3rd December | 2020 | Thursday | 12:13:53 AM

राजधानीको किचलो

  POSTED ON : आश्विन २१, २०७७ (८:३० AM)

राजधानीको किचलो

प्रदेश पाँचको राजधानी र नाम जुरेको छ । दाङको भालुवाङ स्थायी राजधानी र प्रदेशको नाम लुम्बिनी । नामकाबारे कुनै विवाद थिएन । तर बितेको करिब तीन वर्षमा भौतिक पूर्वाधार विकास गरी एक प्रकारले व्यावसायिक, व्यापारिक कलकारखाना, विद्यालय, स्वास्थ्य र शिक्षासहित आवासको विकास भएपछि अकस्मात् राजधानी सार्ने प्रस्ताव र निर्णय सुन्दा मानिसहरूमा केही आक्रोश, निराशा र विरोधका स्वर उठ्नु स्वाभाविक हो । पूर्वाधार शून्य रहेको स्थानमा राजधानी सार्न खोज्नुले कतै व्यापारिक र राजनीतिक शुभलाभ भयो कि भन्ने आशंका प्रत्येक मानिसहरूका मनमा उत्पन्न भएको छ । गत निर्वाचनका समयमा नेपाल कम्युष्टि पार्टीका दुई प्रमुख नेताहरूले बुटवललाई राजधानी बनाउने प्रतिज्ञा गरेका थिए र उनीहरू विजयी भएका थिए । बुटवल पाँच नम्बर प्रदेशको पायक वा अपायक होइन । पायक वा अपायक भनेर तर्क गर्नुको कुनै औचित्य छैन । यसअघि बागमतीको अत्यन्त छेउलो हेटांैडा, कर्णालीको पुछार सुर्खेत र सुदूरपश्चिमको माझ पुछार कैलालीलाई सदरमुकाम बनाएको उदाहरण छ । सदरमुकामको उचित स्थान गण्डकीको पोखरामात्र हो । सबैका लागि बीचमा सदरमुका हुनुपर्छ भन्ने हो भने आजका सात सयभन्दा बढी स्थानीय सरकारका सदरमुकामलाई नै परिवर्तन गर्नुपर्ने हुन्छ । राजनीतिक रूपमा जसको जता सामथ्र्य पुग्छ र जसले औचित्य प्रमाणित गर्नसक्छ यस्ता विषय त्यसैका आधारमा निर्णित हुने गर्दछन् । मुख्यमन्त्री शंकर पोख्रेलको शक्ति थियो सदरमुकाम सार्नु भयो । सत्तारुढ पार्टीको केन्द्रदेखि स्थानीय सरकरमा रहेको बहुमतभित्र अनेक शक्ति केन्द्र र शक्ति सन्तुलन छन् । रूपन्देही क्षेत्रका प्रभावशाली विष्णु पौडेलदेखि जाँगरिला युवा घनश्याम भुसाल हुँदै सोमप्रसाद पाण्डेहरू आन्तरिक शक्तिसन्तुलनमा कमजोर पर्नुभयो र यसमा एकप्रकारले मुख्यमन्त्री पोख्रेलका सामु उहाँहरू निरीह सिद्ध हुनुभयो । 

०७४ मा तत्कालीन सरकारले अरूजस्तै गरी नामकरण नगरी पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल कायम गरी निर्वाचन गराएको थियो । नेपाली कांग्रेसको सरकार थियो । पाँच नम्बरमा समावेश गर्ने जिल्लाहरूलाई लिएर नेपाली कांग्रेसका अनेक नेताहरूसमेत सडक उचाल्न पुगेका थिए । तर निर्वाचन भयो । बुटवलमा राजधानी बनाउन नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँड, देवेन्द्रराज कँडेलसहित पाल्पा, गुलमी र केही मात्रामा कपिलवस्तुका नेताहरूको भूमिका नरहेको होइन । तर अहिले सरकारमा रहेको पार्टीका त्यस क्षेत्रका नेताहरू भने सही अर्थमा निरीह नै हुन पुगे । उनीहरूले त्यसबेला कांग्रेसले जितेमा बुटवलमा राजधानी हुन नसक्ने र कम्युष्टि पार्टीले जितेमात्र संभव हुने भनी जनताका सामू चर्का स्वरमा चिच्याएको भिडिओ अहिले पनि सामाजिक सञ्जालमा भाइरल भएको हेर्न सकिन्छ । विष्णु पौडेल र घनश्याम भुसालजीहरूका अगाडि नैतिक प्रश्नसमेत राजधानी प्रकरणले उठाएको छ ।

भूगोल र समुदायको बस्तीका हिसाबले भालुवाङमा प्रदेश राजधानी राखिनु गलत होइन । पुरानो थारू समुदायको बाक्लो उपस्थिति रहेको त्यो क्षेत्रमा राजधानीका कारण विकासका संभावना बढेर जानेछन् । त्यहाँको सामाजिक आर्थिक रूप परिवर्तन हुनसक्दछ । तर भूमाफियाहरूको कब्जा, राजनीतिक र व्यापारिकहरूको साँठगाँठ आदिले सोचेजस्तो परिवर्तन हुनुको बदला प्रभुत्वको नयाँ शृंखला बढ्न सक्छ । त्यसमा भने सचेत हुनु आवस्यक छ । नयाँ संरचना निर्माण गर्न हुने लाभहानीका खेल र भूमिको क्रयविक्रयको खेती मौलाउने खतरा उत्तिकै छ । 

राजधानी सार्ने प्रस्ताव ल्याउँदा सत्तापक्षको एकल सोच देखाप¥यो । प्रतिपक्षी दलसँग कुनै समझदारी नराखी ल्याइएको र त्यसको विरोधमा सभामा प्रश्न उठेपछि प्रदेश कनुन मन्त्रीको अत्यन्त अराजक, हुकुमी र अशोभनीय आदेशका कारण बैठकस्थलमा कुर्सी भाँच्ने र हंगामा गर्ने अराजक कार्यहरू देखिए । यसमा नेपाली कांग्रेसका केही सभासदहरू अराजकशैलीमा उत्रिएपछि केन्द्रीय प्रवक्ताले नै त्यसकार्यकाप्रति खेद प्रकट गर्न पुगे । तर कानुन मन्त्रीको अशिष्ट शब्दको भन्दा कांग्रेसका सांसदहरू बढी आलोच्य भए । किनकि कांग्रेससँग मानिसहरूले लोकतान्त्रिक संस्कृतिको अपेक्षा गरेका हुनछन् । अलिकति अलोकतान्त्रिक काम कांग्रेसबाट भएमा सबैले तत्काल प्रतिक्रिया दिने गर्दछन् । कांग्रेसका लागि यो पाठ हुनुपर्ने देखिन्छ भने सत्ता चलाउनेहरूमा सहिष्णुता र धैर्य अनिवार्य छ भन्ने देखाएको छ । अहिले चाहिँ विष्णु पौडेल र घनश्यामहरूको पराजयका लागि सहानुभूतिमात्र भन्न सकिन्छ भने नाम र स्थायी राजधानीलाई अनुकुल बनाउन सफलता पाएकोमा मुख्यमन्त्री पोख्रेल र पाँच प्रदेशलाई बधाई ।


Views: 43

सम्बन्धित सामग्री:

सकारात्मक कार्यको थालनी

: मंसिर १७, २०७७ (८:५० AM)

भारत र चीनको सक्रियता

: मंसिर १६, २०७७ (८:१८ AM)

कागजविहीन कार्यालय प्रणाली

: मंसिर १५, २०७७ (८:२७ AM)