3rd December | 2020 | Thursday | 2:58:43 AM

प्रधानमन्त्रीको आश्वासन र तिहारको शुभकामना

  POSTED ON : कार्तिक २८, २०७७ (८:४७ AM)

प्रधानमन्त्रीको आश्वासन र तिहारको शुभकामना

सम्पूर्ण नेपालीहरूको अर्को ठूलो चाड लक्ष्मीपूजा, भाइ टीकाको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवासभामा पुगेर नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरूलाई पार्टी एक रहनेछ भनी आस्वस्त पार्ने प्रयास गर्नु भएको छ । कोभिड १९ को संक्रमणको सिकार भएको समाज यसै पनि निराश, हतास छ । कुनै चाडपर्व मनाउने मुडमा देखिँदैन र वातावरणलाई जति सहजब नाउन खोजे पनि सोचे जस्तो सहज हुन सकेको छैन । त्यसमा पनि राजनीतिक रूपमा सत्तारुढ दलको नाटकबाट आम मनस्थिति दिक्क भएको अवस्थामा छ । सत्तारुढ दलका नेताहरूको अत्यन्त लज्जाजनक प्रस्तुतिले नेपाली मन जति कुँढिएको छ । नेपालका सहयोगीहरूमा पनि सायद त्यस्तै अनुभव भएको होला । पार्टी फुट र जुटको कथाले प्रतिदिन सञ्चारमाध्यम भरिएका हुनछन् । उज्यालो भएदेखि राति सुत्नु पहिले पनि नेकपाको फुट र एकताकै कुरा सुन्नु परिरहेको छ । कमसेकम हल्ला नगरी फुटे र एकता भएमा निकै हाइसञ्चो हुने थियो । 

आफूबाहेक कसैले पनि देश चलाउन नसक्ने उद्घोष गर्नु भएका प्रधानमन्त्रीले अब पार्टीसमेत आफ्नै नियन्त्रणमा आएको अनुभव गरेको हुनुपर्छ र नै अब पार्टी फुट कसैको इच्छा वा अनिच्छामा नहुने विचार प्रवाहित गर्न लाग्नु भएको छ । यसरी प्रधनमन्त्रीले केही दिन पहिलेभन्दा निकै फरक विचार दिनु भएको छ । कसैको इच्छाको भरमा नेपाल कम्युनिष्ट पार्टी नफुट्ने उहाँको भनाइ त्यसै आउको होइन । केही दिन पहिले अलग बाटो समात्न आग्रह गर्दा पनि पुष्पकमल दाहालले त्यस आग्रहको कुनै सकारात्मक उत्तर नदिनु भएपछि संभवतः ओली पर्टी नफुट्नेमा ढुक्क हुनुभएको छ । सक्छौ भने फोड, नभए पनि अर्को बाटो लिन सकिन्छ भनेर निकै पटक पार्टी भित्रका विपक्षीहरूको हैसियत जाँच गरिसकेका प्रधानमन्त्रीले आम कार्यकर्तालाई पार्टी नफुट्ने निर्णय सुनाउनु भएको हुनुपर्छ । वस्तुतः नेपाल कम्युनिष्ट पार्टीमा अहिले प्रधानमन्त्रीलाई चुनौती दिने वातावरण र क्षमता दुवै देखिएको छैन । दाहालले अर्का शीर्ष नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायण काजी श्रेष्ठको समर्थनमा ओलीलाई गलाउन निकै प्रयास गर्नु भए पनि उहाँ सफल हुनु भएको छैन । ओलीले सायद दाहालले अनुभव गरिरहेको त्यस असफलताको कमजोर कडी थाहापाइ सक्नु भएको हुनुपर्छ । यसै कारण चुनौतीका साथ भनिरहनु भएको छ कसैको इच्छाले नेपाल कम्युनिष्ट पार्टी विभाजित हुने छैन । 

प्रधानमन्त्री ओलीको यो भनाइले दाहाल समूह नै पार्टी फोड्न उद्यत् रहेको सन्देश र संकेत दिएको छ । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष ओलीले यसअघि आफंैले अर्को बाटो लिएर जान गरेको आग्रहदेखि पार्टी विभाजन प्रक्रियालाई सहज बनाउने उद्देश्यका साथ कानुन सरल बनाउन गरेको प्रयासको ढाकछोप गर्नु भएको छ । अर्थात् विभाजनको चासो दाहाल, नेपाल, खनाल, गौतम र श्रेष्ठमा रहेको तर उनीहरूको जोड् नचल्ने आश्वासन दिनुभएको छ । प्रधानमन्त्रीको यो भनाइलाई दाहालपक्षले कसरी मूल्यांकन गर्ने हो र कुन रूपमा लिने हो सार्वजनिक भएको छैन । तर प्रधानमन्त्री ओलीले अहिलेसम्मको सबै पार्टीतहको दोष भने आफूबाहेक अरूमा पन्साउनु भएको छ । सरकार सञ्चालनदेखि पार्टी सञ्चालनमा समेत असफल भएको सरकारको नेता ओलीले सबै दोष पार्टीभित्रको विपक्षीमाथि लगाएर आफूलाई सर्वशक्तिमान् घोषित गरिरहनु भएको छ । पुष्पकमल दाहाल र उहाँको पक्षले केही दिन पहिले बैठक बोलाउन बिन्ती पत्र बोकेर गएपछि निश्चय नै प्रधानमन्त्री सर्वशक्तिमान् सिद्ध हुनुभएको देखिन्छ पार्टीभित्र । अबका दिनमा कुनै आन्तरिक परिवर्तन भएको अवस्थामा समेत प्रधानमन्त्रीकै अनुग्रहमा हो भन्ने बुझ्न कठिन हुने छैन । 

कठिन अवस्थामा लक्ष्मीपूजा र भाइ टीका, नयाँ वर्ष त्सवन्हूँदया भिन्तुना जस्तो चाड पर्व मनाइरहेका नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरूलाई सायद उहाँको यो सन्देशले सुखानु भूति हुने नै छ । तर आमनागरिकलाई भने निरन्तर भइरहेको मानसिक पीडा र कोभिड १९ ले विस्तार गरिरहेको जीवन मृत्युको भयले सताउन नछाडेसम्म यी सबै पर्वहरू औपचारिक मात्र हुने छन् । तैपनि हामी सबैप्रति शुभकामना प्रकट गर्दछौं ः सुरक्षित भएर, स्वस्थ रहेर चाडपर्वको रमाइलो अनुभव गरौं ।


Views: 53

सम्बन्धित सामग्री:

सकारात्मक कार्यको थालनी

: मंसिर १७, २०७७ (८:५० AM)

भारत र चीनको सक्रियता

: मंसिर १६, २०७७ (८:१८ AM)

कागजविहीन कार्यालय प्रणाली

: मंसिर १५, २०७७ (८:२७ AM)