच शक्ति धु्रवीकरण हुँन पुग्दा पार्टीको अन्तरविरोधको चिरा कार्यकर्ता तहसम्म पुगेको थियो । अब पार्टी फुट्नबाट कसैले रोक्न सक्दैन भन्ने अवस्था सिर्जना भएको थियो । 

प्रधानमन्त्री तथा अध्यक्षले मलाई सत्ताच्युत गर्न भारत लागेको छ भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिनुभएको थियो । त्यसको केही दिनपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले उहाँलाई ‘तपाईंको राजीनामा भारतले होइन मैले मागेको हुँ’ भन्नुभयो । त्यसपूर्व उहाँबाट धेरै पटक प्रधानमन्त्रीको राजीनामा मागिएको थियो । यसका लागि प्रधानमन्त्री जोगाउने र हटाउने विभिन्न गुटउपगुट पार्टीभित्रै बनिसकेका थिए । 

उहाँहरूको यस प्रकारको दोहोरी उहाँहरूमा मात्र सीमित रहेन । त्यो पार्टी कार्यकर्ता र जनस्तरसम्मन पुग्यो । पार्टीमा शक्ति संघर्ष चरम अवस्थामा पुग्दासमेत केही स्वतन्त्र नागरिक, केही राजनीतिक विश्लेषक, केही स्वतन्त्र व्यक्तिहरू तथा फरक पार्टीका शुभचिन्तकहरूमा नेकपा फुट्नु हुँदैन भन्ने विचार रहेको थियो । नेकपा झण्डै दुई तिहाइ मत पाएर सरकारमा रहेको पार्टी भएको हुँदा लामो समयदेखि राजनीतिक अस्थिरता भोग्दै आएका जनतामा अब यो सरकारको स्थायित्वको अपेक्षा थियो र उहाँहरूले त्यस्तो चाहना राख्नुभएको हो । 

तर, जनताको भावनाविपरीत नेकपा फुट्नबाट कसैले रोक्न नसक्ने अवस्थामा पुगिसकेपछि एकाएक त्यसमा नाटकीय ढंगले राजनीतिक जादुगरी देखा प¥यो । नेकपाको फुट रोक्न विदेशी शक्तिहरू लागे । कूटनीतिक मर्यादाविपरीत चिनियाँ राजदूत नेकपाका नेताहरूसँग भेटघाट गर्न उहाँहरूका घरसम्म पुग्नुभयो । एउटा देशको पार्टीको आन्तरिक कलह मिलाउन अर्को देशको राजदूतको यसप्रकारको सक्रियता अस्वाभाविक मात्र होइन अमर्यादित तथा गैरकूटनीतिक कार्य नै हो तर उहाँबाट यस प्रकारको कार्य भयो । 

त्यसपछि नेकपाका चार शक्तिशाली नेताहरूको समूह निस्तेज बन्यो । सम्भवतः यसमा कुनै शर्तले ती पूरा गर्ने वाचाले काम गरेको हुनुपर्छ । हालै दुईमध्येका एक अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गृह जिल्ला चितवन पुग्नासाथ पार्टी एकता अक्षुण्ण रहने कुरा आफ्ना कार्यकर्तामाझ बताउनुभयो । विभाजनको मनस्थितिमा रहेका कार्यकर्तालाई यसबाट निश्चय नै राहत महसुस भएको छ । तर, उहाँले त्यहाँ कार्यकर्ताबीच पार्टीमा गम्भीर समस्या रहेको कुरा लुकाउनु भएन । पार्टीमा यस्ता संकट भए पनि यिनका बारेमा गम्भीर छलफल भएरहेको बताउनुभयो ।

पुष्पकमल दाहालको यो अभिव्यक्तिले पार्टीको अक्षुण्णताको प्रत्याभूति भएको जस्तो देखियो । तर, नेकपामा दुई अध्यक्षका साथै माधवकुमार नेपाल, झलनाथ खनाल तथा वामदेव गौतमहरू पनि आफ्नो गतिलै स्पेस खोजिरहनु भएको छ । यीमध्ये एकजना शक्तिशाली नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपामा दुई अध्यक्षमात्रै हुनुहुन्न भन्ने आशयको विचार व्यक्त गर्नु भएबाट उहाँ आफ्नो गतिलै स्पेस खोजिरहनु भएको छ भन्ने प्रष्ट हुन्छ । यसबाट नेकपाभित्रको रडाको बाहिर केही मत्थर भएको जस्तो देखिएको भए पनि भित्र अझै त्यो संग्रालिइरहेको रहेछ भन्ने थाहा हुन्छ ।


Views: 77

सम्बन्धित सामग्री:

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)

अयोध्यापुरीको गाम्भीर्यता

: श्रावण २६, २०७७ (१२:१० AM)