27th November | 2020 | Friday | 5:43:23 AM

घरमा नै पनि हुन्छ : आस्था प्रकट

  POSTED ON : कार्तिक २, २०७७ (४:५४ PM)

घरमा नै पनि हुन्छ : आस्था प्रकट

हिजोदेखि नवरात्रि सुरु भयो । घटस्थापना बडा दशैँको पहिलो दिन हो । सबैका घर घरमा घटस्थापना गरी जमरा राख्ने काम भयो । नेपाल हाल संविधानतः धर्म निरपेक्ष मुलुक हो । तर, विभिन्न हिन्दू धर्मावलम्बी ओमकार परिवारका आस्तिकहरू नेपालमा नब्बे प्रतिशतभन्दा बढी रहेका छन् । बडा दशैँ र तिहारलाई केही वर्ष पहिलेसम्म राष्ट्रिय पर्वका रूपमा मनाइन्थ्यो । हाल सबै धर्मावलम्बीहरूको आस्थालाई सम्मान गर्ने क्रममा नेपालका सबै जातजातिका सबै चाडपर्वलाई राष्ट्रिय पर्व मानिएको छ तैपनि अधिकांशले अवलम्बन गर्दै आएको पर्व भएका कारण नेपालमा दशैँ तिहारको महŒव बढी छ । पहिले दशैँमा सरकारले १५ दिन बिदा दिने गरेको थियो । अहिले घटाएको छ ।

यस पर्वमा विशेष आस्था र सम्मानका साथ देवी दुर्गाको प्रार्थना र पूजा गर्ने गरिन्छ । उपत्यकाभित्र गहृयेश्वरी, दक्षिणकाली, शोभाभगवती, मैतिदेवी, कालिकास्थान, भद्रकालीलगायतका विभिन्न शक्तिपीठहरूमा जम्मा भएर पाठपूजा गरी भक्ति प्रकट गर्ने गरिएकोमा यस वर्ष विशेष परिस्थितिका कारण साविक वर्षहरूमा जसरी दशैँ मनाउन सम्भव देखिएको छैन । कोरोना विषाणुको संक्रमणका कारण भीडभाड गर्न, मानिससँग भेटघाट गर्न असहज वातावरण खडा भएको छ । दुई मिटरको भौतिक दूरी कायम गरेरमात्रै कसैसँग कुराकानी गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा शक्तिपीठहरूमा उपस्थित भएरै परम्परागत रूपमा जे जसरी आस्था प्रकट गर्ने र संस्कृति पालना गर्ने गरिएको थियो त्यो यस वर्ष सम्भव भएन । 

संसारका सबै मानिसमा कुनै न कुनै प्रकारको आस्था भएकै हुन्छ । यस्ता आस्थामध्ये मानिसले धार्मिक आस्था सबैभन्दा पहिले अवलम्बन गरेको हो । त्यसपछि मात्र राजनीतिकलगायत आस्थाहरू प्रकट भएका हुन् । धार्मिक आस्थाको पालना, अभ्यास र अवलम्बन गर्ने छुट आफ्ना देशका नागरिकहरूलाई त्यस देशका संविधान र कानुनहरूले नै दिएका हुन्छन् । मानिस बरु भोकै मर्न तयार हुन्छ तर धर्मको पालना जसरी भएदपनि गर्न चाहन्छ । मानिसले राजनीतिकलगायत आस्थामा जति सजिलै परिवर्तन गर्न सक्छ धार्मिक आस्था त्यति सजिलै परिवर्तन गर्न सक्दैन । कोरोनाको महामारीका कारण नेपालीका धार्मिक आस्थाका केन्द्र विभिन्न मठमन्दिरहरू हाल बन्द छन् । सधैं दर्शनार्थीहरूको भीड लाग्ने राष्ट्रदेव पशुपतिनाथलगायत मन्दिरहरू बन्द रहेको निकै लामो समय भइसकेको छ र ती खुला गरेर दर्शनार्थीले दर्शन गर्न पाउनुपर्छ भन्ने माग पहिलेदेखि नै उठिरहेको छ । 

हाल नवरात्रि सुरु भइसकेको अवस्थामा विभिन्न शक्तिपीठ खुला गर्नुपर्छ भन्ने माग उठिरहेको छ । यस्ता पीठहरूको अरू समयमा भन्दा नवरात्रिमा बढी महŒव हुने गर्दछ । नागरिकहरूले धार्मिक आस्था प्रकट गर्न तथा धार्मिक स्वतन्त्रताको अभ्यास गर्न पाउने कानुनी हकमा बन्देज भएको दृष्टिकोणबाट हेर्दा उनीहरूको आवाज उचित लाग्नसक्छ । तर, यस्तो बन्देज कुनै राजनीतिक वा अन्य कुनै कुत्सित मनस्थितिका कारणले लागेको होइन । जनतामा कोरोना महामारी संक्रमित नबनोस् भन्न यो बन्देज लगाइएको हो । स्वास्थ्यभन्दा ठूलो आस्था होइन । ज्यान जोगिए धर्मकर्मका कामहरू पछि पनि गर्न पाइन्छ । 

भगवान सर्वव्यापी छन् भनिन्छ । त्यसो हो भने आस्था प्रकट गर्न देवालयमै जानुपर्छ भन्ने पनि छैन । हामी जहाँ जसरी रहेका छौँ त्यहीँ रहेर जसरी सकिन्छ त्यसरी नै आस्था प्रकट गर्नु अहिलेको सन्दर्भमा उपयुक्त हुन जान्छ । जबरजस्ती बलमिच्याइँ गरेर मठमन्दिरमा जमघट र भीडभाड गर्न थाल्यौँ भने फैलिँदो कोरोनाको चरम संक्रमण भोग्ने हामी नागरिकहरूले नै हो । त्यस्तो अवस्थामा हाल दिनमै दुई तीन हजार संक्रमित उपत्यकामा मात्र भेटिइरहेकोमा त्यसको दोब्बर तेब्बर बढोत्तरी नहोला भन्न सकिँदैन । मन्दिरमा दूरी कायम गरेर दर्शन गराउने कुरा सम्भव हुँदैन । यस्ता कुरातर्फ हामी सचेत रहनै पर्छ । जीवनमूल्यभन्दा महान् आस्था हुनसक्दैन ।


Views: 44

सम्बन्धित सामग्री:

महानगरको सराहनीय कार्य

: मंसिर ११, २०७७ (८:१२ AM)

शान्ति सम्झौताको अपुरो मर्म

: मंसिर ९, २०७७ (७:५६ AM)