13th August | 2020 | Thursday | 2:17:55 AM

सम्पदा संरक्षणमा गुरुयोजना

  POSTED ON : श्रावण १३, २०७७ (१:११ AM)

सम्पदा संरक्षणमा गुरुयोजना

पशुपति विकास कोषले पाशुपत क्षेत्रको विकासका लागि गुरुयोजना अघि सारेको छ । विभिन्न क्षेत्रको विकासका लागि सबैभन्दा पहिले गुरुयोजना आवश्यक कुरो हो । लुम्बिनीको विकासका लागि जापानी विज्ञ जिंगो टांगेले गुरुयोजना बनाएका थिए । पशुपति विकास क्षेत्रको विकासका लागि वनकाली क्षेत्रलगायतको बस्ती अधिग्रहण गरेको पनि निकै वर्ष भइसकेको छ । तर, त्यस्ता ठाउँमा पार्किङमात्र बनाउनु उचित हुँदैन ।

नेपाल मन्दिरै मन्दिरको देश हो भनिन्छ । यसो भन्नुको आशय नेपालमा धेरै मन्दिर छन् भन्नेमात्र होइन, नेपाल धर्म र परम्परामा विश्वास गर्ने मानिसहरूको बसोबास भएको पावन भूमि हो भनिएको पनि हो । नेपाल आध्यात्मिक क्षेत्र हो, धार्मिक क्षेत्र हो । पूर्वमा मेची नदीदेखि पश्चिममा महाकाली नदीकिनाराहरूमा कुनै न कुनै धाम रहेकै छन् । हिमालका काख, कुण्ड, झरना, थुम्का, गुफा र फेदीहरूमा कुनै न कुनै देवताका थान, तीर्थ वा धाम तथा ऋषिमुनिहरूको तपस्थल रहेको विश्वासमा मेला लाग्ने गरेका छन्, त्यहाँ पूजाआराधना हुने गरेको छ । अग्नि, जल, आकाश, पृथ्वी, वनस्पति आदिको कुनै न कुनै रूपमा पूजा हुँदै आएको छ ।

नेपालका यस्ता धाम, तीर्थ वा आराध्य क्षेत्रमध्ये पशुपतिनाथ प्रमुख छन् । पशुपतिनाथ मन्दिर रहेको क्षेत्र पवित्र पाशुपत क्षेत्रका रूपमा पूज्य छ । साधु, सन्त, महन्त, भक्त र विभिन्न प्रकारका आश्रितहरू यहाँ रहने गरेका छन् । यो शिव मन्दिर हो । भगवान शिवसँग जोडिएका अनेकौं प्रसंगहरू शिव तथा पाशुपत पुराणमा उल्लेख भएको पाइन्छ । 

पशुपतिनाथको वर्तमान गुरुयोजना अनुसार हालको ब्रहृमनाल त्यहाँबाट अन्तै सार्ने तथा आर्यघाट पनि हटाउने भनिएको छ । यसैगरी पशुपति नाथको मूलमन्दिरको पश्चिमढोका पनि हटाएर अर्को बनाउने योजना रहेको छ । 

संसारका सबै कुरा परिवर्तनशील छन् । कुनै पनि कुरा सधैँ एकै स्वरूपमा रहिरहँदैनन् । त्यसकारण यस्ता कुराहरूमा पनि समयानुसार परिवर्तन गर्दै लैजानु उपयुक्त होइन भन्न सान्दर्भिक नहोला । तथापि करोडौं मानिसहरूको आस्थासँग जोडिएको यस्तो पावन क्षेत्रको संरचनास्वरूप परिवर्तन गर्दा एउटा विहंगम दृष्टि पु¥याउँनै पर्ने हुन्छ । पशुपतिनाथ नेपालका मात्र नभएर विश्वभरिकै हिन्दुहरूका आराध्य भगवान हुन् । पाँचमुख भएका र विभिन्न धार्मिक महत्व रहेका पशुपतिनाथलाई आशुतोष भगवान पनि भनिन्छ । 

 मन्दिर परिसरमा पशुपतिनाथको मन्दिरमात्र छैन, यहाँ गणेश, कृष्ण, आकाश भैरब, उन्मत्त भैरब, शेषशायी नारायण, बासुकीलगायत देवीदेवताताहरूका मन्दिर पनि छन् । मन्दिर परिसर बाहिर बिरूपाक्ष, राममन्दिरलगायत पशुपति विकास क्षेत्रभित्र गुहेश्वरी, गौरी, जयवागेश्वरी, पिंगला आदि देवदेवीका मन्दिरहरू पनि छन् । पशुपति विकास क्षेत्रले यस क्षेत्रको बृहत्तर विकासका लागि तयार गरेको गुरुयोजनामा यी सबै देवदेवीको संरक्षणलगायत कैलाशको समेत उचित संरक्षणतर्फ ध्यान जानु आवश्यक छ । 

पशुपतिनाथको दर्शनका लागि नेपाली भक्तजनभन्दा ठूलो संख्यामा भारतीय भक्तहरू आउने गर्छन् । यसका साथै अन्य देशबाट पनि तीर्थाटनका लागि हजारौं दर्शनार्थीहरूको यहाँ आगमन हुनेगर्छ । गुरुयोजनाले यीमध्ये कसैको पनि आस्थामा आघात पुग्नु हुँदैन । सय वर्षसम्मको यो योजना अहिले तुरुन्तै पूरा भइहाल्ने पनि होइन, यो क्रमशः लागू हुँदै जाने हो । यस गुरुयोजनाले निश्चय नै युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको ऐतिहासिक, धार्मिक, आध्यात्मिक तथा पुरातात्विक गरिमालाई अलिकति पनि आँच पु¥याउँदैन भन्ने कुरामा पशुपति विकास कोषले भक्तजनहरूलाई निश्चिन्त गराउन भने सक्नुपर्ने हुन्छ । 


Views: 31

सम्बन्धित सामग्री:

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)

अयोध्यापुरीको गाम्भीर्यता

: श्रावण २६, २०७७ (१२:१० AM)