3rd December | 2020 | Thursday | 3:02:41 AM

नेकपामा बिन्ती पत्रको राजनीति

  POSTED ON : कार्तिक २५, २०७७ (८:४६ AM)

नेकपामा बिन्ती पत्रको राजनीति

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा चमत्कारी कामहरू भइरहेका छन् । यी कामहरू हेर्दा यस पार्टीमा आबद्धहरूलाई त अस्वाभाविक नलागेको हुनसक्छ । तर आमनागरिकहरू भने फोहोर गर्नेलाई भन्दा देख्नेलाई लाज अनुभव गरिरहेका छन् । केही दिन पहिले नेपाल कम्युनिष्ट पार्टीका मूर्धन्य नेताहरूले प्रधानमन्त्री केपी ओलीसमक्ष पुगेर बिन्ती पत्र चढाउनुभयो । विन्तिपत्रमा देशका कुनै जल्दावल्दा समस्याहरूको समाधान गर्नुपर्ने आग्रह वा मागहरू थिएनन् । त्यस बिन्ती पत्रमा उहाँहरूको पीडा प्रकट गरिएको थियो । प्रभुजी कमसेकम पार्टी सचिवालयको बैठक त बोलाई दिनुप¥यो भन्ने उहाँहरूको बिन्ती बिसाई थियो । सचिवालयका नौजना सदस्यमध्ये पाँचजना यसै पनि बहुमतमा हनुहुुन्छ । त्यसमा पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल आफैं हुनुहुन्छ । कार्यकारी अध्यक्ष भन्नासाथ बैठक बोलाउने वा स्थगित गर्ने, पार्टी संगठन र सूचना संपर्कका कामसमेत गर्ने, सचिवालय सञ्चालन गर्ने निर्णायक अधिकार सम्पन्न बुझिन्छ । तर पुष्पकमल दाहालसहितका नेताहरू त्यस पार्टीभित्र कति निरीह हुनुहँुदो रहेछ भन्ने दयनीय अवस्थालाई सार्वजनिक गर्दै पाँचजना नेताहरू प्रधानमन्त्री ओली सामु बिन्ती पत्र बोकेर अनुनय गर्न पुग्नुभएको दृश्यले स्पष्ट गरेको छ । कार्यकारी अध्यक्ष दाहालसहित पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल तथा पूर्वउपप्रधानमन्त्रीहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सचिवालयका सदस्यहरू हुनुहुन्छ । उहाँहरू नौमध्ये बहुमत राख्नुहुन्छ सर्वाधिक शक्तिशाली दाबी गरिरहनु भएको छ । तर जीर्ण शरीर बोकेका केपी ओलीका सामु उहाँहरू यथार्थमा निरीह देखिनु भएको छ । कुनै समयमा बाघजस्ता आक्रामक लाग्ने दाहाल र तत्कालीन एमालेका निर्णायक नेपाल–खनाल, गौतम र साथमा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सूत्राधार मानिने नारायणकाजी श्रेष्ठले ओलीका सामु यसरी निरीहता प्रकट गर्नु राजनीतिको विडम्बनै मान्नुपर्ने हुन्छ । एकप्रकारले आफूमा निर्णायक क्षमता नभएको सार्वजनिक रूपमा यी पाँच नेताहरूले प्रमाणित गर्नुभएको छ ।

उहाँहरूको बिन्ती बिसाईप्रति प्रधानमन्त्री धेरै गम्भीर देखिनु भएको छैन । अत्यन्त हल्काफुल्का ढंगले आफूलाई हटाउन र गुटबन्दी बढाउनमात्रै पाँच नेताहरूले सचिवालयको बैठक बोलाउने प्रयास गरेको प्रधानमन्त्री ओलीको बुझाइ छ । उहाँको बुझाइ गलत नहुनसक्छ । कार्यकारी अध्यक्ष दाहालले केही दिनअघि प्रधानमन्त्री ओलीले पार्टी फोडेर जानसक्ने सुझाव दिएको र उहाँले पनि त्यही अनुरूप तयारी गरेको जानकारी आफू सम्बद्ध समूहलाई दिनु भएको थियो । तर ओलीले प्रतिउत्तरमा दाहालले पार्टी विभाजित गर्न लाग्नु भएको भन्दै यसलाई रोक्न नेताहरूसँग आग्रह गर्नु भएको समाचारहरू पनि प्रकाशित भइरहेका छन् । केही दिनको मौन व्रतपछिको भेटमा दाहाल र ओली एकआपसमा मित्रवत् प्रस्तुत हुनसक्नु भएको थिएन । उहाँहरू एकले अर्कोलाई जाली र महाजाली आरोप लगाएको विषय सार्वजनिक रूपमा चर्चित छ । ओलीले पुष्पकमल दाहाललाई जाली भनिरहँदा दाहालले ओलीलाई महाजाली भन्नु भएको प्रसंग सुनिरहेको अवस्थामा यो बिन्ती पत्रको सार्थकता केही होला भनेर अनुमान गरिरहनु पर्दैन । जाली र महाजाली भन्ने थेगो नेपालमा लयबद्ध प्रचलित छ । हेम्जाली, स्याङ्जाली, झापाली जस्ता शब्दहरूले जालको अर्थ उपाधि पाएका छन् । दाहाल हेम्जाली र ओली झापाली हुनुहुन्छ । सायद यो जाली र महाजाली शब्दको प्रयोग उहाँहरूको मुखबाट निस्कनु यही शब्दबोधको प्रभाव हो कि ? तर यसखालको अभिव्यक्तिले उहाँहरूको राजनीतिक संस्कार र स्तरको मापन गर्न भने सहज भएको छ । नेपाली जनताले ओली महाजाली वा दाहाल जाली हुनुहुन्छ कि हुनुहुन्न भनेर निक्र्यौल गर्नुपर्ने भएको छ । तर अनावस्यक रूपमा उहाँहरू जाली वा महाजाली के हो र हो कि होइन भनेर मस्तिष्क खियाउनु जरुरी छैन । सर्पके खुट्टा सर्पले देखेजस्तै उहाँहरू दुवैजना कम्युनिष्ट दर्शनबाट दीक्षित हुनुहुन्छ र एकअर्काको गुण र चरित्रबाट परिचित हुनुहुन्छ होला । अरूले यसमा भुरा पसिरहनु पर्दैन । तर उहाँहरूको जाल वा महाजालमा परेर नेपाली जनता हरिकंगाल हुन लागेका छन्, देशको अवस्था भताभुंग भएको छ, सरकार असफल भइरहेको छ र राज्यप्रणालीप्रति आम नागरिकमा असन्तोष पलाउन लागेको छ, यसप्रति भने चिन्ता गर्नैपर्ने भएको छ । जाली वा महाजालीको छिनोफानो बिन्ती पत्रबाट हुने कुनै लक्षण छैन ।


Views: 115

सम्बन्धित सामग्री:

सकारात्मक कार्यको थालनी

: मंसिर १७, २०७७ (८:५० AM)

भारत र चीनको सक्रियता

: मंसिर १६, २०७७ (८:१८ AM)

कागजविहीन कार्यालय प्रणाली

: मंसिर १५, २०७७ (८:२७ AM)