15th August | 2020 | Saturday | 8:41:35 AM

आहत जनताका लागि राहत खै ?

  POSTED ON : श्रावण १६, २०७७ (१:३८ AM)

आहत जनताका लागि राहत खै ?

यतिबेला नेपाली जनता अनेकथरि कहरबाट अहात छन् । एकै पटक तीन चार प्रकारका कहर भोग्नु परेपछि उनीहरू नराम्ररी आहत बन्नु अस्वाभाविक पनि होइन । पहिलो कुरो त विश्वव्यापी महामारी कोरोना अथवा कोविद १९ बाट नेपाली पनि अन्यमुलुकका जनता जसरी नै प्रभावित भएका छन् । यो विश्वको साझा समस्या हो तर यसको प्रभाव सबै देशमा समान रूपमा परेको छैन घटीबढी छ । समस्या एकै प्रकारको भए पनि त्यसको सामना गर्ने साधन र स्रोतका कारणले त्यो बढी घातक र कम घातक बन्न जान्छ । नेपाल सानो र गरिब राष्ट्र भएका कारणले पनि कोराना नेपालीहरूका लागि बढी घातक बन्नपुगेको छ । 

यसको निधानको उपाय त कतै पनि फेला परेको छैन तर निगरानीका लागि पनि नेपाललाई निकै कठिनाइ भइरहेको छ र महँगा उपकरणहरू विदेशबाट ल्याउनुपरिरहेको छ । विकास निर्माणमा लगाउनुपर्ने बजेट क्वारेन्टाइन र स्वाब परीक्षणमा खर्च भइरहेको छ । जनताका सबै प्रकारका आर्थिक सामाजिक गतिविधिहरू ठप्प छन् । 

चार महिनादेखि व्यवसाय बन्द गरेर बस्नुपरेको कारण उनीहरूको दैनिक जीवन निर्वाहका बाटाहरू बन्द भएका छन् । उनीहरू सरकारसँग कुनै राहतको आशामा प्रतीक्षारत छन् तर सरकार आफैँ रित्तिदै गएको छ । कारोनालाई बाहना बनाएर भ्रष्टाचारमा लिप्त सरकार जनतालाई कुनै राहत दिन नसक्ने अवस्थामा पुगेको छ । एकातिर यो एथार्थ हो भने अर्कातिर सरकारले यसलाई बाहना बनाउने मौकाका रूपमा प्रयोग गरिरहेको पनि छ । 

अर्कातिर यही बेला जतततै बाडी, पहिरो र डुवानका घटना पनि भइरहेका छन् ।  यो मनसुनको समय हो । नेपालमा यही बेला बढी वर्षाद हुने गर्छ । पहाडी भिरालो जमिन भएको कारण पहिरो र बाडीले नेपालका भिराला र खोलाका छेउका बस्तीहरू प्रभाभित बन्ने गरेका छन् । नेपालको कूल भूभागको थोरै वा १७ प्रतिशत भूमि समथर तराई पनि छ । 

तर, यहाँ जम्मा जनसंख्याको आधाभन्दा बढी मानिस बसोबास गर्ने गरेका छन् । हिमालको फेदीदेखि आएको बाडीबाट तराई नराम्ररी प्रभावित बन्ने गरेको छ । पानी, माटो, लेदो र रोडाबालुवाहरू पहाडदेखि बगेर आउनाले तराईमा डुवान हुने गर्छ ।  यसरी देशैभरिका जनता बाडी पहिरो र डुवानबाट यस समयमा नराम्ररी प्रभावित बन्नपुग्छन् । ज्यान जानु, धनसम्पत्तिको क्षति हुनु, विस्थापित बन्नु जस्ता कारणले प्रभावित जनता सरकारका मुखापेक्षी बन्नु स्वाभिविकै हो । सरकारबाट राहतको आशामा ती आफ्ना पीडाका आँसु पुछिरहेका छन् ।

 उता सरकार आफ्नै आँङको लुतो कन्याउने र जनताका आँखामा मोतिबिन्दु लागेको भाषण गरेर आत्मरतिमा रमाइरहेको छ ।  सरकारका मन्त्रीहरूका भाषणबाट जनताको राहतको आशामा आहतमात्र थपिएको छ । हालका दिनमा यी दुई कहरका साथै नेपाली जनतामा कोरोनापछि निम्तिएको अवस्थाले  अर्को कहरको वातावरण निम्त्याएको छ । सबै नेपाली घरैमा छन् । काममा जान पाएका छैनन् । धेरैको काम पनि अब छुटिसकेको अवस्था छ ।  कामका अवसरहरू पनि कम भएका छन् । अबको वैकल्पिक बाटो तिनीहरूले पहिल्याउन सकेका छैनन् ।  

सरकार पनि मूकशैयामा सुतिरहेका छ । यस्तो कारुणिक अवस्थामा केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले तिनका लागि केही न केही सोच्नुपर्ने होइन र ! नत्र कसरी जनताले आफ्नो मतबाट बनेका यी तीन बतहका सरकारको उपस्थितिको अनुभूति गर्ने !  


Views: 57

सम्बन्धित सामग्री:

सीमाबारे गृहमन्त्रीको अभिव्यक्ति

: श्रावण २९, २०७७ (११:५७ PM)

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)