15th August | 2020 | Saturday | 7:49:17 AM

सिनेमा घरको मापदण्डको कुरा

  POSTED ON : श्रावण ११, २०७७ (१२:१९ AM)

सिनेमा घरको मापदण्डको कुरा

कोरोनाको प्रभाव सकिएको छैन । सकिनुको सट्टा बढेकै हुनुपर्छ तर परीक्षणमा कमी भएको हो वा अरू कुनै कारणले हो हाल संक्रमितको संख्या कम देखिँदैछ । विपक्षीहरू परीक्षण नभएरमात्र संक्रमित कम देखिएका हुन् भनेर सरकारको आलोचना गरिरहेका छन् । दुईवटामध्ये कि सरकारको कोरोना संक्रमित घटे भन्ने दाबी कि विरोधीको सरकारमाथिको आरोप एउटा सत्य हो । 

हाम्रो सबैभन्दा निकटस्थ छिमेकी भारतमा लगभग एकै दिनमा पचास हजारको संख्यामा संक्रमित भेटिने गरेका छन् तर हाम्रोमा सबैभन्दा धेरै भेटिएका दिन सात÷आठ सयको निकटमा संक्रमित पाइएका थिए । हालका दिनमा त्यो संख्या घटेर प्रतिदिन डेढ दुई सय संख्यामा झरेको छ । भारतमा ठूलो संख्यामा दिनहुँ संक्रमित पाइरहेकै अवस्थामा भातरसँग दोहोरीलत्त आउजाउ हुने हाम्रो देशमा कोरोना संक्रमितको संख्या नबढ्ला भन्न सकिँदैन । 

सुरुमा कोरोना ठूलो हाउगुजी बन्यो । लकडाउन पनि राम्ररी नै भयो तर हाल क्रमशः सबै क्षेत्रका व्यवसाय सञ्चालनमा छुट दिँदै गएको छ । सबै प्रकारका पसलहरू सुचारु भएका छन् । मानिसको बाक्लो भीडमात्र होइन कोचाकोच हुने सार्वजनिक यातायात सञ्चालनमा आइसकेका छन् । 

एकातिर त्यहाँ भौतिक दूरी कायम गर्ने भनेर पनि त्यो सम्भव हुँदै हुँदैन भने अर्कातिर थोरै मानिस बोक्ने भनेर बढी भाडा लिने गरी गरिएको सम्झौता भोलि कोचाकोच मानिस बोक्न थालेपछि घट्ने होइन । बढेको भाडा घटेको इतिहास छैन । यसबाट सर्वसाधारणा जनता नै मारमा पर्ने हुन् । व्यवसायीहरूले त चार महिना खाली बस्नु पनेको अवधिको पैसा चार महिनामा उठाउँछन् नै । जनताको बढी पैसा भने सधैँ गइरहन्छ । 

अब खुल्न बाँकी होटल रेस्टुरेन्ट, शिक्षण संस्थाहरू र मनोरञ्जनस्थलहरू छन् । हालै अर्थ, सूचना तथा सञ्चारमन्त्री नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अब मापदण्ड कायम गरेर सिनेमा घरहरू पनि सञ्चालन गर्न दिन सकिने बताउनु भएको छ । 

मानिसका लागि मनोरञ्जन पनि एक प्रकारले नभइनहुने कुरा हो । कठोर निरंकूशता अपनाउने एकदलीय कम्युनिष्ट पद्धति भएका मुलुकहरूमा पनि प्रतिदिन आठ घण्टा मनोरञ्नका लागि छुट्याइएको हुन्छ । तर, हालको जस्तो महामारीमा विश्व नै प्रभावित बनेका बेला मनोरञ्जन गौंढ विषय बन्न जान्छ । यो मानिसका लागि बाँच्नकै लागि नभई नहुने गाँस, बाँस, कपास जस्तो विषयमा पर्दैन । त्यसैले हाल हतार गरेर सिनेमा घरहरू सञ्चाल गर्नु उपयुक्त होइन । 

पहिलो कुरा त हलमै गएर सिनेमा हेर्ने दर्शकहरू यस्तो बेलामा होलान् वा नहोलान् । तिनको आर्थिक हैसियत हाल खस्केको छ भने कोरोनाको भय छँदैछ । अर्को कुरा हलको मनोरञ्जनको वैकल्पिक उपाय खाजेर मनोरञ्जन लिन नसकिने होइन । घरैमा बसेर रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल आदिको माध्यमबाट भरपूर मनोरञ्जन लिन सकिन्छ ।

भोलि सबै क्षेत्रमा छुट दिँदादिँदै कोरोनाको संक्रमण पुनः भयावह भयो भने त्यसको जिम्मेवारी कसले लिने । सिनेमा हलभन्दा बरु होटल रेस्टुरेन्ट कम जोखिमका क्षेत्र हुन् । सिनेमा हल सञ्चालन नगर्दा सञ्चालकलाई मार परेको छ, यो सत्य कुरा हो । तर हलहरू सञ्चालनमा आए भने त्यसबाट सबै मर्कामा पर्छन् भन्नेतर्फ सोच्नु आवश्यक छ । 


Views: 38

सम्बन्धित सामग्री:

सीमाबारे गृहमन्त्रीको अभिव्यक्ति

: श्रावण २९, २०७७ (११:५७ PM)

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)