26th September | 2020 | Saturday | 9:46:09 PM

घरधनीका समस्या

  POSTED ON : भदौ २८, २०७७ (१२:०३ AM)

घरधनीका समस्या

उतार चढाव प्रकृतिको नियम नै हो । सम्भवतः यही नियमअनुसार नेपालको राजधानी काठमाडौं उपत्यका एकदशकअघि अकल्पनीय ढंगले देश विदेशका मानिसले भरिएको थियो । शान्ति प्रक्रियाको थालनी पहिलेको आतंकमा परेकाहरूले, गाउँघरमा भयग्रस्त जीवन बिताइरहेकाहरूले आफ्नो धेरथोर सम्पत्ति राजधानीतिर नै सारे । राजधानी भरिभराउ भयो । जगगाजमीनको भाउ, घर निर्माणको चटारो उत्कर्षमा पुग्यो । यसको ठीकविपरीत परिस्थिति अहिले सिर्जना भएको छ । दिनप्रतिदिन राजधानी रित्तिँदै छ । कोरोना महामारीले सबै प्रकारका व्यवसाय बन्द भएका छन् । यातायात व्यवसाय बन्द हुनाले तिनमा काम गर्ने चालक सहचालक गाउँ फर्किएका छन् । स्वभावतः चालक सहचालकहरू गाउँघरकै श्रमजीवी बढी थिए । 

सडक किनाराका खाना पसल (स्ट्रिटफुड) चलाउनेहरूमा गाउँघरबाट आएकाकै बाहुल्य थियो । हालका दिनहरूमा मानिस घरैभित्र बसिरहेका हुनाले यस प्रकृतिका व्यवसायहरू ठप्प छन् । त्यसकारण यस्ता व्यवसायीहरू आआफ्नै गाउँ फर्किएको अवस्था छ । सानातिना कस्मेटिक, ब्युटिपार्लर, सैलुन, तरकारी, भोजनालय, चिया पसल सञ्चालन गर्नेहरू गाउँघरबाट आएका मानिस नै थिए । अहिले ती यहाँ कुनै विकल्प नदेखेर आफ्नै गाउँघर गएको अवस्था छ । यस्तै सानातिना व्यापारव्यवसाय गरेर भएपनि आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिने सपना बोकेका अभिभावकहरू लामो समयसम्म विद्यालयहरू सञ्चालनमा नआउनाले गाउँ फर्किन बाध्य भएका छन् । यतिमात्र होइन भारतबाट आएर राजधानीका विभिन्न ठाउँमा डुलेर व्यापार गर्नेहरू अहिले यहाँ छैनन् । 

निर्माणकार्यमा संलग्न मजदुरहरू हाल त्यस्ता काम बन्द रहेकाले घरजान बाध्य छन् । कतिपय ठूला खालका डिपार्टमेन्टल स्टोर, थोक पसल, स्टार होटल, विद्यालय र कलेजमा काम गर्नेहरूको अवस्था यस्तै हो । हाल काठमाडौं उपत्यकामा अस्थायी रूपमा बसोबास गर्दै आएका लगभग १८ लाख मानिस गाउँ फर्किसकेको अनुमान गरिएको छ । यीमध्ये १० लाखले सधैंका लागि उपत्यका छोडेका सम्भावना छ । यसले गर्दा सानोतिनो पुँजी लगानी गरेर भाडा केन्द्रित मानसिकताले बनाइएका अधिकांश घर खाली भइसकेका र धमाधम खाली हुने क्रममा छन् । ती सबैले आफ्नै पुँजीले घर बनाउन सकेका होइनन्, ऋण लिएरै बनाएका हुन् । 

ऋणको भारी बोक्न विवश घरधनीहरू बैंक र सहकारीको दबाबमा एकातिर छन् भने अर्कोतिर घरभाडा नआउनाले त्यस्तो ऋणको सावाँ र व्याज तिर्ने क्षमता तिनीहरूसंग छैन । राजधानीका घरमालिकहरूको विल्लीवाठ हुन लागेको अवस्था छ । हाल जताततै ‘कोठा खाली’ भन्ने सूचना देखिन्छ । यसबाट यहाँका घरधनीहरूको दयनीय अवस्थाको मार्मिक चित्र सामुन्ने आउँछ । घर भाडामा लगाएर गुजारा गर्दै आएकाहरू अब कसरी जीवन निर्वाह गर्लान् भन्ने अहम् प्रश्न खडा हुन पुगेको छ । हिजो गरीबीका कारण कठोर श्रममा बाँच्न विवशहरू बरू गाउँमा गएर आफ्ना पाखारेखा चासेर खालान् । उनीहरूकालागि शहर विकल्प हो रोजगारीको । तर विकल्पहीन अवस्थामा देखिएका तर यहाँका धनी भनिएका घरधनीहरूलाई बढी समस्या पर्ने अवस्था देखा परेको छ । कतिले पहिलेभन्दा घटेर भाडामा लगाएका छन् भने धेरैजसो बसिरहेका मानिस त्योभन्दा सस्तोमा कोठा पाएर सरिरहेका छन् । कोठा छोडेर गाउँ जानेहरूले भाडा नतिरी हिँडेका घटनाहरू प्रशस्त छन् । कतिपय घरधनीहरूले पाँच छ महिनादेखि भाडा पाएका छैनन् र विचल्ली हुदै गएको छ । जसले तिरेका छैनन् उनीहरू अपवाद वाहेक वेइमान होइनन् । कतिपय श्रमजीवीहरूले कार्यरत संस्थाबाट पारिश्रमिक पाएका छैनन् । तिनीहरूकालागि रोजगारी निल्नु न ओकल्नु जस्तो हुनपुगेको छ ।

सरकार कोठाभाडा नलिनु भन्ने आदेश गर्छ तर यहाँका घरधनी र श्रमजीवी दुवैका समस्याप्रति वास्ता गर्दैन । सरकारको प्रष्ट कर नीति छैन, मानिसको आर्जन हेरेर तिनलाई करको दायरामा ल्याउन सकेको छैन । लकडाउन भइरहेका बेला अघोषित रूपमा त्यसलाई हटाएर गत साउन महिनामा कर उठाउनकै लागि मालपोत, बैंक आदि सञ्चालनमा ल्यायो । केही हप्ता चलाएर कोरोना फैलियो भनेर फेरि निषेधाज्ञा जारी ग¥यो । हालको निषेधाज्ञा खुकुलो बनाइनुको उद्देश्य पनि यही हो । बैंक खोलेर ऋणीहरूसँग हर्जनासहित सावाँ व्याज असुल गरिँदै छ । जनतासँग कर लिइँदैछ । यस्तो अप्ठ्यारो बेलामा सरकारको नागरिकप्रति कुनै दायित्व छैन ? छ भने खै त त्यो दायित्व पूरा गरेको ? खै त नागरिकहरूले सरकार छ भन्ने अनुभूति गर्न पाएको ? सरकार यस्ता जनविरोधी व्यवहार वन्द गरी नागरिकप्रति जवाफदेही बनोस् हाम्रो आग्रह यही नै हो ।


Views: 81

सम्बन्धित सामग्री:

यार्चामा पनि कोभिडको प्रभाव

: आश्विन ८, २०७७ (८:१८ AM)

रेल सेवाको यथार्थता

: आश्विन ७, २०७७ (७:२३ AM)