27th November | 2020 | Friday | 6:15:20 AM

अनुत्तरदायी सरकार, कोरोनाको मार र दशैँको संघार

  POSTED ON : कार्तिक ५, २०७७ (७:२७ AM)

अनुत्तरदायी सरकार, कोरोनाको मार र दशैँको संघार

अनुत्तरदायी सरकारका अनुत्तरदायी निर्णय, कोरोनाका आक्रमण र वडा दशैँको संघारमा छौं हामी । आज बडा दशैँको पाँचौं दिन हो, देवी दुर्गामाताले शैलपुत्री रूपधारण गर्ने दिन हो आज । अब विजया टीका आउन पनि पाँच दिनमात्र बाँकी छ । मानिसहरू संकटका बीच दशैँको तयारी गरिरहेका छन् । पोहोर परारको जस्तो नभए पनि आफ्नो नजिकका बजार पसलबाट किनमेल गरिरहेको छन् । सक्नेले मीठो मसिनोको जोहो पनि गरिरहेका छन् । यही क्रममा दशैँ पर्वलाई देवीले महिषासुर नामको दानवको बध गरेको स्मरणमा वा भगवान रामले रावणको बध गरेको सम्झना गरेर तामसी खानपानतर्फ जोड दिएका हुन्छन् । विशेषतः यस बेला मांसाहार बढी हुन्छ । यसका लागि स्वभावतः हिंसा हुने गर्दछ । विभिन्न शक्तिपीठहरूमा बलि दिने प्रथा हिंसाकै परिणाम हो । यस वर्ष यस्ता कार्यमा कमी आउन सक्छ तर बन्दै चाहिँ हुँदैनन् । अहिलेदेखि नै मानिसहरूले खसी बोका क्रयविक्रय गर्ने गरेको कार्यबाट यसको अनुमान लगाउन असजिलो छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वा साविक खाद्य संस्थानको प्रादेशिक कार्यालय थापाथलीमा खसी बोका किन्नेहरूको भीड हेर्दा कोरानाको महामारीबाट नागरिकहरू तर्सिएका छैनन् भन्ने पुष्टि हुन्छ । त्यहाँ निकै लामो समयसम्म लाइनमा बसेर पनि मानिसहरू खसी बोका किनिरहेका छन् । खाद्यले सधैंका जसरी धेरै संख्याका खसी बोको ल्याउन सकेको छैन । एक हजारमात्र ल्याएको छ । मागअनुसार यो संख्या निकै कम हो । यसकारणले यहाँ भीड देखिएको हो । भीड हुनुका अन्य कारणहरूमा कार्यालयको जनशक्ति कम भएर पनि हो भन्ने कार्यालयको तर्क छ । 

यसै गरी खाद्यले निर्धारण गरेको खसीबोकाको मूल्य सस्तो भएका कारण पनि त्यहाँ भीड हुने गरेको छ । खाद्यले निर्धारण गरेको मूल्यका कारण अन्य व्यापारीहरू सरकारप्रति रुष्ट भएका छन् । खाद्यले जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ५० निर्धारण गरेको छ । यो गतविगतको मूल्य समानै हो । व्यापारीहरू भने सरकारले यसरी व्यापार गर्नाले आफूलाई अप्ठ्यारो परेको गुनासो गरिरहेका छन् । खाद्यमा सस्तोमा पाइने भएका कारण कतिपय व्यापारीहरूले नै अत्यधिक संख्यामा किन्नसक्ने हुनाले अन्य उपभोक्ताहरूले नपाएको र यस्तो भीड बढेको हुनसक्छ । 

उता व्यापारीहरू आपूmले बाहिरबाट किनेर ल्याउँदा जिउँदो खसी ६ सयदेखि ६ सय ५० सम्म परेको हुँदा सरकारले निर्धारण गरिदिएको मूल्यमा बेच्न नसकेका कारण व्यापारी र उपभोक्ताबीच द्वन्द्व सिर्जना भएको तर्क गर्छन् । खाद्यले थोरै संख्यामा मात्र यस वर्ष खसी बोका ल्याएर बजार नियन्त्रण गरेको हुनसक्छ । आफूले निर्धारण गरेको मूल्यबाट बजार मूल्य कायम हुने खाद्यको सोच सकारात्मक हो तर सरकारले निर्धारण गरेको मूल्य व्यापारीहरूबाट पालना नभएका सन्दर्भमा यथावत् रहन्छ यो निर्णय भन्ने अपेक्षा गर्नु अन्यथा होला । 

व्यापारीले अहिले नै यसको विरोध गरेर आफ्नो खरिद गाउँमै ६ सयभन्दा बढी पर्न गएको बताइसकेका सन्दर्भमा यस वर्ष पनि बजारमा खसी वा मासु सस्तो होला भन्ने आशा नगर्दा हुन्छ । उपभोक्तहरूले पनि दशैँ मनाउने क्रममा जति पनि तिरेर मासु नै खानुपर्ने मान्यतामा परिवर्तन गर्न सके यस्तो अवस्थाको अन्त्य हुनसक्छ । एकातिर कोरोनाको महामारी भयावह रूपमा फैलिरहेको छ भने अर्कातिर महँगीको मार पनि त्यस्तै छ । एक पटक सामान्य व्यवहार अपनाएर पर्व मनाउँदा त्यति फरक पर्दैन तर यसतर्फ हौसिँदा महामारीको मारमा परियो भने त्यसको क्षतिपूर्ति कहिल्यै नहुन सक्छ । यसै पनि सरकारले उपचार गर्नसक्ने जानकारी दिइसकेको छ । नागरिक यतिखेर कोरोनाको मार, सरकारकोअनुत्तरदायी निर्णयसंगै आएको वडा दशैँ उत्सवमा कति रमाउलान् भनिरहनु पर्दैन ।


Views: 66

सम्बन्धित सामग्री:

महानगरको सराहनीय कार्य

: मंसिर ११, २०७७ (८:१२ AM)

शान्ति सम्झौताको अपुरो मर्म

: मंसिर ९, २०७७ (७:५६ AM)