26th September | 2020 | Saturday | 7:34:10 PM

नेपालमा प्रजातान्त्रिक निर्वाचनको नियति

  POSTED ON : भदौ २९, २०७७ (८:२३ AM)

नेपालमा प्रजातान्त्रिक निर्वाचनको नियति

उचित रूपमा निर्वाचनलाई सम्पन्न गर्नसकेमा भ्रष्टाचार हुने थिएन भन्ने नेपालका प्रथम राष्ट्रपतिको भनाइप्रति आजका प्रत्येक राजनीतिक दलहरूको ध्यान जानु जरुरी छ । प्रजातन्त्र नेपाली जनताको चाहना हो । यसैका लागि धेरैले ज्यानको बलिदान गरे । राणा शासनकालभन्दा अगाडि यस प्रकृतिको निर्वाचन थिएन र नै कुनै चुनावी विवाद र लडाइँ भएन । राणा शासनको पछिल्लो चरणबाट नेपाली जनताले प्रजातन्त्रको माग गर्न थालेका हुन् । चन्द्रशमशेरको शासनकालको प्रारम्भमा कृष्णप्रसाद कोइराला र उत्तराद्र्धमा कृष्णलाल अधिकारी, तुलसीमेहर श्रेष्ठहरूले प्रजातन्त्रको लागि प्रत्यक्ष वा परोक्ष रूपमा आवाज उठाए ।

सम्वत् १९९७ को घटनामा चर शहीदको बलिदान नेपालको इतिहासको स्थापत्य बन्यो । २००७ सालको आन्दोलनमा अनेक सपूतहरूले जीवन उत्सर्ग नगरेका भए राणा शासनको अन्त्य हुन्थ्यो वा हुँदैनथ्यो कल्पनाको विषय हो । 

नेपालमा यसपछिका विभिन्न प्रजातान्त्रिक निर्वाचन भए । ०१५ को निर्वाचनबारे त्यति प्रश्न उठेक छैनन् । ०४८ को निर्वाचन पनि निकै सफा नै थियो । तर विस्तारै चुनाव आर्थिक चलखेल र बाहुबलीको प्रभावमा पर्न लाग्यो । दलहरू आफूहरूबाट नै चरम धाँधली, बाहुबलको प्रयोग तथा पैसाको व्यापक अपचलन हुँदै आएको छ । प्रथम राष्ट्रपति महामहिम डा. रामवरण यादवले यही विषयलाई लक्षित गरेर निर्वाचन धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्छ भन्नु भएको हुनुपर्छ । हुन त प्रजातन्त्र संसारकै सबैभन्दा उत्कृष्ट शासन पद्धति हो तर यसो भन्दैमा यो नै निर्विकल्प हुनसक्ला वा नसक्ला त्यो पनि तर्क गर्न सकिने विषय हो । किनभने संसारका धेरै देशले जनअधिकार नदिएर निरंकुशताकै माध्यमबाट आफ्नो देशको उन्नति गरेका छन् । मूल्यअनुरूप लोकतान्त्रिक प्रणाली सञ्चालन गर्न सकेमा मात्र यो उत्कृष्ट पद्धति प्रमाणित हुनसक्छ । 

प्रजातन्त्रको अनिवार्य सर्त नै आवधिक निर्वाचन हो तर यसको सञ्चालन प्रक्रिया गलत भयो भने यसका खराबीमात्र उजागर हुन्छन् । गलत तरीकाबाट भएको निर्वाचनबाट छानिएको नेता गलत प्रवृत्तिकै हुन्छ र त्यसले राष्ट्रका लागि कुनै रचनात्मक योगदान गर्न सक्दैन । त्यस्ता नेताले निर्वाचनमा बाहुबलको प्रयोग गरेको हुन्छ । त्यसका लागि उसले आपराधिक स्वभावका कार्यकर्ताहरू परिचालन गर्नुपर्छ र तिनको संरक्षण र पालनपोषणमा ठूलो धनराशिको प्रयोग हुन्छ । त्यस्ता नेता निर्वाचित भएपछि तिनको ध्यान आफ्नो खर्च भएको रकम असुल्नतिर मात्र हुन्छ र तिनले चरम भ्रष्टाचार गर्छन् । राष्ट्र र जनताको उत्थानतर्फ तिनले कुनै ध्यान दिँदैनन् । त्यो तिनीहरूको लक्ष हुँदैन । 

सञ्चालन प्रक्रियाको उदाहरणमा नै प्रजातन्त्रको लोकप्रियता भर पर्छ । महामहिम प्रथम राष्ट्रपतिको संकेत यसतर्फ नै हुन सक्छ । उहाँले प्रजातान्त्रिक विधिमा सुधारको आवश्यकता औंल्याउनु भएको छ र प्रजातान्त्रिक प्रणालीमा सुधार गर्दै लैजान जनताको पनि रचनात्मक सहयोगको आवश्यकता छ भन्नु भएको छ । सुशासनको आधार तयार गरिनुपर्ने र यसका लागि दलहरू गम्भीर हुनुपर्ने सुझाव उहाँले दिनुभएको छ । उहाँका यी अभिव्यक्तिबाट प्रजातन्त्रका संवाहक र सञ्चालकहरूले धेरै कुरा सिक्न सक्नेछन् । नेपालको प्रजातन्त्रको मर्म बुझ्नुभएका उहाँजस्तो व्यक्तिबाट आएका यस्ता सुझावहरू नेपाली राजनीतिज्ञहरूका लागि प्रेरणापद बन्न सक्नेछन् । नेपालको लागि प्रजातन्त्र अपरिहार्य छ तर यसको विधि र प्रक्रियामा देखिएका कमीकमजोरीबाट यसप्रति नै मानिसको दृष्टिकोण फरक पर्न गएको पाइएको छ । 

प्रजातन्त्र ल्याउन उल्लेख्य भूमिका खेल्ने जनताहरूमै विभिन्न प्रकारको नैराश्य पैदा हुनु निश्चय नै प्रजातन्त्रले सही मार्ग तय गर्न नसक्नु हो । नेपालको हालको शासकीयशैली र चरित्र लगभग असफल भइसकेको तर्क चौतर्फी रूपमा उठ्न थालेको छ । विकल्पमा अर्को मोडलको प्रजातन्त्रको खोजी हुनुपर्छ भन्ने आवाज उठ्ने गरेको छ । राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले सुरुदेखि नै नेपालले संघीयता धान्न सक्दैन भन्दै आउनु भएको कुरा अहिले प्रखर हुँदै गएको देखिन्छ । यसका कारक नाममा साम्यवादी र काममा सकेसम्म बढी सुविधा भोग गर्ने वर्तमान राज्य सञ्चालकहरू नै हुन् । त्यसैले संघीयता बद्नाम हुनुपहिले नै प्रथम राष्ट्रपति डा.यादवले भन्नु भएझैँ निर्वाचन प्रक्रियामा सुधार आवश्यक भइसकेको छ । 


Views: 56

सम्बन्धित सामग्री:

यार्चामा पनि कोभिडको प्रभाव

: आश्विन ८, २०७७ (८:१८ AM)

रेल सेवाको यथार्थता

: आश्विन ७, २०७७ (७:२३ AM)