28th September | 2020 | Monday | 9:59:42 PM

सहजीकृत निषेधाज्ञामा जनताका दैनिकी

  POSTED ON : भदौ २६, २०७७ (१२:४६ AM)

सहजीकृत निषेधाज्ञामा जनताका दैनिकी

जारी निषेधाज्ञामा सरकारले सहजीकरण गरेको छ । निषेधाज्ञा हटाएको छैन जनताका दैनिकीलाई सहज बनाएको मात्र हो । श्रमजीवीहरूको जीवन कष्टकर बन्दै गएकाले सहज बनाइएको हो, निषेधाज्ञा अझै जारी छ । यो सहजताले अभाव भोगिरहेको मानिसले खल्तीमा पैसा भएका खण्डमा घरबाहिर गएर सामान किनेर ल्याउन पाउने भयो । निषेधाज्ञा जारी भएको अवस्थामा भोगाई र प्रक्रिया नबुझेर धेरैले दुःख पाए । यस्तो अवस्थामा घरबाहिर निस्कनु हुँदैन भन्ने बुझेनन् र जरुरी काम नभए पनि बाहिर निस्किए । अनि ती जरुरी कामले हिँडेका हुन् वा होइनन् भन्ने मापनयन्त्र प्रहरीसँग सोधपुछमात्र हो । 

जरुरी काम भएका र नभएकाले बताउने समस्या एकै प्रकारको भयो । प्रहरीको नजरमा एकै खालका देखिए र एकै प्रकारको सजाय पाए । कि तातो घाममा दिनभरि बाटामा ठिंग्याइए कि कान समातेर उठबसमा परे । यसो गर्दा कोरोना नसर्ने बुझाई भएरमात्र होइन तिनलाई सम्भवतः त्यही प्रकारको निर्देशन थियो होला । अथवा ड्युटीमा रहेको प्रहरीको स्ववीवेकीय निर्णय थियो । त्यसो पनि हुनसक्छ त्यसबाट आहत व्यक्ति अझै आहत बन्न पुग्यो । उसले पाएको शारीरिक सजाय राहत बन्न सकेन । 

उसको जरुरी काम छुट्यो । कोरोना पनि पर भागेन । छोरी कुटेर बुहारी तर्साउने प्रहरीको नीति हो भने यो संकटमा आहत बनेर खानेकुराको जोहो गर्न हिँडेको व्यक्तिलाई मर्माहत बन्न पुगेन होला र ? राहतकोे सट्टा आहत ! हो, अब निषेधाज्ञा खुकुलो भएको छ । यसो भन्नुको मतलव जरुरी काममा निस्कन पाइने भयो । तर, यसो भन्दैमा खोरबाट छोडेका बाख्रा दौडेर बाली चर्न पुगेको जस्तो व्यवहार गर्नु हुँदैन भन्ने कुरामा नागरिक चनाखो हुनुपर्छ । पहिलो चरणको लकडान हटाएर सरकारले साउनमा केही जनजीवन सहज बनाएको थियो ।

एकातिर नागरिकको दैनिकीमा सहजता त पैदा भयो अर्कातिर कोरोनाको संक्रमण समुदायस्तरसम्म फैलियो । बाध्य भएर सरकारले फेरि निषेधाज्ञा जारी ग¥यो । त्यही सहज बनेको अवस्थामा सरकारले नागरिकहरूसँग कर उठायो र राष्ट्रको अप्ठ्यारो आर्थिक अवस्थालाई केही सहज बनायो । अहिले त त्यस बेलाभन्दा असहज स्थिति छ । आर्थिकले र कोरोना संक्रमणले पनि । यो भनिरहनु पर्दैन केही दिनको खुकुलिएको यो निषेधाज्ञा पुनः छिट्टै कसिलो हुन्छ । यस बीचमा कोरोनाको संक्रमण भयावह रूपमा फैलिने सम्भावनालाई नकार्न मिल्दैन । त्यसैले सकेसम्म घरबाहिर ननिस्कनु राम्रो हो । निषेधाज्ञा खुकुलो हुनु भनेको कोरोनाको संक्रमण कम हुनु वा हुँदै नहुनु भन्ने बुझ्नु गलत हुन जान्छ । 

यो संकटको समय हो । यस्तो बेलामा अति आवश्यक नुन, तेल, खाद्यान्न, ग्यासबाहेक लुगा कपडा, शृंगारका सामान, विलासीका सामग्री आदितिर आकर्षित हुनु सर्वथा अनुचित हुन्छ । कोरोना सरकार वा अन्य कुनै व्यक्ति वा निकायको राजनीति हो भने त्यसको खोजी हुनुपर्छ, होइन भने त यसको पालना गर्नुको विकल्प हामीसँग छैन । महामारीबाट बच्नु छ, त्यसैले सावधानीका निर्दिष्ट नियम पालना गर्नु बुद्धिमानीपूर्ण कार्य हुनजान्छ । 


Views: 84

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)