15th August | 2020 | Saturday | 7:29:13 AM

थापाको कांग्रेस यात्रा

  POSTED ON : श्रावण १५, २०७७ (१:१८ AM)

थापाको कांग्रेस यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालीन महामन्त्री एवं पूर्वमन्त्री सुनिलबहादुर थापासहित केही प्रभावशाली नेताहरू नेपाली कांग्रेसको झण्डामुनि गोलबद्ध हुनुभएको छ । सुनिल थापाको परिचय अरू पनि हुनसक्छन् तर पितापूर्खाको विरासतले मात्र परिचय खोज्नु वा परिचित भइरहनुको कुनै अर्थ छैन । अब पितापूर्खाका नामबाट कुनै संस्थामा दाबी गर्नु, पारिवारिक लिगेसीको परिभ्रमण गर्दै ती संस्थाहरूलाई आफ्नो बिर्ता सम्झने दिनहरूको अवशान भइसकेको छ । पितापूर्खाका राम्रा वा नराम्रा सबै काम इतिहासको गर्तमा छन् । असल कामहरूलाई जीवनमा आत्मसात् गर्ने र खराब काम छन् भने विस्मृतिमै छोडिदिनु आजको आवश्यकता हो । 

२०१७ सालपछि सूर्यबहादुर थापाले २०४६ सालसम्म लोकतन्त्रविरुद्ध र लोकतान्त्रिक शक्तिविरुद्ध आफ्नो राजनीतिक क्षमताको उपयोग गरेको सत्य हो । त्यस कालखण्डमा सूर्यबहादुरलेमात्रै होइन लोकतन्त्रको आवरणमा अवसरवादको स्मारक बनेका कतिपय हस्तीहरूले समेत उहाँसँगको सान्निध्यमा रहँदै आफूलाई लोकतन्त्रविरुद्ध उपयोग गरिरहेका थिए । तर, २०४६ सालपछि परिवर्तन भएको छ । राजनीतिको मौलोमा क्षमता र योग्यताअनुरूप आरोहण अवरोहणक्रम निरन्तर हुनथालेको छ । यसैकारण अब सुनिलबहादुर थापालाई पिता सूर्यबहादुर थापाको लिगेसीभित्र मूल्यांकन गर्नु अन्याय हुनेछ । 

नेपाली कांग्रेस जस्तो सामन्ती जमिनदारी बिर्ता प्रथाकाविरुद्ध प्रगतिशील सोच र चिन्तनका साथ लोकतन्त्र र समाजवादको सिद्धान्त र कायक्रम बोकेको पार्टीले कुनै पारिवारिक पृष्ठभूमिका आधारमा मानिसको राजनीतिक परिचय गराउने वा खोज्ने प्रयास गर्नु आफ्ना विस्वासमाथि आफैँले घात गर्नु हुनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूले मात्र होइन अरू पार्टी वा संस्थाहरूबाट लोकतान्त्रिक प्रणालीलाई जोगाउन, सबल गराउन र यसैमार्फत राष्ट्रको सुरक्षा र जनताको प्रगति गर्न यदि नेपाली कांग्रेसलाई उचित संयन्त्र ठान्छन् भने उनीहरूको आफ्नै परिचय पृष्ठभूमिमा रहेको हुन्छ । तदनुरूप मूल्यांकन गरिनु उचित हुन्छ ।

२०४६ सालपछि स्थापित राष्ट्रिय प्रजातन्त्र पार्टी विभिन्न चिरामा विभाजित हुँदै अन्तिममा तीनमुखे महादेव हुनपुगेको छ । बहुमुखी नेतृत्व प्रणालीको आविष्कार नेपाल कम्युनिष्ट पार्टीले गरेको भएपनि अहिले अरू पार्टीमा पनि यस परिपाटीको विकास हुँदैगएको छ । त्यो पार्टीका सिद्धान्तहरूप्रति असहमत हुँदै थापासहित धेरै सदस्यहरू कांग्रेसमा समावेश भएपछि कांग्रेस, लोकतन्त्र र देशका लागि कति योगदान पुग्ला त्यो त भन्न सकिँदैन । जनमतको समर्थन भएका वा राष्ट्रिय सन्दर्भमा प्रभाव पार्न सक्नेहरू कति हुनुहुन्छ त्यो परीक्षणको विषय हो । 

नेपाली कांग्रेस विगत लामो समयदेखि महासमुद्र जस्तो भएको छ । अनेक धाराहरू यसमा आउँदै मिसिँदै बिलाउँदै गए होलान् कति धाराहरू पृथक हुँदै बिलाउँदै गए होलान् । अनेक महान् योगदान गर्नेहरू पनि राजनीतिक दाउपेच र चाकाचुलीको खेलमा छायांमा परेका होलान् । जब सत्ता, शक्ति र सम्पत्तिको प्रतिस्पर्धा हुन्छ अनेक विकारहरू थपिन लाग्छन् । 

नेपाली कांग्रेसमा पनि त्यो रोग छ र नै अनेक गुटहरूको खेल निरन्तर छ । जो नेतृत्वमा पुगेका छन् उनीहरू आफ्नो खुट्टामा, पार्टीको भविष्यमा बञ्चरो प्रहार गर्दै स्वार्थको पक्षपोषण खातिर गुटहरूको जन्मदिने, तिनको संरक्षण र प्रबद्र्धन गर्ने काममा तल्लीन छन् । कांग्रेसको आजको नियति हो । त्यसैकारण कांग्रेसको झण्डामुनि गोलबद्ध हुने जसकसैले पनि गुटको पक्षपोषण होइन लोकतन्त्र र कांग्रेसको पक्षपोषणमा क्रियाशील हुनसके प्रवेश सार्थक हुनेछ । 


Views: 207

सम्बन्धित सामग्री:

सीमाबारे गृहमन्त्रीको अभिव्यक्ति

: श्रावण २९, २०७७ (११:५७ PM)

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)