28th October | 2020 | Wednesday | 10:27:14 PM

सरकार लाचार भएपछि जनता सचेत हुनु आवश्यक

  POSTED ON : आश्विन २८, २०७७ (७:५४ AM)

सरकार लाचार भएपछि जनता सचेत हुनु आवश्यक

कोरोना संक्रमणको कुरा अब बढी भइसकेको छ । विगत दश महिनादेखि निरन्तर यसकै मात्र चर्चा हुँदै आएको छ तर पनि यसकै चर्चा नगरी भएको छैन । चीनको वुहानमा देखा प¥यो रेभन्दा हामीमा बरु यसको त्रास थियो अब त्यो सम्पूर्ण हराइसको छ । यसले लिएको महामारीको रूप दुसाध्य छैन होला तर यो जीवन, व्यवहार, सोच र दृश्यमा दुसाध्य हुँदैछ । अब यसका तथ्यहरू प्रस्तुत गरिरहनुको कुनै औचित्य छैन । आफ्नै देश र आफ्नै आँगनमा दिनहुँ चार–पाँच हजार संक्रमित र बाह्र–पन्ध्रजनाको मृत्यु सामान्य संख्या मानिन थालेको छ । आजभन्दा भोलि यस्ता तथ्यांकमा दुई–चार हजार वृद्धि भइसकेको हुन्छ । त्यसैले औचित्य छैन भनिएको हो । यस्तो अवस्थाा जनताप्रति उत्तरदायी हुनुपर्ने सरकार लाचार देखिएको छ । कोरोना समुदाय स्तरमा तीव्र गतिमा फैलिइसक्यो । एक घर एक कोरोना भन्ने कहावत मानिसहरूमा सुरु भएको छ । अब कुनै टोल यसबाट अछुतो छैन । पहिले संसार रोएका बेला हाम्रो सरकार चुप लागेर बस्यो । आफूमा पनि यस्तै भयावह अवस्था आउँनसक्छ भन्ने कल्पना गरेन । सत्ता र सरकार फेरबदललाई यस्तो बेलामा पनि मुख्य एजेण्डा बनाएर दौडधूप गरिरहे सत्तारुढ पार्टी र सरकार । तर, अझैसम्म पनि आफ्नो दुई तिहाइको मन्त्रीमण्डलभित्र कुनै परिवर्तन गर्न नसकेका कारण यसको सामथ्र्य स्पष्ट रूपमा देखिन पुगेको छ । कोरोनालाई बाहना बनाएर सरकारका मन्त्रीहरू कमाउ धन्दामै लागे । 

यसको संक्रमण सुरु नभई वा सुरु हुनासाथ रोकथामका कुनै ठोस कदम नचालिनाले हालको भयावह स्थिति आयो अनिमात्र सरकार आत्तिएको शैलीमा बेहोस् नभई अस्पताल नआउनू भन्ने हास्यास्पद वक्तव्य निकाल्छ । लाचार बनेर जनतालाई दोष दिन्छ । विश्व स्वास्थ्य संगठन र विज्ञहरूले ६ महिनापहिले दिएको सुझाव र चेतावनीको पालना गरेको भए हालको अवस्था निश्चय आउने थिएन । अहिले पनि सरकारमा रहेका व्यक्ति र सत्तारुढ पार्टीका सदस्यहरूबीच सरकार पुनर्गठन गर्ने कि रिक्त मन्त्रालयहरूमा पदपूर्ति गर्ने भन्ने विवाद चलिरहेको छ । हालको कोरोना संक्रमणको अवस्थामा यो विषय गौंण हुनुपथ्र्यो र संक्रमणको नियन्त्रण र प्रभावितका लागि राहततर्फ सबैको ध्यान केन्द्रित हुनुपथ्र्यो ।

चौथो चरणमा पुगेको कोरोनाको चरमरूप अझै कस्तो हुने हो भन्नेतर्फ सोच्न अझै यस सरकारले चाहिरहेको छैन । सरकार केवल सूचना प्रवाहमा मात्र केन्द्रित छ । अब अस्पतालका आइसीयू र भेन्टिलेटरहरू उपलब्ध हुन सक्दैनन भनेर सूचना जारी गरिरहेको छ । त्यसो हो भने सरकार केका लागि ? अब बिरामी हुनेहरूप्रति सरकारको कुनै दायित्व छैन ? तिनले उपचार नपाएर मृत्यु वरण गर्नुपर्ने हो ? दुई तिहाइको भनिएको यो शक्तिशाली सरकार यसरी बाघसामु लम्पसार बनेको मृगजस्तो बनेकै हो त ?

यी प्रश्नको सान्दर्भिकता के हो भने जनताले अटेरी गर्नाले कोरोना फैलिएको भनेर सरकार आफैं जनताले टेरेनन् भनी आफू पानीमाथिको ओभानो बन्न खोजिरहेको छ र संक्रमण फैलनुको दोष आमनमागरिकलाई दिइरहेको छ । सरकार यसरी आफू पानीमाथिको ओभानो बन्ने प्रयास गरी पन्छने हो भने कोरोनाबाट आत्मरक्षा गर्न जनता आफैं जाग्नुपर्ने हुन्छ । सरकार छ यस देशमा र कुनै कम्युनिष्ट पार्टीको अस्तित्व छ भन्ने नसोचिकन जनता आफैं सचेत र अग्रसर हुनुपर्छ । मूल प्रश्न हो : सरकार अब लाचार बनेकै हो त ? उसले आफ्नो असमर्थता देखाएकै हो ? सरकारले यस्तो लाचारी प्रकट गर्नु भनेको सरकार असफल हुनु हो । गैरजिम्मेवारी हुनु हो । भारी मात्राको कर तिरेर बसेका नेपाली जनताका लागि यो भन्दा पीडा के हुनसक्छ ? अनुत्तरदायी सरकारमा बस्नेहरूको सुविधाका लागि जनताले कर तिर्नुपर्ने हो ? यसो हो भने जनताले दृढतापूर्वक भन्नुपर्ने भएको छ : जनताको जिम्मा लिनु प-यो कि करमुक्त गर सरकार । अन्यथा जनता आफ्नै तरीकाले सोच्न बाध्यहुनुपर्ने छ ।


Views: 87