28th October | 2020 | Wednesday | 11:23:13 PM

मदारी नाचको अवशान आवस्यक

  POSTED ON : आश्विन २९, २०७७ (७:५८ AM)

मदारी नाचको अवशान आवस्यक

देशमा मदारी नाचको कला धेरै भइसक्यो । यो नाच बन्द नभएसम्म देशको भलो हुने कुनै लक्षण छैन । राजनीति राज्यका सबै नीतिहरूमध्येको मुख्य मियो मानिन्छ । यो मुख्य मियोमा निरन्तर धमिरा लागाउने काम भएको छ । राजनीति गर्नेहरूले विगतका कमीहरूलाई सुधार गर्नुपर्ने थियो, वर्तमानलाई सुदृढ पार्नुपर्ने थियो र भविष्य सुनिश्चित बनाउन सक्नुपर्ने थियो । राणा शासनको संझना रहने पुस्ता अब नेपाली राजनीतिमा विरलै पाइन्छ । राणा शासनबारे पढिने विषय त भविष्यमा हुन्छ । तर भोग्नु, अनुभव गर्नु र त्यसलाई प्रकट गर्नुको जीवन्तता फरक छ । राणा शासनको कार्यहरू किंवदन्ती जस्तो हुन्छ पढ्नेहरूमा । राणा शासन विरोधी आन्दोलनको कथा सरस होला तर अनुभूति कम हुन्छ । बीपी कोइरालाले अनशन बस्ताको र जेलमा भोगेको पीडा अथवा शहीदहरूले गरेको अनुभव पढ्दा पेट पोल्ने भनेको थोरै मानिसलाई मात्र हो । त्यो कथाका रूपमा भोलिका दिनमा अनुभवहीन पाठ्य विषय हुने छन् त्यस्ता मर्मान्तक भोगाइहरू । जसरी हामी इतिहासका अनेक पात्र र घटनाहरू पढ्दा सरस भए पनि अनुभव शून्यतामा रहेर पढिरहेका हुन्छौं । परिवर्तन पनि त्यस्तै हुन्छ । 

हिजोका दिनमा परिवर्तनका लागि पीडा भोग्ने पुस्ता समाप्त भएपछि अनुभूति शून्य चाहना हामीसँग शेष रहन्छ । त्यसमा पनि जसले परिवर्तनको नेतृत्व ग¥यो त्यही पुस्ताले परिवर्तनलाई मदारीको खेलमा परिणत गरेपछि त्यसको अर्थवत्ता आफैं समाप्त हुनपुग्छ । यतिखेर पछिल्लो परिवर्तनका नायकहरू धेरै जीवित छन् । उनीहरूमध्ये धेरैजसो सत्ताको चास्नीमा विगत लामो समयदेखि डुबिरहेका छन् । ०४६ सालपछि एकदिन नबिराई सत्तावृत्तमा बस्ने, सत्ता सञ्चालनको रथमा बस्ने र नियन्त्रण शक्ति आफैंसँग राख्नेहरूले नै तीनदशक भोग गरिसकेका छन् । ०६० यताको परिवर्तनका नायकहरूमा अझै केही समय भोक मेट्ने लालसा बँचेको हुनुपर्छ । तर निजी भोक र भोगाई भनेको जनताका मनले भनिरहेको, बुझिरहेको र अनुभव गरिरहेको उनीहरूको तस्वीरमा खोज्नु उचित हुन्छ । 

अहिले सत्तामा बस्नेहरूमा भागवण्डा, लुछाचुँडी, तँछाडमछाँड, उचाल पछार, अहंकार, नाक, प्रतिष्ठा कमाई धमाई, आफन्तवृत्तको स्वार्थ संरक्षण र राष्ट्रको दोहनमा केन्द्रित भएको छ । उनीहरू यी सबै किन गर्दैछन् होला ? के उनीहरूका यस्ता कार्यले नेपालको सुरक्षा र नागरिकको समृद्धि संभव होला ? दुःखका साथ भन्नुपर्दछ राजनीतिको मियोमा बस्न पुगेकाहरू केही अपवादलाई छाडेर बाँकी सबै नै जनता र राष्ट्रको हितभन्दा आफ्नै उदरपूर्ति र शक्ति नियन्त्रणमा सक्रिय छन् । यसका लागि उनीहरू जे गर्न पनि तयार छन् ।

तीन वर्षयता स्थिर सरकारको दावा हावामा परिणत भएको छ । ०७२ सालको संविधान र ०७४ को निर्वाचनसम्म सदा राजनीतिक अस्थिरता भयो भनेर नाक जोगाउन राजनीतिकर्मीहरू सफल थिए । नेपाली जनतालेसमेत बलियो सरकारविना देशको प्रगति संभव हुने रहेनछ भन्ने सोचेका थिए । संयोग नेपाल कम्युष्टि पार्टीको एकतापछि नेपाली जनतामा एक प्रकारको स्थायी सरकारको विस्वास जागृत भयो र संघीय संसद्मा करिब दुई तिहाइ नजिकको स्थान यस पार्टीले पायो । सात प्रदेशमध्ये ६ प्रदेश नेकपाकै पोल्टामा छ । तर हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात भन्ने नेपाली आहानलाई सार्थक तुल्याउँदै अहिले कम्युनिष्ट पार्टी क्रमशः फुस्रिदै गएको पात देखाएर नेपाली जनता सामु निर्वस्त्र हुँदै छ । कर्णाली प्रदेशको किचलो के हो थाहा छैन, बागमती प्रदेशमासमेत किचलो यथावत् छ । केन्द्रमात दुईजनामध्ये एकजनाले डमरु बजाउने र अर्को नाच्ने, थकाई लागेपछि रिसाउने, झर्किने, बाझ्ने र बार्गेनिङ सुरु गर्ने अनि थकाई मरेपछि फेरि डमरु समात्ने काम गरिरहेका छन् । 

प्रतिदिन दर्जन बढीका लास घाटमा पुगिरहेका छन्, महामारीको मारमा प्रतिदिन चार हजारका दरले नागरिकहरू संक्रमित हुन विवश छन्, रोजगारी टुटेको छ, सबै संस्था बेहाल भएका छन्, अस्पतालहरू, विद्यालयहरू, उद्योगहरू, पसल र व्यवसाय चौपट छन् । तर मदारी नाचका यी मालिकहरू, भनौं कि मदारी नाचका यी कान्छाहरू भनौं कहिले बालुवाटार त कहिले सिंहदरबार, कहिले पेरिस डाँडा त कहिले धुम्बाराही अनि कहिलेकाही भैंसेपाटीमा पुगेर आफ्नो मदारी नृत्य कला देखाइरहेका हुन्छन् । अनि केही इर्दगिर्द केही पाउने आसमा बसेका, केहिटन्न खाएर बसेका, केही अवसर ढुकेकाहरू यी मदारीहरूसँगै होमा हो मिलाएर जहाँ नृत्य चल्छ त्यही ताली पिट्न पुगेका देखिन्छन् । भो बन्द गर यो मदारी नृत्य । सक्छौं भने देशलाई जनतालाई रक्षा गर सक्दैनौं भने हात उठाओ अरू कसैले अवस्य संहाल्नेछ ।

Views: 117