26th September | 2020 | Saturday | 8:12:19 PM

बीपी कोइराला विचार कि व्यवहार ?

  POSTED ON : भदौ २४, २०७७ (१२:२२ AM)

बीपी कोइराला विचार कि व्यवहार ?

बीपी कोइरालाको जन्मजयन्ती, राष्ट्रिय एकता तथा मेलमिलाप दिवस र स्मृति दिवस तीन दिनसम्म नेपाली कांग्रेसका सदस्य र कार्यालयहरूले मनाउने प्रचलन छ । करिब ३६ वर्षयता बीपीको जन्मजयन्ती र स्मृति दिवस, चारदशक यता राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा बीपी कोइरालाका विचारहरूको विश्लेषण, संश्लेषण हुने गर्दछ । ती दिनमा बीपीका विचारहरूको कार्यान्वयन हुन नसकेको, पार्टी र सदस्यहरूले ध्यान नदिएको, विधि र व्यवहार केही नभएको अनेक चर्चा हुने गरेका छन् । नेपालको सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा सबैभन्दा पहिले बीपी कोइरालाले नै गर्नु भएको हो । 

उहाँले परिभाषित गर्नुभन्दा पहिले यी विषयहरू नेपालको सीमाभित्र प्रवेश नै गरेका थिएनन् । एक सय चार वर्षसम्म राणा परिवारले सत्ता चलाएको समयमा संसारमा कुनै महान् वैचारिक परिवर्तनहरू भएका थिएनन् । प्रजातन्त्रको जननी बेलायतमा समेत महिलामा मतदानको अधिकार पुगेको थिएन । स्वतन्त्रता, समानताका सिद्धान्तहरूको प्रतिपादन भए पनि ती व्यवहार वा आचरणमा कतै थिएनन् । भारतीय स्वतन्त्रता आन्दोलन र गान्धीको सत्याग्रह आन्दोलनले यस क्षेत्रमा हलचल पैदा हुन थालेपछि नेपाली युवाहरूमा समेत राजनीतिप्रतिको आकर्षण बढ्न लागेको देखिन्छ । धेरैजसो युवाहरू माक्र्सवादतिर आकर्षित हुँदै थिए । 

तर, गान्धीको विचार र सत्याग्रहको आन्दोलनले स्वतन्त्रताविहीन समाजवादको निरर्थकता बोध गराउन लागेपछि बीपी कोइरालासहित अनेक नेपाली राजनीतिक चेतनाले भरिएको युवापंक्ति उत्प्रेरित हुनथालेको थियो । यो समय करिब आठ दशक पुरानो हो । अब परिवर्तनका अनेक पक्षहरू, स्वरूपहरू देखिन लागेका छन् । तर नेपालका सन्दर्भमा आठ दशक पहिले परिभाषित गरिएका राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल्यहरूको विचार उत्तिकै महŒवपूर्ण छ । अर्थात् बीपीले नेपालका लागि परिभाषित गरेका विषयहरूको सान्दर्भिकता यथावत् छ ।

परिवर्तनको जग बसाउने नेताहरूका योगदानको फल खाएर बसेको वर्तमान नेपाली समाज भने ती नेताहरूप्रति सहिष्णु हुन सकेको छैन । राष्ट्रियताको परिभाषा गर्ने र व्यवहारमा लागू गर्न प्रयास गर्ने बीपी कोइरालालाई राजाका समर्थकहरू, निर्दलीय पञ्चहरू अनि नेपालका तथाकथित प्रगतिशील वामपन्थीहरूले सदाकाल अन्तर्राष्ट्रिय तŒव, भारतीय वा अमेरिकी दलाल, विस्तारवादको समर्थक, राष्ट्रघाती जस्ता अनेक शब्दावलीले अपमानित गर्ने क्रम आज पनि रोकेका छैनन् । लोकतन्त्रको उज्यालो किरण नेपालमा प्रवेश गराउने हुन् कि शोषित, पीडित जनताका पक्षमा समानताको सिद्धान्तका साथ सामाजिक आर्थिक रूपान्तरणको प्रयास गर्ने गरेका हुन् तिनै बीपीलाई तेजोबध गर्दा यहाँका अनेक बुद्धिजीवीहरू गर्वबोध गरिरहेका हुन्छन् । 

तर, बीपी कोइरालाको वैचारिक योगदान हिमालय जस्तै अटल छ । समाजवादको परिभाषा स्वतन्त्रता थप नभएको भए लोकतन्त्र नेपालीका लागि एकादेशको कथामा अनुवाद हुने थियो । समाजवादको तृष्णा पाल्नेहरूले देखिरहेको वर्ग संघर्षको सपना आज कतै न कतै रहेको अवस्थामा बीपीले पनि समाजवादमा स्वतन्त्रता नजोड्नु भएको भए यो समाजको रूप कस्तो हुने थियो होला कल्पना बाहिर छ । तर, हामी अचम्मका छौं । जसले परिवर्तनको नायकत्व गरेको छ त्यसको अपमान गर्न हामी सक्रिय हुने गर्दछौं । देश र जनताका लागि मरिमेट्ने सहिदहरू कुनै पार्टी विशेषका मात्र मानिने गरेका छन् । विचारका नायकहरू सिंगो देशको हुनुपर्ने थियो । 

बीपी कोइरालाको कमसेकम जन्मजयन्ती राष्ट्रले नै मनाउनुपर्ने थियो । सरकारले नै बीपी कोइरालाको सम्मान गर्नुपर्ने थियो । तर, नेपाली कांग्रेस पार्टीलेमात्र बीपीलाई आफ्ना आदर्श मानिरहेको छ । के बीपी कोइरालाका विचारहरू कांग्रेसका लागिमात्र थिए कि सम्पूर्ण नेपालीका लागि ? सम्पूर्ण नेपालीहरूका लागि थिए भन्नेमा कुनै विवाद छैन । तर, कांग्रेसले बीपीलाई सम्झने अनि अरूले पूर्ण वेवास्ता गर्ने किन त ? जन्मजयन्तीका अवसरमा विचारका नायक बीपीप्रति हामी यिनै शब्दका साथ श्रद्धासुमन व्यक्त गर्दछौं । 


Views: 133

सम्बन्धित सामग्री:

यार्चामा पनि कोभिडको प्रभाव

: आश्विन ८, २०७७ (८:१८ AM)

रेल सेवाको यथार्थता

: आश्विन ७, २०७७ (७:२३ AM)