28th October | 2020 | Wednesday | 10:44:54 PM

सर्वत्र बिचौलियाकै बिग्बिगी

  POSTED ON : आश्विन ३०, २०७७ (८:४४ AM)

सर्वत्र बिचौलियाकै बिग्बिगी

उत्पादक र उपभोक्ता दुई पक्षमात्र कुनै पनि उत्पादन र उपभोगबाट लाभान्वित हुनुपर्ने हो । तर, यसो नभएर अर्को एउटा पक्ष खडा भएर त्यसले तिनका बीचमा हालिमुहाली गर्ने गरेको छ । यही पक्षले बढी फाइदा लिने गर्नाले पहिले र दोस्रो पक्ष वा उत्पादक र उपभोक्ता मारमा परिरहेका छन् । यसरी यी दुई पक्षको बीचमा उभिएर दोहोरो लाभ लिने पक्ष नेपालका सन्दर्भमा बिचौलिया भनेर चिनिएको छ र बिचौलियाको प्रभाव कुनै निश्चित एक वा दुई ठाउँमा मात्रै सीमित नभएर सर्वत्र फैलिएको छ । यिनका लागि केही क्षेत्र सदासर्वदा प्रयोग भइरहेका छन् भने केही क्षेत्रमा समय वा पर्व विशेषका रूपमा यिनले प्रभाव फैलाउने गरेका छन् । 

दुग्धजन्य पदार्थ र तरकारी जस्ता क्षेत्र यिनका सधैंका दुहुना गाई हुन् । किसानले आफ्नो रोजी रोटीका लागि खेती किसानी गरेको हुन्छ । त्यसबाट आपूmलाई बढी भएको अन्न सागसब्जी बेचेर नुन तेलको जोहो गर्न चाहन्छन् । तर, तिनका उत्पादन ती आफैंले बजार लानुपूर्व नै त्यहाँ बिचौलिया पुग्ने गर्छन् । किसानले तीबाट पाएको रकमभन्दा बीसौं गुना बढी मूल्यमा तिनले त्यो सामान उपभोक्तालाई बेच्छन् र नाफा कमाउँछन् । अझै व्यावसायिक रूपमै खेती वा पशुपालन गर्नेहरूसँग त बिचौलियाको स्थायी सम्बन्ध हुन्छ र तिनका सबै उत्पादन तिनकै थलामा पुगेर उठाइदिन्छन् । त्यसो हुँदा एक प्रकारले उत्पादकले आफ्नो उत्पादन बजारसम्म पु¥याउनुपर्ने झन्झट पर्दैन भन्ने ठान्छन् । 

तर, बिचौलियाले उत्पादकसँग न्यून मूल्यमा उत्पादन खरिद गर्ने गरेका हुन्छन् । वास्तवमा भन्ने हो भने उत्पादकले जग्गा भाडा, मल, बिउ, किटनाशक विषादी र परिश्रमको मूल्य कटाएर खासै नाफा लिन सकेका हुँदैनन् । यसैगरी व्यापार, जागिरलगायत व्यवसाय गरेर बसेको वर्गसँग आफ्नो उत्पादन हुँदैन । उत्पादकसँग सिधैं सम्पर्कमा नरहनाले त्यस्तो वर्ग बिचौलियामार्फत बजारमा आइपुगेको उपभोग्य सामग्री चर्को मोलमा किन्न बाध्य हुन्छ । यस्तो अवस्था जताततै हावी छ । सरकारी कार्यालयबाट सेवाग्राहीले कुनै काम लिने सन्दर्भमा पनि यस्तै अवस्था छ । कर्मचारीहरूसँग तिनको मिलेमतो हुन्छ । सेवाग्राही कुनै कामको सिलसिलामा एक दुईपटक मात्र त्यहाँ जानुपर्ने हुनाले त्यहाँका सबै प्रक्रियाहरू उसलाई थाहा हुँदैन । त्यसको फाइदा उठाउने गरेका हुन्छन् कर्मचारीहरूसँग साँठगाँठ मिलाएर बिचौलियाहरूले । 

हाल कोरोना महामारी व्याप्त छ । जस्तै महामारी भए पनि मानिसले आफ्नो आस्था बदल्दैन । आफ्ना रीति, संस्कृति र परम्पराको पालना गर्छ । सामुमा बडा दशैँ भित्रिनै लागेको छ । विगत वर्षको जस्तो गरी मनाउन नसकिएला तर हिन्दूहरूको सबैभन्दा ठूलो पर्व दशैँ यस वर्ष पनि मनाइन्छ नै । जसरी सकिन्छ त्यही किसिमले मनाउने तयारी सबैले गरिरहेका छन् । तर, यहाँ पनि बिचौलियाहरू कुन सामानमा कसरी नाफा कमाउन सकिन्छ भनेर बाटो ढुकेर बसेका छन् । विगत केही वर्षदेखि तिब्बती र नेपालका हिमाली क्षेत्रका च्यांग्राको माग काठमाडौंमा बढेको छ । पहिले खसीभन्दा सस्तो मूल्यमा पाइने च्यांग्रा केही वर्षदेखि महँगा बन्दै गएका हुन् । यस वर्ष झनै महँगो पर्ने भएको छ । 

यस वर्ष नेपालकै हिमाली क्षेत्रबाट सीमित संख्यामा ल्याइने च्यांग्रा खरिद गरी दशैँ मनाउने यहाँका मानिसका सपना बिचौलियाकै कारण असम्भव बन्न जाने भएको छ । बिचौलियाहरूले हिमाली जिल्लाका गाउँगाउँ पुगेर त्यहाँका बासिन्दाहरूसँग सस्तो मूल्यमा खरिद गरी जनतालाई महँगो मूल्यमा बिक्री गर्ने गरेका छन् जसले गर्दा मूल्य अत्यन्त आकाशिन पुगेको छ । सर्वसाधारणहरूको दशैँका लागि च्यांग्रा किन्ने सपना सपनामात्रै बन्न पुगेको छ । यो त एउटा दृष्टान्तमात्रै हो सबै क्षेत्रकै अवस्था उस्तै छ । जबसम्म सरकारी क्षेत्रबाट स्पष्ट नीति बनाएर त्यसलाई कडाइका साथ लागू गर्ने र त्यसको पालना भयो कि भएन भनेर अनुगमन गर्ने गरिँदैन तबसम्म यस्तो अवस्था रहिरहन्छ । जनताले सरकारसँग यस्तो अवस्थाको अन्त्य खोज्नु विरोध होइन ।


Views: 75