27th November | 2020 | Friday | 6:12:39 AM

सरकार किन ?

  POSTED ON : कार्तिक ६, २०७७ (८:४३ AM)

सरकार किन ?

सरकार भनेको देशको प्रमुख कार्यकारी निकाय हो । यसले जनताको अभिभावकत्व निर्वाह गर्न सक्नुपर्छ । राजनीति शास्त्रले देश हुनका लागि भूमि, जनता, सरकार र सार्वभौमसत्ता हुनुपर्छ भन्छ । अनि सरकारका तीन प्रमुख अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुनुपर्छ भन्ने मान्यता आधुनिक विश्वका सबैजसो मुलुकले मान्दै आएका छन् । जनताले आफैँमाथि शासन गर्न आफ्नो सरकार चुन्छन् । सरकारले सिद्धान्तबमोजिम शासन गरेन भने त्यसको नियन्त्रणका लागि नै हो सार्वभौमसत्ता । अहिले पनि नेपालमा सरकार छ । त्यो पनि नेपालकै इतिहासको दोस्रो शक्तिशाली, झण्डै दुई तिहाइको । 

तर, दुर्भाग्य यो सरकारले जनचाहनाबमोजिम काम गर्न सकेन । जनताका चाहना पूरा गर्न सकेन । अरू सामान्य समयमा हो भने विकास निर्माण कार्यले प्राथमिकता पाउने थिए, हालको विषम अवस्थामा बाटो, पुल, बिजुली बत्ती, विद्यालय स्थापनामा भन्दा सरकारले आफ्नो स्वास्थ्य र पेटपूर्तितर्फ विचार गरिदेओस् भन्ने जनताको चाहना छ । सरकार भने दिनमा एक पटक बिरामीको संख्या र लास गनेर आफ्नो कर्तव्य पूरा भएको ठानिरहेको छ । यसैले प्रतिपक्ष वा अरू दल जस्तै गरी सत्तारुढ दलकै नेताहरू सरकारको आलोचना गर्न बाध्य भएका छन् । यतिसम्मको परिस्थिति आउनुलाई सामान्य अवस्था मान्न सकिँदैन । यो सरकारको ठूलो कमजोरीका रूपमा देखिएको परिस्थिति हो । उनीहरूले सरकारको ध्यानाकर्षण पनि गराएका छन् । 

कुनै व्यक्तिको घर जग्गा जमिनमात्र नभएर आफ्नो देशको चार शरहदभित्रका सम्पूर्ण खानी, पानी, वन, पहाड, पर्वतलगायत सबै कुरा सिद्धान्ततः देशको सम्पत्ति मानिन्छन् । व्यक्तिले सरकारलाई कर तिरेर सरकारको सम्पत्ति भोग गरेको मानिन्छ । अर्को शब्दमा भन्दा व्यक्ति वा नागरिक पनि राष्ट्रकै सम्पत्ति हुन् । त्यसकारण राष्ट्रको सम्पत्तिको संरक्षण राष्ट्रले नै गर्नुपर्दछ । यो संविधानमै निर्दिष्ट भएको व्यवस्था हो । कुनै महामारी वा संक्रामक रोग फैलिएका बेला जनताको उपचार गर्ने दायित्व सरकारको हो । तर, हाम्रो सरकारले कोरोना महामारीले चरम रूप देखाएका बेला अब सरकारले उपचार गर्न सक्दैन, जनताले आफ्नो उपचार आफैँ गर भन्ने सूचना संप्रेषण गरेको छ । सलाई अति दुर्भाग्यपूर्ण मान्नुपर्छ ।

सरकारकै तथ्यांकलाई आधार मान्दा पनि एकजना बिरामीका लागि ३ लाख खर्च भयो र बिरामीहरू १ लाख नाघे । यस तथ्यांकलाई मान्ने हो भने पनि ३० अर्ब खर्च भयो । तर, बिरामीले सजिलै न त अस्पत्तालसम्मको पहुँच पाएको छ न त्यहाँ गतिलो कुनै सेवा नै उपलब्ध छ । त्यहाँ केही रात राखेर बिदा गरिन्छ । हो ऊ त्यहाँ रहुन्जेल सरकारले खान दिन्छ र बेडको पैसा लिँदैन । यस्तो सुविधा सीमित मानिसले पाएका छन् र सरकारी अस्पतालमा मात्रै दिइएको छ । यत्तिका भरमा एकजनाका लागि ३ लाख खर्च भयो भन्ने तर्कमा विश्वास गर्न सकिँदैन । सरकारले त जनताको उपचार गर्न थाल्नुपहिले नै नौ अर्ब खर्च भयो भनेको थियो, अहिले ३० अर्ब खर्च भयो भन्न उसलाई अप्ठ्योरो नलाग्ला । 

अझै भन्ने हो भने सरकारी हिसाब किताबमा त्यो भन्दा बढी देखाइएला तर जनता धेरै होम क्वारेन्टाइन वा टोल वा वडाले व्यवस्था गरेका ठाउँमा बसेर १४ दिन बिताइरहेका छन् । यस्तो अवस्था छँदाछँदै सरकारले जनताका लागि केही नगर्ने, महामारीको संत्रास फैलिएका बेलासमेत सरकार केही गर्न सक्दैन भन्ने हो भने सरकार केका लागि ? जनताका लागि सरकार होइन भने कसका लागि ? काम गर्नका लागि होइन भने केका लागि ? यस्ता अनगिन्ति प्रश्न उठ्न सक्छन् । यो सरकार बन्नासाथ विभिन्न क्षेत्रमा २ हजार गुनासम्म बढाइएको कर केका लागि ? यो सरकारसँग नेपाली जनताका ज्वलन्त प्रश्न हुन् आजका लागि । सरकारले यसको चित्तबुझ्दो जवाफ नेपाली जनतालाई दिनुपर्छ ।


Views: 97

सम्बन्धित सामग्री:

महानगरको सराहनीय कार्य

: मंसिर ११, २०७७ (८:१२ AM)

शान्ति सम्झौताको अपुरो मर्म

: मंसिर ९, २०७७ (७:५६ AM)