26th September | 2020 | Saturday | 9:19:16 PM

प्राकृतिक प्रकोपमा देश

  POSTED ON : भदौ ३०, २०७७ (८:०२ AM)

प्राकृतिक प्रकोपमा देश

२०७२ सालको महाभूकम्पदेखि पीडित सिन्धुपाल्चोक यसबाट बाढी पहिरोबाट झन् बढी पीडित बन्न पुगेको छ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर पनि त्यहाँ मानवीय क्षति कम र सिन्धुपाल्चोकमा बढी हुनुबाट भौगोलिक बनोट कमजोर भएकाले हो कि भन्ने अनुमान गर्न सकिन्छ । उक्त भूकम्पको मूल कम्पनपछिका पराकम्पनबाट त्यहाँ केही मानिसको ज्यान गयो । यसवर्ष सिन्धुपाल्चोकमै बाढीपहिरोबाट जनधनको धेरै क्षति भइरहेको छ । हुन त सिन्धुपाल्चोकको मात्र होइन देशभरिका पहाडी क्षेत्रको भौगोलिक अवस्थिति यस्तै छ । 

प्रकोपको कुनै समय, याम वा ऋतु हुँदैन । त्यसको स्वरूपमात्र फरक हुने हो । हिउँद महिनामा आगलागीको प्रकोप हुन्छ, वनजंगलमा डढेलो लाग्छ । बर्खा बाढीपहिरो र डुबान हुनेगर्छ । यी सबै कारणले वर्षेनी सयौं मानिसको ज्यान गइरहेको हुन्छ । यसवर्ष बेलैमा पानी पर्नाले खेतीपातीमा सजिलो भयो । यसले प्राकृतिक प्रकोप भने बढिरहेको छ । प्रकोपबाट हुने दुर्घटना मानवीय नियन्त्रणमा हुँदैनन् तर पूर्वसावधानीले कम गर्न सकिन्छ । प्रसंग सिन्धुपाल्चोकको पहिरोको हो । बाढी पहिरोका  प्रकोपबाट सिन्धुपाल्चोक बढी प्रताडित बन्दै आइरहेको छ । 

पहाडी क्षेत्रमा अग्लाअग्ला पहाडका बीचको खोंच तथा भिरालो ठाउँहरूमा बस्ती बसेका छन् । धेरैजसो बस्ती नदी किनारामा छन् । यस्ता बस्ती वैज्ञानिक निरीक्षण र अनुसन्धानविनै बसेका छन् । गाउँलेहरूले आफ्नो खेती, चरन, खर्क वा यस्तै सन्धिसर्पन हेरेर मानिसहरू बसेका छन् । कुनै सरकारी योजना वा बस्ती विकास नीतिअनुरूप स्थापना भएका छैनन् । यसकारण दुःखान्त घटना हुने गरेका छन् । यस्ता घटना मानिसले जबर्जस्ती प्रकृतिमाथि विजय गर्न खोजेकाले सिर्जना भएका हुन् । प्रकृति मानिसले नै बिगारेको छ, खल्बल्याएको छ । क्षतिको मुख्य कारक प्रकृतिभन्दा मानिस आफैँ हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागपुजे घुम्थाङको सिंगो गाउँ पहिरोमा परिणत भएको र तीस जनाभन्दा बढीको ज्यान गएको घटनाले गाउँघरको जोखिमपूर्ण बसोबासको चित्र उतारेको छ । केही दनि पहिले पनि सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमै प्रकृतिको विनाशकारी पहिरोबाट धेरैको ज्यान गएको थियो । वाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ को खोला किनारको बस्ती बाढीले बगाउँदा धनजनको क्षति भएको धेरै भएको छैन ।  बारम्बार दोहोरिइरहने यस्ता प्राकृतिक प्रकोपबाट हामीले अझै पाठ सिकेका छैनौँ । 

 विकसित देशहरुमा भूवनोट, माटो आदिको जाँच गरेर बस्ती तथा खेतीयोग्य जग्गाजमिनको पहिचान गरी योग्य ठाउँमा मात्र बस्ती बसाउने गरिन्छ । त्यसको निर्धारण सरकारले गरिदिन्छ र बस्न अनुमति दिन्छ, नगर तथा ग्रामीण बस्ती योजनाहरू बन्छन् । रुखासुखा र थोरै भिरालो परेका तर बाढीपहिरोले असर नपार्ने ठाउँमा बस्ती बसाइन्छ । मलिला, उब्जाऊशील, टार, बेंसीजस्ता ठाउँमा खेती गर्ने गरिन्छ । हाम्रोमा भने त्यस्तो कुनै वैज्ञानिक परीक्षण हुन सकेको छैन । मानिसहरू जहाँ मनलाग्यो त्यहीँ बस्ने गर्छन् । भूवैज्ञानिक, भूगर्भविद् तथा माटो विशेषज्ञहरूबाट जाँच गराएर बस्ती व्यवस्थित गर्न हाम्रोमा ढिलो भइसकेको छ ।  खेती तथा बस्ती क्षेत्र पहिचान गरी योजनाबद्ध ढंगले बस्ती बसाउन सके बाढी, पहिरो र डुबानबाट हुने यस प्रकारका घटनाहरूमा कमी ल्याउन निश्चय सकिने थियो । तर सरकार र योजनाविद्हरुमा यसवारे खासै दृष्टि पुगेको छैन जुन दुःखद् हो ।


Views: 41

सम्बन्धित सामग्री:

यार्चामा पनि कोभिडको प्रभाव

: आश्विन ८, २०७७ (८:१८ AM)

रेल सेवाको यथार्थता

: आश्विन ७, २०७७ (७:२३ AM)