2nd December | 2020 | Wednesday | 12:49:14 PM

नव दुर्गाले सबैलाई रक्षागरुन्, विजया दशमीको मंगलमय शुभकामना

  POSTED ON : कार्तिक ७, २०७७ (९:२३ AM)

नव दुर्गाले सबैलाई रक्षागरुन्, विजया दशमीको मंगलमय शुभकामना

नेपालीहरूको महान् चाड विजया दशमी सदाझैँ यो पटक पनि हाम्रा घर आँगनमा आएको छ । नवरात्री सुरु भएको आज सातदिन हुँदैछ । विजया दशमी विगतजस्तो छैन । मानिसहरूका मनमा हर्ष, उमंग, उत्साह, आनन्दको स्थानमा भय, पीडा, सन्त्रास व्याप्त छ । तर भय र सन्त्रासलाई पराजित गर्न मानिसहरू बलात् मुस्कुराई रहेका छन् । आफन्तहरूसँगको भेटलाई सचेतताका साथ स्वीकार गरिरहेका छन् । जतिसुकै पीडा भए पनि मानिसले जीवन र परिस्थितिको यथार्थतालाई वरण गरेका छन् । धर्म, संस्कार, संस्कृति परम्पराका विषयहरू सुख र दुःख दुवै अवस्थामा उत्तिकै महŒवपूर्ण हुन्छन् । कतिको घरमा अभिभावक गुमाएको शोक छ, कतिका घरमा आत्मीयजन गुमाएको पीडा छ, कतिपय घरमा संक्रमणको आतंक छँदैछ । तर पनि विजया दशमी पर्वलाई मानिसहरूले मनाउने प्रयास गरेकै छन् । हिजो जस्तो बजारमा चहलपहल छैन । यात्रामा भीड घटेको छ । विदेशबाट स्वदेश फर्कनेहरू कम छन् । आफन्तजनसँग भेट गर्ने र आशिर्वाद लिने कामना मनमा नै साँचेर बस्नुपर्ने बाध्यता छ । मानिसहरूलाई जीवनप्रतिको आग्रह र विश्वासले उत्प्रेरित गरिरहेको छ । जीवनप्रतिको मोह हरेक प्राणीमा अन्तर्भूत कमजोरी हो । हरेकमा मृत्युको भय हुन्छ र मृत्युमाथि विजय हासिल गर्ने सबैको प्रयास हुन्छ र हुनुपर्छ । अरू प्राणीहरूभन्दा पृथक ईश्वरमाथिको भरोसा, देवीदेवतामा विश्वास, कूलदेवतामा आस्था मानिसहरूले प्रकट गरिरहेका हुन्छन् । परम्परा र धार्मिक संस्कृतिको जग यतै कतैबाट बसेको हुनुपर्छ ।

 नेपालमा सबै नेपालीहरूले कुनै न कुनै रूपले सबै चाड मनाइरहेका हुन्छन् । विविधताबीचको एकता, एकतासहितको सहकार्य र सान्निध्यता नेपाली संस्कृति हो । धार्मिक कट्टरता नेपालीहरूमा त्यति देखिँदैन । सांस्कृतिक उदारता नेपाली परम्परा हो । इस्लाम धर्मवलम्बीले पनि बडा दशैँको टीका लगाएको, भाई टीका लगाएको अनेक उदाहरण छन् । ती प्रशंसनीय छन् । ओंमकार परिवारका बीचको सहकार्य, सद्भाव र सम्बन्ध त पारिवारिक नै छ । धर्म निरपेक्षतालाई संविधानमा समावेश गरेपछि समाजमा कट्टरताको भ्रूण विकास भएको छ र यसले विशाल आकार लिने हो कि भन्ने सन्देह पैदा गरेको छ । यसको अन्तर्य कारण भनेको धर्म निरपेक्षताले प्रदान गरेको स्वतन्त्रताको दुरूपयोग गर्दै विपन्न, सीमान्त र भेदभावमा परेका नागरिकहरूमा अतिरञ्जनाको जादू प्रयोग हुनु । त्यस जादूको सिकार नेपाली समाज हुँदै गएको छ र यसले परम्परागत अवस्थामाथि अतिशय प्रहार गरेको विश्वास एकथरिले लिएको अवस्था छ । यही विश्वासका कारण विस्तारै सांस्कृतिक, धार्मिक अतिक्रमण आरम्भ भएको छ र कट्टरतावादले स्थान लिन लागेको छ । यो भने चिन्ताको विषय हो । धार्मिक अतिक्रमणको प्रतिरोध गर्न कट्टरतावादले शीर उठायो भने त्यो समाज र राष्ट्रको राजनीति, समाज सबै विचलित हुन्छ । हुन त राजनीतिक हिंसामा प¥यो भने प्रतिहिंसाको सामना गर्नै पर्छ समाजवा राज्यले । तर धार्मिक सांस्कृतिक जस्तो समाजको मर्म संमत्यसको प्रभाव हुँदैन । नेपालका मौलिक धार्मिक सांस्कृतिक चरित्र हिन्दू, बौद्ध, किरात, बोन र इस्लाम भनेर मानिँदै आएको थियो र एकआपसमा सुमधुर सम्बन्ध थियो । अहिले स्थितिमा भिन्नता छ । धार्मिक स्वतन्त्रताको उपयोग इसाई धर्मका समर्थकहरूले पनिपाएका छन् । धार्मिक स्वतन्त्रताभित्र स्वाभाविक हो । तर जुन कट्टरताका साथ धर्मान्तरण जसरी भइरहेको छ त्यसप्रति भने स्थापित चिन्ता अस्वाभाविक होइन ।

अहिले कोभिड पीडा व्याप्त छ । यस अवस्थामा कुनै पनि हालतमा कुनै चाडपर्वहरू हिजोको जस्तो खुला मनले खुला शैलीमा मनाउन सकिँदैन । सुरक्षाका सबै उपाय अवलम्बन गरी चाड मनाउनु आवस्यक छ । टीका ग्रहण गर्ने र आशिर्वाद लिने आफ्ना अभिभावकबाट हो र उमेर पुगेकाहरू नै हुन्छन् त्यस्ता अभिभावक । यसर्थ यो पटक आधुनिक प्रविधिको उपयोग गरी सबैले आशिर्वाद ग्रहण गरौं । जगतका लागि जीवन अनिवार्य छ । जीवनको सुरक्षा गर्नु हरेक प्राणीको कत्र्तव्य हो । महान् पर्व बडादशैँको उपलक्ष्यमा नवदुर्गा भगवतीले कोभिडसँग प्रतिरोध गर्ने र सबैलाई सुरक्षित हुने अवसर र आशिर्वाद दिऊन् । हिमालय टाइम्स राष्ट्रिय दैनिक र हिमालय टाइम्स अनलाइनका पाठक, ग्राहक, विज्ञापन दाता, सहयोगी, शुभेच्छुक र सम्पूर्ण नेपालीमा हिमालय टाइम्स परिवारका तर्फबाट हार्दिक मंगलमय शुभकामना ।


Views: 19

सम्बन्धित सामग्री:

सकारात्मक कार्यको थालनी

: मंसिर १७, २०७७ (८:५० AM)

भारत र चीनको सक्रियता

: मंसिर १६, २०७७ (८:१८ AM)

कागजविहीन कार्यालय प्रणाली

: मंसिर १५, २०७७ (८:२७ AM)