26th September | 2020 | Saturday | 10:11:53 PM

विदेशमा नेपाली महिलाको दुरावस्था

  POSTED ON : भदौ ३१, २०७७ (८:२७ AM)

विदेशमा नेपाली महिलाको दुरावस्था

नेपालका हजारौं युवायुवती विदेशमा अनेक खाले श्रम गर्न बाध्य छन् । राष्ट्रको लागि काम गर्न सक्ने यस्तो जनशक्ति विदेशिनाले बालबालिका र बुढाबुढीमात्र बाँकी रहेको अवस्था नेपालले भोग्दै आएको छ । राम्रो कमाइ हुने आसमा, स्वदेशमा काम नपाएर बाध्यताले अथवा  केही व्यक्ति यहाँ असुरक्षित महसुस गरी बाहिर सुरक्षित हुने कारणले विदेशिने गरेका छन् । पछिल्ला वर्षहरूमा यसरी बाहिरिनेहरूमा महिलाहरूको संख्या निकै बढेको पाइन्छ । विदेशी भूमिमा आफ्नो देशमाभन्दा बढी नै समस्या आइपर्नु स्वाभाविक मानिन्छ । श्रमिकका रूपमा जाँदा त झनै समस्या पर्ने नै भयो त्यसमा पनि पुरुषहरूका तुलनामा महिलाहरूलाई अझै बढी समस्या हुन्छ नै । 

यस्ता समस्याहरूलाई मनन गरी सांसदहरूबाट खाडी मुलुकहरूमा जान महिलाहरूलाई रोक लगाउनु पर्ने र हाल त्यहाँ अलपत्र रूपमा रहेकोहरूको उद्दार गरी नेपाल ल्याउनु पर्ने आवाज उठेको छ । प्राकृतिक तथा सामाजिक कारणले महिलाहरू बढी समस्यामा हुन्छन् । उनीहरूले स्वदेशमै पनि घरेलु हिंसा, विभेद, साम्पत्तिक अधिकारबाट वञ्चिती लगायतका समस्याको सामना गर्नुपरिरहेको छ । यस्ता आन्तरिक समस्याको सामना गर्दागर्दै केही कमाउने र फर्किएर आएपछि सुखी जीवन भोग गर्ने सपना देखेर विदेश पुगेका महिलाहरूले त्यहाँ झनै कहालीलाग्दा समस्यासँग जुध्नु पर्ने हुन्छ । यसरी श्रमकालागि  विदेश पुगेका अधिकांश नेपाली महिलाहरूले घरेलु कामदारका रूपमा काम गर्नुपर्ने हुन्छ । 

यसले गर्दा कामको सीमा हुँदैन । असीमित शारीरिक श्रम उनीहरूको बाध्यता बन्छ भने त्यसमाथि पनि घरमालिकको गालीगलौज, कुटपिटलगायतका शारीरिक तथा मानसिक यातना पनि भोग्नुपर्ने हुन्छ । उनीहरू वैधानिक रूपमा कुनै कम्पनीमार्फत गएका भए पनि धेरैको नियति यही नै हो । थोरैले मात्र राम्रो काम पाउँने हुन् ।  अझै दलालको फन्दामा परेर गैरकानुनी रूपमा त्यस्ता मुलुकसम्म पुगेका भए त न कामको कुनै व्यवस्था न बस्ने खाने ठाउँको प्रत्याभूति । तिनीहरूको स्वदेश फिर्तीको व्यवस्था गरिदिन मात्रै पनि नेपाली दूतावासका लागि टाउको दुखाइको विषय बन्न जान्छ । यसरी घरेलु कामदारका रूपमा रहेका कतिपय नेपाली महिलाहरू मालिकबाट बलात्कृत भई गर्भवती बनेका घटनाहरू पनि छन् । 

नेपाल फर्किएर आएपछि पनि इज्जतका कारण यस्ता धेरै घटना सार्वजनिक नै बन्दैनन् र सार्वजनिक बनाउँनै पर्ने थोरै घटनामात्र बाहिर आउँछन् । तिनका त्यस्ता सन्तानहरूको वैधानिकताको समस्या नेपाल फर्किएपछि पनि तिनले सामना गर्नुपर्ने हुन्छ ।  आमाका नामबाट नागरिकता दिने वर्तमान कानुनका आधारमा यस्ता समस्याको समाधानमा केही सहजता भएको भए पनि अझै  बाबुका नामबाट लिन जति सहज छ आमाका नामबाट लिन त्यति सहज छैन । यस्ता सबै समस्यालाई हृदयंगम गरेर नै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकबाट सांसदहरूले यस्तो माग गरेका हुन् । उनीहरूले खाडी मुलुकहरूमा श्रमका लागि महिलाहरूलाई जान रोक लगाउनुपर्ने माग समेत गरेका छन् । 

यसका साथै त्यहाँ गएर हाल अलपत्र परेकालाई जतिसक्दो चाँडो उद्दार गरेर फिर्ता ल्याउनु पर्ने माग पनि उनीहरूको छ । नेपाली महिलाहरू ती मुलुकमा जे जस्ता काम गरेर बसिरहेका थिए तिनै पनि हाल कोरोनाका कारण बन्द छन् । स्वदेश फर्कन चाहेर पनि तिनीहरू आउन पाएका छैनन् । सरकारले उद्दार गर्ला भन्ने पर्खाइमा छन् । सांसदहरूको मागअनुसार ती मुलुकहरूमा रहेका महिलाहरूलाई सकेसम्म छिटो उद्दार गरेर ल्याउन सके नारकीय जीवन भोगिरहेका  महिलाहरू त्यहाँबाट सबै नेपाल आइसक्ने थिए । र, आगामी दिनमा यहाँबाट जानै रोक लगाएपछि खाडी देशहरूमा कष्टकर जीवन व्यतीत गर्नबाट तिनलाई मुक्ति मिल्ने थियो । 


Views: 83

सम्बन्धित सामग्री:

यार्चामा पनि कोभिडको प्रभाव

: आश्विन ८, २०७७ (८:१८ AM)

रेल सेवाको यथार्थता

: आश्विन ७, २०७७ (७:२३ AM)