15th August | 2020 | Saturday | 8:15:09 AM

कांग्रेसमा अनुशासनको प्रसंग

  POSTED ON : श्रावण १२, २०७७ (११:२३ AM)

कांग्रेसमा अनुशासनको प्रसंग

नेपाली कांग्रेसले अनुशासनको कारबाही गरेर आफ्ना पार्टीका केही नेताहरूलाई निष्काशन गरेको छ । उहाँहरूले गत आमनिर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारहरूलाई पराजित गराउन भूमिका खेलेको कारण देखाएर पार्टीले यस्तो निर्णय गरेको बताइएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले गत शनिबार यस्तो निर्णय गरेको हो । निर्णयानुसार पार्टी नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी र पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा पाँच वर्षका लागि पार्टीबाट निष्काशनमा पर्नुभएको छ । जोशी तनहुँका र ओझा कैलालीका नेता हुनुहुन्छ । 

उहाँहरूमाथि आमनिर्वाचनमा पार्टी उम्मेदवारहरूलाई अन्तर्घात गरी हराएको उुजुरी परेको थियो । पार्टी अनुशासन समितिले उजुरीमाथि छानविन गरी यस्तो निर्णय गरेको हो । जोशीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई र ओझाले पार्टी नेतृ डा.आरजु देउवा राणालाई पराजित गर्न भूमिका खेलेको आरोप लागेको थियो । पार्टी अनुशासन समितिले उहाँहरूलाई स्पष्टीकरण लिएको भए पनि उहाँहरूले दिनुभएको प्रष्टीकरण चित्त बुझ्दो नभएको निष्कर्षकासाथ उहाँहरूमाथि यस्तो कारबाही गरिएको बताइएको छ । 

केन्द्रीय अनुशासन समितिलाई प्राप्त भएका सबुद प्रमाण, अडियो, भिडियोलगायत सामग्रीका आधारमा समेत दोषी देखिनाले उहाँहरूमाथि पार्टीले यस्तो कारबाहीको निर्णय गरेको जानकारी दिइएको छ । 

यसैगरी पार्टी केन्द्रीय समिति सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका पार्टी कार्यालय सचिव रामबहादुर विष्ट पनि कारबाहीमा पर्नुभएको छ । उहाँलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी तीन वर्षका लागि निष्काशन गरिएको छ । 

वर्तमान सन्दर्भमा सबै पार्टीमा कुनै न कुनै रूपमा अनुशासनहीनता बढ्दै गएको छ । नेपाली कांग्रेस पनि अछुतो रहन सकेको थिएन । अझै भन्ने हो भने त नेपाली कांग्रेसमा अनुशासनहीनताको व्यवहार पार्टी स्थापनाकै समयदेखि नै हुँदै आएको हो । ठूलो संघर्ष गरेर ल्याएको २०४६ सालको प्रजातन्त्रपछि लगत्तै नेपाली कांग्रेसमा अन्तर कलह र अन्तरघातको शृंखला सुरु भइहाल्यो । पार्टी अध्यक्ष तथा अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पार्टीकै नेता कार्यकर्ताद्वारा अभियानकै रूपमा लागेर नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मत खसालेर हराइएको धेरैको मनमा स्मरणीय हुनसक्छ । त्यसपछि पनि उहाँलाई उपनिर्वाचनमा उम्मेदवार बनाएर हराउने काम भएको थियो । तर सन्त नेता भट्टराईले यस्ता अन्तरघातीहरू सबैलाई आममाफी दिनुभएको थियो । 

त्यसपछि पनि यो शृंखला रोकिएन । घातअन्तर्घात भई नै रहे । सबैभन्दा पछिल्लो पटक गत निर्वाचनमा त यसले अझै व्यापक रूप लियो । नेपाली कांग्रेस सबैभन्दा ठूलो र ऐतिहासिक पार्टी हुँदाहुँदै पनि गत निर्वाचनमा यसका पराजयका दुईवटा कारण प्रमुख रूपमा देखा परे । 

पहिलो कारण कांग्रेसपछिका दुई ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र स्थानीय तथा संसदीय निर्वाचनसम्ममा पार्टी एकीकरण गरेरै चुनावमा सहभागी भए । यसले नेपाली कांग्रेसलाई निकै अप्ठ्यारो पा¥यो । नेपाली कांग्रेसको पराजयको अर्को प्रमुख कारण आफ्नै पार्टीभित्रको गुटबन्दी हो । पार्टीभित्र महारोगका रूपमा रहेको यो गुटबन्दी पार्टीको प्रगतिको तगारो बनेर तेर्सिएको छ । यो अवस्था हालसम्म पनि छँदैछ । 

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले हालै जुन निर्णय ग-यो यसले विगतका ती शृंखला रोक्ने बाटो बनाउँछ कि बनाउँदैन त्यो फरक विषय हुनसक्छ । तर यस्ता अनेक निर्णयहरू यसभन्दा पहिले नै भइसक्नुपथ्र्यो कि ? पार्टी नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशी पार्टीमा एकै खेमामा रहेर पनि उहाँहरूका बीच चर्को मतभेद छ । कांग्रेसी राजनीतिक द्वन्द्वको खेलमैदान हुँदै आएको छ तनहुँ । पौडेललाई हराउन जोशीको प्रत्यक्ष संलग्नता कति थियो त्यसबारे भविष्यमा खोजी हुने नै छ । तर अहिले पौडेलले जोशीविरुद्ध बाजी मार्नु भएको छ । चाहे जे होस् केन्द्रमा दुईचार जना नेतालाई कारबाही गरेर मात्र नेपाली कांग्रेस पार्टीमा शुद्धीकरण हुने देखिँदैन । तल तृणमूल तहसम्मका अन्तर्घाती नेता तथा कार्यकर्तासम्म अनुशासन उल्लंघनका अनेक उदाहरण पाइन्छन् । सही अर्थमा कांग्रेसलाई सवल र अनुशासित गराउने हो भने अनुशानको विषयलाई अभियानकैरूपमा सञ्चालन गर्नु नितान्त जरुरी छ । 


Views: 81

सम्बन्धित सामग्री:

सीमाबारे गृहमन्त्रीको अभिव्यक्ति

: श्रावण २९, २०७७ (११:५७ PM)

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)