31st October | 2020 | Saturday | 10:11:13 PM

वन किन सबैको बक्रदृष्टिमा ?

  POSTED ON : आश्विन २६, २०७७ (८:१८ AM)

वन किन सबैको बक्रदृष्टिमा ?

हालका दिनहरूमा जताततै वन फँडानी भएका समाचारहरू आइरहेका छन् । यस्तो फँडानी आवश्यकताका कारणले भन्दा नियतवस् छिटो धनी हुने छोटो र छिटो बाटाका रूपमा प्रयोग हुने गरेको छ । यसले गर्दा नेपालमा वन क्षेत्र घट्दै गइरहेको छ । एकताका ‘हरियो वन नेपालको धन’ भन्ने उक्ति निकै प्रचलित थियो । यो सही पनि हो तर अब नेपालमा वनको क्षेत्रफल साँघुरिँदै गएसँगै यस उखानले सार्थकता पाउन छोडेको छ । एउटा रूख हुर्काउन पचासौं वर्ष लाग्छ तर त्यसको विनाशका लागि कत्ति समय चाहिँदैन । राणा शासनकालसम्म तराईको चारकोशे झाडी अपट्य थियो । त्यसको डरले मानिसहरू तराईमा बसोबास गर्न डराउँथे । राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा नेपालको वन भारतमा शासन गरेर बसेका अंग्रेजहरूको मागबमोजिम त्यहाँ रेलमार्ग बनाउन दिइयो । सिंहदरबार त्यही काठ बेचेको पैसाले बनाइएको हो भनिन्छ । 

पञ्चायत शासनको विभिन्न समयमा पनि नेपालको वन विनाशको क्रम रोकिएन । २०३६÷०३७ सालको जनमत संग्रहमा पुनः चारकोशे झाडी सखाफ पर्ने काम भयो । तत्कालीन शासकहरूले राष्ट्रको सम्पत्ति सखाप पारेर भए पनि व्यवस्था जोगाउने रणनीति अवलम्बन गरे । जसको मारमा नेपालको जंगल पर्नगयो । पञ्चायत कालको अन्त्यतिर वनमन्त्री बन्न तँछाड मँछाड गर्ने गरिन्थ्यो र एक कार्यकाल सकिएपछि चुनाव लड्न जाने बेलामा निवर्तमान वनमन्त्री आफू जितेर आएर पुनः वनमन्त्री नै बन्ने भएको हुँदा आफ्नो नामको नम्बर प्लेट नफाल्न कर्मचारीहरूलाई निर्देशन दिनेगर्थे । २०४६ सालको आन्दोलनताका जनस्तरबाट वनजंगल मास्ने कार्य व्यापक रूपमा भएको थियो । यसरी क्रमशः वन क्षेत्र घट्दै गयो तैपनि शासनमा रहनेहरूका आँखा वनकै दोहनतर्फ लाग्ने गरेको छ । वनको व्यापक मात्रामा विनाश हुनुको कारण यो एक हो ।

प्रत्यक्ष रूपमा काठमै सबैको आँखा पर्छ भने वन पैदावारतर्फ पनि घुमाउरोे गरी दृष्टि नपर्ने होइन । काठबाहेक वन दोहन गरेर प्रशस्त आयआर्जन गर्ने बाटाहरू तिनीहरूले पहिल्याउने गरेका छन् । कुनै पनि योजना निर्माण तिनीहरूको बाहना बन्छ तर त्यसबाट देश र देशवासीलाई कति फाइदा हुन्छ भनेर मात्रै हेरिँदैन । आफ्नो स्वार्थ पनि त्यसमा गाँस्ने गरिन्छ । नहर, बाटो, विमानस्थल, विद्युत् आपूर्ति मार्ग आदिका योजना तर्जुमा गर्दा त्यसबाट आफ्नो लाभको अंशतर्फ सोच्ने गरिन्छ । वनबाट प्रत्यक्ष रूपमा विभिन्न वनपैदावारहरू प्राप्त हुन्छन् । काठ दाउरा, घाँस, स्याउला, जडिबुटी, जनावर आदि देखिने खालका प्राप्ति हुन् भने यसबाट अप्रत्यक्ष रूपमा अरू विभिन्न कुरा मानिसले पाइरहेको हुन्छ । 

वनबाट अक्सिजन उत्सर्जन हुन्छ । वनजंगलकै कारणले वर्षा हुन्छ, यसले मानवीय क्रियाकलापबाट उत्सर्जन भएको कार्बन शोषण गर्छ, वनबाट बाढी पहिरो रोकथाम हुनेलगायतका प्राप्तिहरू मानिसलाई भइरहेकै हुन्छन् । योजना निर्माणसँगै व्यापकरूपमा हुने रूख कटानको सबैभन्दा पछिल्लो उदाहरण निजगढ विमानस्थल निर्माणका सन्दर्भमा देखिएको छ । यहाँ यस सन्दर्भमा केही रूखहरू कटान भइसकेका छन् । जम्मा २४ लाख रूख कटान गर्नुपर्ने भनिएको छ । यसको शोधभर्ना हुन एक शताब्दीको समय अपुग हुनजान्छ । विभिन्न वातावरणवादी संघसंस्थाबाट यसको विरोध भइरहेको छ । 

सरकारले रूख कटानसम्बन्धी एकातिर कडा नीति अवलम्बन गरेको छ । जसले गर्दा काठको अभावले वनजंगलको धनी देशमा अधिकांश मानिसले आल्मुनियमका झ्याल ढोका प्रयोग गरिरहेका छन् भने अर्कातिर यसको उचित आपूर्ति हुन नसक्दा वनजंगलमै काठ कुहेर खेर गइरहेका छन् । यसले गर्दा सरकारले वनजंगलबाट प्राप्त पैदावारको उचित दोहन, प्रयोग र बचाउसम्बन्धी उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । र, सरकारमा बस्ने र योजना निर्माताहरूमा स्वार्थरहित तथा औचित्यका आधारमा योजना छनोट सामथ्र्य हुनुपर्दछ ।  


Views: 249