6th December | 2020 | Sunday | 3:48:51 AM

राप्रपाको सडक संघर्ष

  POSTED ON : कार्तिक २७, २०७७ (८:१९ AM)

राप्रपाको सडक संघर्ष

यो शीर्षक आफैंमा निकै रमाइलो रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सडक संघर्ष गर्ने र आफ्ना मागहरू पूरा गर्ने योजनाका तहत सडक आन्दोलन गर्ने निष्कर्ष निकालेको छ । दलीय पद्धतिमा कुनै पनि दल सानो वा ठूलो मानिँदैन । स्क्याण्डिनेवियन देशहरूमा त साना दलहरूका लागि सरकारले नै आर्थिक सहयोग गरिरहेको हुन्छ । पार्टी संगठन विस्तार गर्न, सचिवालयको अपुग खर्च व्यवस्था गर्न र प्रचार सामग्री तयार पार्न जुनसुकै जो सुकै सरकारमा रहेको भएपनि त्यसले सहयोग गरिरहेको हुन्छ । त्यहाँ अत्यन्त उन्नत प्रजातान्त्रिक समाजवादी मोडलको प्रणाली छ । नेपालको सन्दर्भमा त्यही मोडलको पक्षमा रहेको नेपाली कांग्रेसले त्यस्तो कुनै गन्तव्य समात्न अहिलेसम्म सकेको छैन । यस्तै सिद्धान्तका लागि निर्मित सोसियलिष्ट इन्टरनेशल नामको एउटा संस्था छ जसको पुनर्जन्म हुन सकेको देखिँदैन । 

केही देशहरूका राजनीतिक दल र नेताहरू त्यसमा जोडिएका भए पनि तिनीहरूबाट खास अर्थपूर्ण भूमिका देख्न पाइएको छैन । नेपालबाट नेपाली कांग्रेस त्यस संस्थाको सदस्य छ । तर नेपालको अर्थतन्त्रले यस प्रकारको नीति धान्न नसक्ने कुरा बढी तर्कसंगत देखिएको छ । किन पनि यो तर्क संगत छ भने यदि सरकारले साना दलहरूलाई पार्टी सञ्चालन गर्न सहायता गर्ने हो भने तीन करोड नेपालीहरूमध्ये अधिकांशको पसल राजनीतिक दल नै हुनेछ । अरू केही काम गर्नुपर्ने आवस्यकता अनुभव नहुनसक्छ । तर निश्चित विधि बनाएर केही आधारभूत मापदण्डका आधारमा साना दलहरूका लागि सहयोग गर्ने, दलहरूको निर्वाचन खर्च व्यहोर्ने र राजनीतिक दलहरूको आयव्ययको सार्वजनिक लेखापरीक्षणको व्यवस्था गर्ने हो भने निश्चय पनि नेपाल जस्तो राष्ट्रका नयाँ र साना राजनीतिक दलहरूले आफूलाई सकारात्मक बनाउनु सजिलो हुनेछ ।

सिद्धान्ततः बहुदलवादी बहुदलीय राजनीतिक पद्धतिमा कुन समयमा कस्को कस्तो भूमिका हुनसक्छ भनेर अनुमान गर्न कठीन छ । निर्णयाधिकारी जनता हुन्छन् यस्तो पद्धतिमा । जनताको मूड कुन बेला कतातिर ढल्किन्छ थाहापत्तो हँुदैन । तर ०४७ सालमा गठन भएको यो राप्रपा नामको पार्टी अन्त कतै बिसाउने ठाउँ नपाएका वा खोज्न नसक्ने र अव यसउमेरमा अरू केही गर्न नसक्ने बूढाहरूको विश्राम चौतारी जस्तो हुन पुगेको छ । केही राम्रा र प्रभावशाली युवाहरू त्यस पार्टीमा रहे पनि उनीहरूको भूमिका खास केही देखिँदैन । कतिपय प्रभावशाली युवा नेताहरूसहित अनेक पुरना अनुहारहरू पनि यो पार्टीलाई नमस्कार गर्दै बाहिर भएका छन् । केही महिना पहिले राप्रका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापासहितको ठूलो पंक्तिले यो दल परित्याग गरेको थियो । यस दलको सिद्धान्त बितेको तीस वर्षमा पनि स्पष्ट हुनसकेन, सहभागिताको भरपर्दो आधार विकास हुन सकेन, यसले कुनै त्यस्तो प्रभावकारी योजना र कार्यक्रम दिन सकेन र सबभन्दा ठूलो राजनीतिक विश्वास आर्जन गर्न सकेन । 

अवसरवादी सोच र प्रयोगले राप्रपा नामको दल नराम्ररी बिरामी हुनपुगेको छ । यसरी थला बसेको यो दलले महँगीविरुद्ध, भ्रष्टाचारविरुद्ध, कुशासनविरुद्ध, कोभिड १९ को प्रभावकारी उपचार नगर्न असमर्थ सरकारविरुद्ध सडक संघर्षको प्रस्ताव गरेको छ । उसले अरू कुनै समान सामथ्र्यका दलहरूसँग सहकार्य गर्ने इच्छा गरेको पनि देखिँदैन । नेपालमा अनेक साना दलहरू छन् । ती दलहरूका बीचमा यस्ता समान स्वार्थसँग जोडिएका विषयलाई उठान गर्ने जाँगर भएमा सबै मिलेर प्रभाकारी अभियान वा आन्दोलन गर्न सक्दछन् । यतिखेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबाहेक नेपाली कांग्रेस र जनता समाजवादी पार्टी राष्ट्रिय व्यक्तित्वकासाथ राजनीतिक परिदृश्यमा छन् । ती ठूला दलहरूमध्ये सत्तारुढ दल र कमोबेस प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि निरर्थक र सिद्धान्तहीन विवादको बन्दी भएको अवस्था छ । यस्तो समयमा बलियो तेस्रो विकल्प हुनसकेमा दुई दलीय प्रभुत्वमाथि चुनौती र चेतावनीसमेत हुनसक्छ । यदि जनतासमाजवादी दलले आफूलाई यसतर्फ उत्प्रेरित ग¥यो र साझा पार्टीसहित राप्रपाहरूसमेत राष्ट्रिय मुद्दा र जनसरोकारका विषयमा एक ठाउँ उभिनसकेमा केही असरदायक होला, नत्र अस्तित्वको सानो रिहर्सलबाहेक राप्रपको यो सडक संघर्ष अरू कुनै परिणाममुखी हुने छैन । 


Views: 66

सम्बन्धित सामग्री:

सकारात्मक कार्यको थालनी

: मंसिर १७, २०७७ (८:५० AM)