3rd December | 2020 | Thursday | 4:02:44 AM

पर्व पछिको पर्व

  POSTED ON : मंसिर ३, २०७७ (८:५३ AM)

पर्व पछिको पर्व

नेपालीहरूका केही महान् पर्वहरू यो सालका लागि बिदा भए, केही आउँदै छन् । सामाजिक संस्कृतिका अनेक धरोहर पर्वहरूलाई यो पटक मानिसहरूले अत्यन्त गह्रौं मनले पूरा गरे । मनमा अनेक आशंका, भय, अनेक मृत्युका दैनिकीहरूले मानिसहरू कुनै दिन पनि तनावरहीत हुनसकेका छैनन् । तनावमा मनाइने उत्सव सरस र प्रफुल्ल हुनसक्दैन । एका काँधमा लास र अर्का काँधमा डोली बोक्ने जस्तो पीडा यो पटकको पर्व हुनपुग्यो र भइरहेको छ । नेपालीहरूका लागि मात्र होइन संसारकै लागि कुनै पनि उत्सवहरू उल्लासमय भएनन् । यौटा सानो निर्जीव कीटाणुको प्रकाप यति व्यपक र प्रलंकारी हुनसक्छ भन्ने सोच सायद पहिलो पटक मानिसहरूले अनुभव गरेको हुनुपर्छ । इतिहासमा अनेक भयावह यस्ता दुर्घटनाहरू, विपत्तिहरू भएका पढ्न पाइन्छ तर त्यो युग अर्कै थियो । विकासर आविष्कारका दृष्टिकोणले त्यो युगलाई पुरातन भनेर हामीले हेलाहोचो गरिरहेका छौं । त्यो युगभन्दा धेरै अर्थमा यो युगलाई सुविधा संपन्न मानेर हामी सबैको जिवीका चलिरहेको छ । यसैकारण त्यस युगका विपद्हरूको तुलना आजको युगका लागि अनुचित हुनेछ । अहिलेको आधुनिक आविष्कारसमेत कोभिड १९ को बन्दी भएको छ । संसारलाई एउटै अणुका भरमा त्रासदी पैदा गर्नसक्ने अनेक महारथीहरूको हालत निकै पातलो भएको छ । तर पनि मानव मस्तिष्क बेजोड छ कुनै कुनै रूपमा समाधान खोज्ने छ र नयाँ संभावनातर्फ उन्मुख हुनेछ भन्नेमा सन्देह छैन । आसा नै म¥यो भने जीवनको अर्थ स्वतः अन्त्य हुनेछ । हामीले संकटसँग जुध्दै गर्दा आशाकासाथ हरप्रहर जीवनको संभावना खोजिरहेका हुन्छौं । विगत एक वर्षयता सिंगो मानव समुदायले जीवनको त्यही आसा र संभावनालाई नियाल्दै दिन व्यतति गरिरहेको अवस्था छ । 

तर नेपालीहरूले सांस्कृतिक पर्व मनाउँदै गर्दा राजनीतिका पर्वहरूका संभावनाहरू अब कसरी मञ्चित हुने हुन् अनुमान गरिरहेका छौं । पर्वहरूको अर्थ कोत पर्व, भण्डारखाल पर्व वा यस्ता हिंसात्मक पर्वहरूको कल्पना होइन । पर्व उत्सवका रूपमा लिइने गरिन्छ । मनोरञ्जन र आनन्दको समय हो पर्व । तर नेपालका इतिहास लेखकहरूले किन भने कोत पर्व र भण्डारखाल पर्व । ती क्रुर घटनाहरूको विश्लेषण गर्दा पर्व लेख्नुभन्दा पनि दुर्घटनाको अभिलेख भनिएको भए बढी उचित हुने थियो होला । तर पर्व मुखाग्रे शब्द हुन पुगेको छ । अहिले त्यसखालको हिंसात्मक पर्व कल्पना गर्नु गलत हुनेछ र विकृत मानसिकता हो त्यो । राजा वीरेन्द्रको वंशनाशको दुर्घटना र माओवादी सशस्त्र हिंसा क्रुर र अमानवीय थिए । ती कुनै पर्व थिएनन् । तर पनि कोतपर्व र भण्डारखाल पर्वकै रूपमा वीरेन्द्र वंशनाशलाई पर्व भन्ने प्रचलन परम्पराकै रूप हो । तर त्यस्तो हिंसा र क्रुरता नभएर नेपालको वर्तमान राजनीति प्रतिदिन नव पर्वहरूको सिर्जना गरिरहेको छ । जसरी सांस्कृतिक पर्व तनावमा मनाइयो त्यसै गरी आजका राजनीतिक पर्वहरूलाई पनि नेपालीहरू भोगिरहेका छन् । सबल रूपमा सत्तारुढ दलको व्युहद्वारा निर्मित राजनीतिक पर्वहरूको खेलमा नेपाली जनता प्रतिदिन पीडित हुँदै छन् । यस्तो भ्रान्ति सिर्जनाका कारक त नेपाली जनताको साम्यवादी सोचको मोह नै हो । मतदाताहरूले लोकतन्त्रमा एक खुट्टा र अर्को खुट्टा एकदलीय तानाशाही पद्धतिमा राख्न खोजेको दृश्यलाई भुसुक्क बिर्सिएको हुनाले नै आजको सत्तारुढ दल बलियो जनमत पाउन सफल भएको थियो । त्यस पार्टीका शीर्ष नेताहरूले नाटकीय एकता गरेपछि नेपालको भाग्य र भविष्य सुनौलो हुने, चमत्कारपूर्ण विकास र समृद्धि, शान्ति र न्याय हासिल हुने सपना मतदाताहरूमा थियो । तर तीन वर्ष निरर्थक बिते, घर झगडामा नै बिते, एकअर्कालाई सानो, होचो देखाउनमै बिते, एकले अर्काको जीउबाट छारो उडाउँदै बिते । के अब पनि नेपाली जनताहरू त्यस पार्टीका छलकपटपूर्ण भाषा र भाषणहरूको पछि लाग्नु उचित हुन्छ त ? । अब दुई वर्षमा उनीहरूले आफ्नै शरीर कन्याएर लगाएको घाउमा मल्हम लाउँदैमा वित्ने होला सकारात्मक भएमा पनि । तर सकारात्मक हुने कुनै लक्षण छैन । अबको प्रतीक्षा हो अर्को कुनै राजनीतिक पर्वउत्सवको । हिंसाको होइन, परिवर्तनको पर्वोत्सव । सत्ताधारीहरूको असफलताले सिर्जना गरेको अराजकताविरुद्ध सुशासनको पर्वोत्सव के सम्भव होला त ?


Views: 55

सम्बन्धित सामग्री:

सकारात्मक कार्यको थालनी

: मंसिर १७, २०७७ (८:५० AM)

भारत र चीनको सक्रियता

: मंसिर १६, २०७७ (८:१८ AM)

कागजविहीन कार्यालय प्रणाली

: मंसिर १५, २०७७ (८:२७ AM)