6th December | 2020 | Sunday | 3:43:31 AM

विश्व शौचालय दिवस

  POSTED ON : मंसिर ४, २०७७ (९:१४ AM)

 विश्व शौचालय दिवस

सरसफाइ आधुनिक जीवनशैलीको सर्वाधिक महत्वको विषय हो । अन्तर्राष्ट्रिय समुदायले जीवनको सुन्दरता सफाइ भनिरहेको छ । मानिसलाई रोग लाग्नु पहिले पूर्वसावधानी आवस्यक हुन्छ र त्यो पूर्वसावधानीको प्रमुख विषय हो शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य र सफाइ । मानिसहरूमा कुनै रोग लाग्नु आफैंमा क्षयीकरण हो । संस्कृतमा एउटा स्मरणीय कथन छ ः शरीरमात्रम् खलु धर्म साधनम् । सम्पूर्ण धर्मको एकमात्र साधन शरीर नै हो । सुकर्मको चेतना स्वस्थ शरीरमै हुन्छ । यसै कारण संयुक्त राष्ट्र संघले सफाइका लागि सचेत गराउन विश्व स्वास्थ्यअन्तर्गत अन्तर्राष्ट्रिय शौचालय दिवस मनाउने गरेको छ । नोभेम्बर १९ का दिन संसारभर सफाइ चेत विस्तार गर्न शौचालय दिवसको स्मरण गरिन्छ । अविकसित, विकासशील र कतिपय विकसित देशहरूको ग्रामीण क्षेत्रमा समेत शौचालय चेत पुगेको नहुनसक्छ । यद्यपि सम्भ्रान्त र विकसित देशहरूमा शिक्षा र चेतनाले प्रत्येक घरपरिवार र नागरिकलाई सुसूचित गराएको हुन्छ । उनीहरूमा सफाइ र त्यो पनि शौचालय, ढल, फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने जानकारी पर्याप्त हुने गर्दछ । सानै उमेरमा बालबालिकाहरूमा शिक्षा र सार्वजनिक उदाहरणबाट सरसफाइको आवस्यकता र महत्वबारे प्रशस्त जानकारी उपलब्ध हुने गर्दछ विकसित देश र समाजमा । तर अविकसित वा अल्पविकसित देश र समाजको कुरा फरक छ । एसियाका गरिब, पिछडिएका र अशिक्षित जनतामा सफाइको, शौचालयको, ढलको फोहोर व्यवस्थापनको ज्ञान हुनु दुर्लभ हुन्छ । पेटको समस्याले ग्रस्त समाजमा निरोगिताको आवस्यकताबोध त्यति हुँदैन । पहिले पेट त्यसपछि मात्र अरू विषयभन्ने समाजको मनोवृत्तिजन्य माग हो र आवस्यक पनि । अहिले अविकसित देशका अनेक शहरहरू अव्यवस्थित बसोबासका कारण शौचालय, ढल, खानेपानी सडक आदिबाट वञ्चित छन् । सबैभन्दा दोस्रो ठूलो जनघनत्व भएको देश भारतमा शौचालयको महत्व दर्शाउन एउटा सिनेमा नै बनाइएको थियो ट्वाइलेट एक प्रेम कथा । यसअघिको भारतमा सम्पन्न लोकसभा निर्वाचनमा नरेन्द्र मोदीको नारा नै थियो एक घर एक शौचालय । शौचालयलाई समुचित रूपमा व्यवस्थापन गर्न नसक्दा अनेक रोगहरूको जन्म अनिवार्य हुन्छ । शौचालयको अव्यवस्थाकै कारण पिउने पानी प्रदूषित हुन्छ जसबाट अनेक विषाणु, कीटाणुहरू घरघरमा पुग्दछन् । त्यही फोहोर पानीमा निसहरूको पेटमा पुगेपछि रोगहरूको आक्रमण सुरु हुन्छ । अस्पतालभन्दा पहिलो आवस्यकता स्वच्छ पानीको व्यवस्था हो । स्वच्छ पानी र स्वच्छ हावा मानिसहरूमा पुग्न सकेमा अस्पताल त दुर्घटाका लागि मात्र प्रयोगमा आउने छन् ।

खुला दिशामुक्त गाउँ र शहर आजको आवस्यकता हो । दिशापिसाबलाई व्यवस्थित रूपमा उपयोग गर्नसक्ने प्रविधि ग्रामीण क्षेत्रमा पनि पु¥याउनु आवस्यक छ । दिशाबाट ग्यासको उत्पादन गर्न सकिन्छ । यसरी उत्पादित ग्यासले यदि घर व्यवहारको कामचलाउन सके विदेशको महँगो ग्यासको मारमा आमनागरिक पर्ने थिएनन् । पशुमलको प्रयोग गरी ग्यास उत्पादन गर्दा कृषिकर्मलाई क्षति पुग्नसक्छ । मानव मलबाटै घरघरमा ग्यासको व्यवस्था गर्न सकेमा अरू कतैबाट पाइप जेडिरहनुपर्ने थिएन र सिलिण्डरको चक्कर पनि हुने थिएन । मानिसहरूको पिसाब त अत्याधुनिक औषधिजस्तै मानिन्छ । अग्र्यानिक खेतीमा राख्ने औषधि नै हो मानिसको पिसाब । यसको उचित सञ्चय र प्रयोग गर्नसक्ने हो भने विदेशबाट करोडौं÷अर्बांैको मल झिकाइ रहनुपर्ने समस्याबाट देशले मुक्ति पाउन सक्नेछ । निकै ठूला कुरा र गफ हाँक्नुभन्दा यस्ता साना तर महŒवपूर्ण विषयतर्फ राज्य संयन्त्रको, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ध्यान पुग्नसकेमा पनि विकासका लागि विदेशी अनुदानको भर गर्नुपर्ने थिएन । अन्तर्राष्ट्रिय समुदायले व्यवस्थित शौचालयको आग्रह गर्नुको अर्थ पनि रोगमुक्त समाज, खुला दिशारहित गाउँशहर बनोस्, मानिसहरूमा सभ्यताको चेत विकास होस् र निरोगी र स्वस्थ नागरिक रहुन् भन्ने आसय हो । हामी नेपालीहरूले पनि प्राचीन सभ्यताको महलमा बसेर संस्कृति र सम्पदाको, प्रकृति र इतिहासको गौरवको कथावाचन गरिरहँदा स्वास्थ्य र सभ्यताको अवस्थालाई पनि उचित सम्मान गर्न सक्यौं भने हामी पनि सभ्य भनेर संसार सामु परिचित हुने थियौं । शौचालय दिवसले यही चेत विस्तार गरोस् शुभकामना ।


Views: 80

सम्बन्धित सामग्री:

सकारात्मक कार्यको थालनी

: मंसिर १७, २०७७ (८:५० AM)