31st October | 2020 | Saturday | 10:27:41 PM

धार्मिक आस्थाको सम्मान होस्

  POSTED ON : आश्विन २२, २०७७ (९:१७ AM)

धार्मिक आस्थाको सम्मान होस्

हाल संसारमा एउटा जटिल परिस्थिति खडा भएको छ । यो सुनियोजित वा प्राकृतिक जे भए पनि यस परिस्थितिले संसारलाई बन्दी बनाएको यथार्थ हो । मान्छेलाई परिस्थितिले दास बनाउँछ । कोभिड परिस्थितिले हाल यसरी नै दास बनाएको छ । सबैलाई घरघरमा बस्न बाध्य बनाएको छ । पशुपक्षीहरूले वनजंगल चहारेर चरेर जीवन धानेझैँ मानिसले आफ्नै प्रकारले पेशा व्यवसाय गरेर जीवन धान्नुपर्ने हुन्छ । हाल यस प्रकारका सबै काम तथा मानवीय क्रियाकलापहरू ठप्प छन् । पेशा गर्न नपाउँदा खाने कुराको अभावको स्थिति देखा पर्न थालेको छ । यही चिन्ताले सताइएकाहरूको पीडा एकातिर कहालीलाग्दो छ भने अर्कातिर यसलाई राम्रो मौका बनाएर ठगी गर्ने, भ्रष्टाचार गरेर कमाउनेहरूको जमात ठूलै छ । 

मानिस र अरू प्राणीहरूबीच देखिने एउटा ठूलो भिन्नता के हो भने प्राणीहरू केवल बाँच्नलाई खान्छन् । उनीहरूको दैनन्दिन त्यही दिनको आहार खोजीका लागि मात्र बित्छ, सञ्चिति केही केहीले मात्र गर्छन् । मानव एकातिर खाने कुराको सञ्चिति अर्कातिर लाउने, खाने र बस्नेबाहेका केही वैकल्पिक कार्यहरू गर्छ । यस्तैमा पर्छ धार्मिक कार्य पनि । यो खाने लाउने र बस्ने वा खाना, नाना र छानाबाहेकको आवश्यकता हो । त्यसैले हाम्रो संविधानले मौलिक हकको महलमा धार्मिक स्वतन्त्रताको व्यवस्था गरेको छ । यस भावनाअनुसार कसैले कसैको धार्मिक भावनामाथि आँच पु¥याउन नपाइने, आफ्नो धर्मको पालना गर्न सबैले पाउने, धर्मका आधारमा भेदभाव नगरिने जबरजस्ती कसैको धर्म परिवर्तन नगराइने जस्ता व्यवस्था भएका छन् । 

यस्तो विषम परिस्थितिमा मानिसले आफ्नो धार्मिक आस्थामा विचलन ल्याएको छैन र धर्मको पालना र नित्य पाठपूजा गर्न पाउनुपर्ने माग राखेर आन्दोलित भइरहेका छन् । कोभिडका कारण हाल सार्वजनिक स्थलहरूमा भीडभाड हुने कारणले मठमन्दिरहरू बन्द रहेकोमा उनीहरूले ती स्थानहरू खुला गरिनुपर्ने माग गरेको छन् । खान नपाएर मानिसहरू मर्न लागेको यस्तो परिस्थितिमा धर्मका लागि यत्रो चाहना यो अनौठो मानवीय आस्थाका रूपमा झल्किएको पाइन्छ । यहाँ एउटा सन्दर्भ प्रासंगिक हुने हुँदा दृष्टान्तका लागि उपयुक्त देखिन्छ । बंगलादेशको स्वतन्त्रता संग्रामका बेला भारतमा शरण लिएर बसेकाहरूको शिविरमा खाने कुराको अभाव भयो । तिनले झारपात पकाएर खाए, धेरै जना झाडापखाला लागेर मरे, केही बिरामी भए । ती हिन्दूधर्मावलम्बीहरू थिए । सरस्वती पूजाको बेला भयो । उनीहरूले चन्दा उठाएर पूजा सम्पन्न गरे । कत्रो धार्मिक आस्था । नेपालमा हाल त्यस्तै प्रकारको परिस्थिति त आइसकेको छैन तर आउन सक्दैन भन्ने कुनै प्रत्याभूति दिन सकिने अवस्था छैन । 

हालको अप्ठ्यारो अवस्थामा बन्द मठमन्दिर खुला गरिनुपर्छ भनेर माग गरिनुलाई मानिसहरूले रोग र भोकको भन्दा पनि धार्मिक स्वतन्त्रताको उपयोगका रूपमा लिएका छन् भन्ने मान्नुपर्ने हुन्छ । जीवनभन्दा पनि आस्था र संस्कृति धर्म ठूलो र अनिवार्य ठान्नुलाई आस्था भन्ने कि अन्ध विस्वास यो प्रश्न सहज रूपमा उठेको छ । तर मानिसहरू यस्तो प्रश्न गर्ने र विचार गर्ने मुडमा छैनन् । बजार पसल खोल्नु मानिसको बाध्यता हो । यिनलाई बन्द राखेर पेट भरिँदैन तर मठमन्दिर बन्द राख्नाले मान्छे मर्दैन, तैपनि मानिसको यस्ता मागमा अन्तरनिहित भावना भनेको धार्मिक आस्थाको प्रकटीकरण नै हो । यस प्रसंगमा पशुपति विकास कोषको सय वर्षे गुरुयोजनाले मानिसहरूलाई धार्मिक आस्थामा आँच पु¥याएको भनेर आन्दोलित हुने मौका दिएको छ । त्यसैले समयानुरुप विकासको बाटो अबरुद्ध नगरी मानिसको धार्मिक आस्थामाथि आघात नपु¥याउने मध्यमार्गी बाटो अवलम्बन गरिनु उपयुक्त हुनेछ । मानिसको माग बमोजिम मठमन्दिर खोल्ने हो भने त्यसका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने हुन्छ । भौतिक दूरी कायम गरेर पशुपतिनाथलगायत मन्दिरहरू खुला गर्न सकिन्छ कि भन्नेतर्फ सोच्न नसकिने होइन । तर जीवनभन्दा मूल्यवान् दैनिक कर्महरू होइनन् । यस सत्यप्रति नागरिक र मन्दिरमठका व्यवस्थापकहरू सचेत हुनु आवस्यक छ ।


Views: 81