28th October | 2020 | Wednesday | 10:25:05 PM

सपनामै सीमित निर्यातमुखी खाद्य प्रणाली

  POSTED ON : आश्विन २७, २०७७ (८:०२ AM)

सपनामै सीमित निर्यातमुखी खाद्य प्रणाली

नेपालका क्रान्तिकारी कृषि प्रणालीका कुरा धेरै पहिलेदेखि नै हुँदै आएका हुन् तर यहाँका कृषकहरू अझैसम्म परम्परागत कृषि प्रणालीकै अवलम्बन गरिरहेका छन् । नेपालले कृषिमा वैज्ञानिकका लागि सकेसम्म खर्च गरेकै छ । कृषि क्याम्पसहरूमा अध्ययन हुने गरेको छ । यहाँबाट कृषिविज्ञहरू वर्षेनी ठूलै संख्यामा उत्पादन हुन्छन् । कृषि विज्ञान अध्ययन संस्थानहरूमा सरकारको लगानी हुन्छ । जेटी, जेटिएलगायत कृषि प्राविधिज्ञहरूले जागिरमात्र खाएका छन् वा कृषिमा आधुनिकीकरणमा रचनात्मक काम पनि गरेको छन् महŒवपूर्ण प्रश्न हो । सीटीईभीटीबाट पनि कृषिसम्बन्धी तालिम दिइन्छ तर सरकारका यी सबै प्रयास सार्थक बन्न सकिरहेका छन् कि छैनन् त्यतातिर राम्ररी ध्यान पुग्न सकेको पाइँदैन ।

लक्षबमोजिमका काम भइरहेका छन् वा छैनन् भनेर कडाइका साथअनुगमन हुन सकेको छैन । कृषि प्राविधिज्ञहरू गाउगाउँमा खटाइएका भए तापनि तिनीहरू त्यहाँ जागिर खाएरमात्र बसेका छन् कि किसानहरूसमक्ष यससम्बन्धी ज्ञान बाँडिरहेका छन् त्यसको अनुगमन हुनु जरुरी छ । वास्तवमा कृषिमन्त्रालयका कर्मचारीहरू कृषिविज्ञ नै हुनुपर्ने हो । अन्य विभिन्न विषयको अध्ययन गरेकाहरू त्यहाँ छन् । कृषि विषयको अनभिज्ञ कृषिमन्त्री पनि बन्नु नहुने नियम भए यस क्षेत्रमा केही सुधार हुनसक्थ्यो । हाम्रोमा जे विषय पढेको वा नपढेकै भए पनि जुन मन्त्रालायमा पनि मन्त्री हुन पाउने परम्परा छ । पदबाहिर छँदा निकै भरोषा गरिएका व्यक्ति हाल कृषिमन्त्री छन् । उनीमाथि जनताले केही आशा अवश्य गरेका थिए तर जब उनी मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगे तब उनी पनि अरूभन्दा फरक देखिएनन् । 

सलहको प्रकोप फैलिँदा उनले अमेरिकाबाट संगीत उपकरण झिकाउने कुरा गरे । धान बालीमा प्रयोग हुने किटनासक विषादी हिँउदसम्ममा आइपुग्छ भने । मल पनि समयमै झिकाएर किसानलाई दिन सकेनन् । त्यहाँ पुगेपछि लोभानी पापानी बढेर हो वा काम गर्ने स्वतन्त्र वातावरण नपाएर हो को राम्रो र को नराम्रो भनेर छुट्याउन सक्ने अवस्थै नरहेको देखेका छन् जनताले । हाल उनले आयातमुखी परम्पराका कारण हामी परनिर्भर बन्दै गएको विचार व्यक्त गरेको छन् । यो कुरा सही हो तर त्यस्तो परम्परा हटाएर आत्मनिर्भरतातर्फ उन्मुख बन्न हामी योजना बनाउँदैछौँ भनेरमात्र यस्तो परम्परा हट्दैन । यसका लागि तदारुकताका साथ क्रान्तिकारी कदम नै चाल्नुपर्ने हुन्छ । 

चार पाँच दशककै अन्तरालमा धान, गहुँ र मकैबाहेकका थोरै मात्रामा खेती गरिने खाद्यान्नहरू केही लोप भइसके र केही लोपोन्मुख छन् । कागुनो, धैया आदि लोप भइसकेभन्दा हुन्छ । जुनेलो, उवा जस्ता बाली लोप हुने क्रममा छन् र जौ फापर, कोदोको खेती कम हुँदै गएको छ । धान, गहुँ र मकै यी तीन मुख्य बालीमा हामी निर्भर छौं । यदि यीमध्ये कुनै बालीमा कुनै प्रकोप आयो र ती लोप भए भने आउने पुस्ताको अवस्था कस्तो होला ? 

एकातिर हामीले यसबारे सोच्नु आवश्यक छ भने अर्कातिर विभिन्न कारणले खण्डीकरण हुँदै गएर थोरी बाँकी रहेको जमिनबाट सकेसम्म धेरै उत्पादन गर्नुपर्ने अवस्था छ । यसका लागि कृषिमा आधुनिकता आवश्यक छ । कृषि सामग्री, मल, बिउ, विषादी आदिको उपलब्धता र तिनको प्रयोगबारेको ज्ञान किसानहरूसम्म विस्तार गर्नु सरकारको दायित्व हो । मन्त्रीका समय समयका अभिव्यक्ति र व्यवहारबाट सरकार यसो गर्न सकिरहेको छैन भन्ने देखिँदै आएको छ । कृषि सामग्रीमा आधुनिकीकरण हुन सकेन र किसानले परम्परागत रूपमै कुटो कोदालो चलाउनु प¥यो भने हामी आयातमुखी खाद्य प्रवृत्तिबाट मुक्त हुन सक्नेछैनौं । कृषि विकास अरू विकासको आधार हो भन्नेतर्फ सरकारले सोचोस् । अनिमात्र हामी निर्यातमुखी कृषि प्रणालीतर्फ उन्मुख हुन सक्छौं । 


Views: 89