13th August | 2020 | Thursday | 3:19:23 AM

नयाँ शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम

  POSTED ON : श्रावण १४, २०७७ (१२:१७ AM)

नयाँ शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम

शैक्षिक सत्र २०७७-०७८ कोरोनोका कारणले अनिश्चित रूपमै बितिरहेको छ । नेपालको हालको शिक्षा प्रणालीअनुसार माध्यमिक तहको शैक्षिक वर्ष फरक–फरक समयमा सुरु हुँदै आएको छ । कक्षा १ देखि १० सम्म वैशाखदेखि र कक्षा ११–१२ वा उच्च माध्यमिक तहमा साउनबाट शैक्षिक सत्र सुरु हुने गरेको छ । पहिले कक्षा १० को अन्तिम परीक्षाको परीक्षाफल प्रकाशित हुनुपर्ने र ती विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्नुपर्ने प्राविधिक कारणले यसरी शैक्षिक सत्र दुई पटक कामय गर्नु परेको हो । 

नेपालको हालको शिक्षा प्रणालीबमोजिम विद्यालय शिक्षा दुई तहको छ । कक्षा १ देखि ८ सम्म आधारभूत तह र त्यसमाथि १२ कक्षासम्म माध्यमिक तह मानिएको छ । माध्यमिक तहलाई ९ र १० माध्यमिक र ११ र १२ लाई उच्चमाध्यमिक गरिएको छ । पहिले यही प्रणाली फरक थियो । उच्चमाध्यमिकको व्यवस्था त्यसबेला थिएन । उच्चमाध्यमिकको व्यवस्था २०४६ सालको प्रजातन्त्रपछि गरिएको हो । 

प्रजातन्त्र आइसकेपछि पनि शैक्षिक सत्र फरक दुई समयमा सुरु हुने गरेको थियो । फागुनबाट नयाँ शैक्षिक सत्र लागू हुने गरेको थियो । प्रजातन्त्र आगमनपछि फागुनबाट सुरु हुने शैक्षिक सत्रको थालनी वैशाखबाट हुन थालेको हो । 

यो समय सुगम दुर्गम सबै ठाउँमा सँगै सुरु गरेर एक रूपता कायम गर्ने प्रयासस्वरूप निर्धारण गरिएको हो । कक्षा १० को अन्तिम परीक्षा एसइई चैत महिनामा सकेर दुई महिना त्यसको उत्तरपुस्तिका परीक्षण गर्ने र परीक्षाफल प्रकाशनका लागि निर्धारण गरिएको छ । परीक्षाफल प्रकाशनपछि केही समय विद्यार्थी भर्नाका लागि छुट्याइएको र साउन लागेर कक्षा ११ को पढाइ सुरु हुनेगरी समय मिलाइएको पाइन्छ । 

यो शैक्षिक वर्ष विश्वमहामारीका रूपमा देखापरेको कोरोनाको प्रभावले प्रभावित भएको छ र साविक समयभन्दा साढे तीन महिना बितेर पनि अझै अन्यौलमै छ । विद्यालयहरूको आन्तरिक मूल्यांकनका आधारमै अंक दिएर परीक्षा नलिई कक्षा चढाउने गरी गरिएको यस वर्षको एसइईको परीक्षाफल अब केही दिनमा प्रकाशन गर्ने भनिएको छ । उक्त परीक्षाफल प्रकाशनपछि कक्षा ११ को भर्ना लिने र भर्ना रोकिएका १ कक्षादेखि ९ कक्षासम्मका कक्षाको भर्ना भदौबाट लिएर कक्षा सञ्चालन गर्नेगरी विद्यालयहरूले तयारी गरिरहेका छन् । 

भदौमा सुरु गरिएको शैक्षिक सत्र बीचमा कुनै अवरोध नगरी सञ्चालन गरेको खण्डमा साविक चैत मसान्तसम्ममा पूरा गर्न असम्भव चाहिँ छैन । तर, यसलाई असारसम्म लम्ब्याएर अर्को वर्षदेखि एकै समयमा कक्षा १ देखि १२ सम्मकै एउटै शैक्षिक सत्र बनाए अनुपयुक्त चाहिँ हुने छैन । 

उता समयानुसार परिमार्जन र लागू गर्दै लगिएका पाठ्यक्रम पाठ्पुस्तकहरू विभिन्न कक्षामा फरक–फरक वर्षमा लागू गरिन्छ । यो वर्ष कक्षा १ देखि ३ सम्म तथा कक्षा ११ मा लागू गर्नेगरी निर्धारण गरिएकोमा यस वर्ष अन्यौलता देखिएको छ । तर, कक्षा सञ्चालनको अन्यौल हट्नेबित्तिकै र पठनपाठन सुरु हुनासाथ नयाँ पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्नाले यस क्षेत्रको अन्यौल पनि सँगसँगै हट्न जाने कुरा निर्विवाद छ ।


Views: 73

सम्बन्धित सामग्री:

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)

अयोध्यापुरीको गाम्भीर्यता

: श्रावण २६, २०७७ (१२:१० AM)